इजरायली नौसेनाले गाजातर्फ राहत सामाग्री लिएर गएका जहाजहरूलाई आफ्नो कब्जामा लिएको छ भने स्वीडिस वातावरण अभियन्ता ग्रेटा थनबर्गसहितका दर्जनौं अभियन्ताहरूलाई पक्राउ गरेको छ।
इजरायलको परराष्ट्र मन्त्रालयले ग्लोबल सुमुद फ्लोटिलाका केही जहाजहरूलाई कब्जामा लिएर बन्दरगाहतर्फ लगिएको पुष्टि गरेको छ।
अभियन्ताहरुले ग्लोबल सुमुद फ्लोटिला कब्जामा लिने इजरायलको कदम अवैध भएको र जहाजलाई आक्रमण गरेको बताएका छन् । जहाजहरू गाजाबाट ७० नौटिकल माइल टाढा रहेका बेला नियन्त्रणमा लिइएको हो। यसअघि नै जहाजहरूको आपतकालीन सन्देश र प्रत्यक्षप्रसारण रोक्न इजरायली सेनाले संचार प्रणाली बिगारेको पनि बताइएको छ।
इजरायलले भने यसलाई गाजामाथिको वैध नाकाबन्दी तोड्ने प्रयास भन्दै उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ।
यस घटनापछि अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र बनेको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले इजरायली कुटनीतिज्ञहरुलाई देश निकाला गर्दै, इजरायलसँगको स्वतन्त्र व्यापार सम्झौता समेत तोडेका छन् । आयरल्यान्डका उपप्रधानमन्त्री साइमन ह्यारिसले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै सिन फेन सांसद क्रिस एन्ड्र्यूजसहित सात जना आयरिस नागरिक पक्राउ परेका बताएका छन् ।
ग्रीस, इटाली, ट्युनिसिया र टर्कीमा इजरायलको कदमविरुद्ध विरोध प्रदर्शन भएका छन्। जहाजहरूको लक्ष्य खाद्य तथा औषधि गाजामा पुर्याउने थियो, तर संयुक्त राष्ट्र संघका निकायले नै गाजामा भोकमरी पुष्टि गरिसकेको अवस्थामा इजरायलले राहत रोकिरहेको आरोप लागेको छ।
यसबीच इजरायलले गाजा सिटीमा आक्रमण तीव्र बनाएको छ। इजरायली रक्षा मन्त्री इजरायल कात्जले सर्वसाधारणलाई दक्षिणतर्फ सर्न अन्तिम चेतावनी दिँदै, त्यहाँ बस्नेहरूलाई आतंकवादी वा आतंकका समर्थक मानिने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय रेडक्रस समितिले भने अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार नागरिकहरूको सुरक्षा गर्नैपर्छ भन्ने प्रतिक्रिया दिएको छ।
गत जुन र जुलाईमा पनि राहत जहाज पठाउने अभियन्ताहरुका दुई प्रयास इजरायलले रोकिसकेको थियो।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्