युक्रेनले अमेरिका र नाटोलाई प्रत्यक्ष रूपमा द्वन्द्वमा संलग्न गराउने उपायहरू खोजिरहेछ:पूर्व सीआईए अधिकारी

रुसको सीमाभित्र भएको ड्रोन आक्रमणको विषयलाई लिएर पूर्व सीआईए अधिकारी फिलिप गिराल्डीले, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिका र नेटोलाई द्वन्द्वमा प्रत्यक्ष संलग्न गराउने उपायहरू खोजिरहेका बताएका छन्।

यता,राज्य सचिव एन्टोनी ब्लिन्केनले रूसको सिमाभित्रका दुई हवाई अड्डाहरूमा युक्रेनी ड्रोन हमलासँग अमेरिकाको कुनै सम्बन्ध नभएको तर, किभलाई आवश्यक पर्ने सबै कुराको आपूर्ति जारी राख्ने बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै ब्लिन्केनले भने,”हामीले न त युक्रेनीहरूलाई रुस भित्र आक्रमण गर्न प्रोत्साहित गरेका छौं न सक्षम बनाएका छौं। “युक्रेनले चलिरहेको रुसी आक्रमण को सामना कसरी गरिरहेको छ भन्ने कुरा वास्तवमा महत्त्वपूर्ण छ”, उनले भने । अमेरिका युक्रेनीहरूलाई “आफ्नो रक्षा गर्न, आफ्नो क्षेत्रको रक्षा गर्न, आफ्नो स्वतन्त्रताको रक्षा गर्न आवश्यक पर्ने उपकरणहरू दिन कटिबद्ध छ, तर अमेरिकाले पहिलो पटक युक्रेनमा हिमार्स पठाउँदा,ति हतियार रूसी भूभाग विरुद्ध प्रयोग गरिने छैन भनि किभबाटआश्वासन पाएको बताएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार सोमबार बिहान रियाजान र साराटोभ क्षेत्रमा रहेका दुई रणनीतिक बमवर्षक शिविरमा ड्रोन आक्रमण भएको थियो । हवाई प्रतिरक्षाद्वारा खसालेको ड्रोनबाट तीन सैनिकको मृत्यु र दुई बमवर्षकहरूलाई सामान्य क्षति पुर्‍याएको मस्कोले बताएको छ।

यसैबीच,अमेरिकाले युक्रेनलाई भारी हतियार उपलब्ध गराउँदा रुसको “रातो रेखा” पार गरेको र अमेरिका र नाटोलाई प्रत्यक्ष रूपमा द्वन्द्वमा संलग्न गराउने खतरा रहेको मस्कोले चेतावनी दिएको छ।

युक्रेन रुसलाई परमाणु आतंकवादको नाममा फसाउन चाहन्छ – मस्को

मस्कोले, रुसलाई फसाउन युक्रेनले परमाणु बम प्रयोग गर्ने कथित योजनाबारे पश्चिमलाई चेतावनी दिँदै आएको छ। यधपी पश्चिमले यी चेतावनीहरूलाई बेवास्ता गरेको छ।

रुसको रक्षा मन्त्रालयले, युक्रेनले रुस विरोधी शक्तिशाली अभियान सुरु गर्न मस्कोलाई आणविक आतंकवादी संगठनको रूपमा लेबल गर्ने योजना बनाएको दाबी गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार युक्रेनले रुसलाई बदनाम गराउन आफ्नै भूमिमा परमाणु बम प्रयोग गर्ने योजना बनाएको र पश्‍चिमा राष्ट्रहरुले यो घटनालाई विश्वास गर्न अस्वीकार गरेर बेवास्ता गर्दा खतरा झनै बढेको बताएका छन्।

रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले स्थानीय जनतालाई धम्की दिन, युरोपेली युनियनमा शरणार्थी पलायन गराउन र मस्कोलाई “आणविक आतंकवादी” भनी चित्रण गर्नको लागि “परमाणु बम” विस्फोट गर्ने योजना बनाएको छ।

यता संयुक्त राष्ट्रसंघले भने द्वन्द्वमा संलग्न सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ । एक ब्रीफिंगको क्रममा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले सबै पक्षहरूले थप द्वन्द्व निम्त्याउन सक्ने कार्यहरूबाट टाढा रहनुपर्ने बताएका छन्।

यो युद्द अमेरिकी विश्व व्यवस्थाको पूर्ण विघटनको सुरुवात हो:पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन तयार रहेको तर वार्ताको सम्भावनालाई अस्वीकार गर्नेहरूले जारी द्वन्द्वलाई लम्ब्याउँदा त्यसले झन् अप्ठेरो परिस्थितिको सिर्जना गर्ने बताएका छन्।

रुस युक्रेन द्वन्दकोबीच रूसले आफ्नो क्षमता गुमाइसकेको भन्नेहरुलाई राष्ट्रपति पुटिनले, आफुले अहिलेसम्म त केहि पनि सुरुवात नगरेको र रुसलाई हराउन सक्छु भन्नेहरुलाई प्रयास गरेर देखाउन चुनौती दिएका छन्।

पुटिनले पश्चिमा मुलुकहरु अन्तिम एक युक्रेनी रहेसम्म लड्न इच्छुक देखिनु युक्रेनी जनताका लागि दुःखद भएको बताएका छन्। रुसले निष्पक्ष अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली सिर्जना गर्न गरेको निरन्तर प्रयासलाई नाटोले खतरामा पारेको पनि उनले बताएका छन्।

रुस र युक्रेन बीचको द्वन्द्वलाई उक्साउने पश्चिमको लक्ष्य स्पष्ट रूपमा सफल भएको तर मस्कोले युक्रेनमा आफ्नो सैन्य अपरेशन सुरु गर्नु नै पश्चिमा मुलुकहरुको हार भएको उनले बताए। यो युद्दको सुरुवात भनेको अमेरिकी विश्व व्यवस्थाको पूर्ण विघटनको सुरुवात रहेको पनि राष्ट्रपति पुटिनले बताएका छन्।