नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीनवटा र कमोडिटी एक्सचेन्जका लागी चारवटा निवेदन प्राप्त

काठमाडौं, वैशाख ११ : नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज बजार सञ्चालनका लागि तीनवटा र कमोडिटी एक्सचेन्ज बजार खोल्नका लागि चारवटा निवेदन प्राप्त गरेको छ ।

सेबोनका अनुसार हिमालय स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले स्टक एक्सचेन्ज कारोबार सुरु गर्न नियामकको स्वीकृतिका लागि निवेदन दिएका छन् ।

त्यसैगरी, नेपाल मल्टि कमोडिटी एक्सचेन्ज, हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टि एसेट्स डेरिभेटिभ एक्सचेन्ज र मल्टि डेरिभेटिभ एक्सचेन्जले कमोडिटी एक्सचेन्ज बजार सञ्चालन गर्न इच्छुक रहेका छन् ।

स्टक एक्सचेन्ज विद्यमान नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग समानान्तर संस्था हुने भए पनि कमोडिटी एक्सचेन्ज बजार देशभित्रै पहिलो र नयाँ संस्था हुनेछ ।

निरन्तर ओरालो लाग्दै सेयर बजार

साताको पहिलो कारोबारको दिन आज नेप्से ११ . ४६ अङ्कले घटेर १९२६.२८ मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि २.१० अङ्कले घटेर ३७४.७३ विन्दुमा रोकिएको छ।


आज २२१ वटा कम्पनीको २५ ,२४,२२४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने ७४,७२,२६,६२५ रुपैयाँ पुगेको छ। आजको कारोबारमा अन्य बाहेकका सबै उपसूचक भने घटेको छ ।

क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाउँदै जारी गरेको सूचना बदरको माग गर्दै अधिवक्ता सागर बराल लगायतले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।राष्ट्र बैंकले प्रतिबन्ध लगाएको क्रिप्टोलगायत डिजिटल मुद्रालाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आगामी सोमबार हुनेछ ।

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

साताको दोस्रो कारोबारको दिन आज नेप्से १७. ६८ अङ्कले घटेर २१०६.१५ मा रोकिएको छ। त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ३. ४४ अङ्कले घटेर ४०६.११ विन्दुमा रोकिएको छ।
आज २१४ वटा कम्पनीको ६५,२७,४१४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,८५७,०७२,९६१ रुपैयाँ पुगेको छ। आजको कारोबारमा उत्पादनमुलक र सामूहिक लगानी कोष बाहेकका अन्य सबै उपसूचक भएन घटेको छ ।

आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरले भने सकारात्मक सर्किट लेभलमा कारोबार गर्न सफल भएको थियो।

दुई लघुवित्त कम्पनिको आईपीओ जारि हुँदै

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि श्रावण १८ गतेदेखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारि गर्नेभएको छ।

लघुवित्तले छिटोमा श्रावन २२ गते र ढिलोमा भाद्र १ गतेसम्म आवेदन दिन मिल्ने गरि कुल शेयरको ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षितगरेको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन।

डबल बी माइनस रेटिङ्ग रहेको लघुवित्तको शेयर बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँट पश्चात २५ करोड रुपैयाँ पुग्नेछ।
धौलागिरी लघुवित्त
त्यसैगरी,धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यहि श्रावण २४ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहनेगरि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेभएको छ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टयाइएको छ भने बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त लघुवित्तको शेयरमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि छिटोमा श्रावण २९ गते र ढिलोमा भाद्र ७ गतेसम्म आवेदन दिन सकिनेछ।बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको लघुवित्तको बी माइनस रेटिङ्ग रहेको छ। लघुवित्तको हालको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

निरन्तर ओरालो लाग्दै सेयर बजार

लामो समयसम्म ओरालो लाग्दै आएको नेपाली सेयर बजार आइतबार एक्कासी ९४ .९२ अंकले उकालो लागेको भएपनि नेप्से क्रमिक रुपमा ओरालो लाग्ने क्रम भने रोकिएको छैन।
मंगलवार ११. ८२ अंकले ओराले लाग्दै नेप्से १९२१. ३१ अंकमा झरेर रोकिएको छ। ०. ६१ प्रतिशतले ओरालो लागेको आजको सेयर कारोबार १,०५८,२६३,५२२ रुपैयाँमा खुम्चिएको छ। २३० कम्पनीको ३,०३७,६८० कित्ता सेयर कारोबार हुँदा बैंक र जीवन विमा बाहेक अन्य सबै सूचक घटेको छ।

सेयर बजारमा निरन्तर गिरावट


आर्थिक वर्ष २०७९/८० को बजेट पछि लगातार तेस्रो दिन पनि नेपाली सेयर बजार घटेको छ । हिजोको तुलनामा थोरै अङ्कले मात्र गिरावट आएको भएपनि नेपाली सेयर बजार दिनानुदिन ओरालो लाग्दै गएको छ। हिजो ३५.५३ अंकले घटेको बजार आज ७ .२१ अङ्कले घट्दै २१३०. ७१ विन्दुमा पुगेर रोकिएको छ।

हिजोको तुलनामा सेयर कारोबारको संख्या र कुल कारोंबार रकम पनि घटेको छ। २२७ कम्पनीको ३,०२०,०६७ कित्ता सेयर कारोबार हुँदा सेयर रकम भने १,०७८,४८४,१८२ मा खुम्चिएको छ।

बजेट पछिको सेयर बजारमा लगातार दोश्रो दिनको गिरावट

आर्थिक वर्ष २०७९/८० को बजेट पछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । आज ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकिएको छ। बजेटपछिको पहिलो दिन नै बजार ५० भन्दा बढी अङ्कले घटेको थियो ।

२२९ कम्पनीको ३७,६९,८१२ कित्ता सेयर कारोबार हुँदा सेयर रकम भने १,३१७,६९९,०९० मा खुम्चिएको छ।

जेठदेखि पुँजीबजार शुक्रबार पनि खुल्ला रहने

सरकारले आइतबार सार्वजनिक बिदाको घोषणा गरेपछि जेठदेखि पुँजी बजार शुक्रबार खुल्ने भएको छ ।

पूँजी बजार यसअघि शुक्रबार र शनिबार बन्द हुने भएपनि अब शनिबार र आइतबार बन्द हुने भएको छ तर पहिलेको जस्तै पाँच दिन मात्र बजार खुल्ला रहने बोर्डले जनाएको छ।

त्यस्तै बोर्डका अध्यक्ष हमालका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी आर्थिक वर्षदेखि साधारण शेयर आईपीओ भर्न पाउनेछन् र उनीहरुका लागि निश्चित कोटा छुट्याइने हमालले जानकारी दिनुभएको छ ।

बोर्डका अध्यक्ष रमेश हमालले सरकारले कार्यदल बनाएर तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र यी सबै कुरा कार्यान्वयनमा आउने बताउनुभएको छ ।

आन्तरिक बजारमा डिजिटल मुद्रा ल्याउने राष्ट्र बैंकको तयारी

सरकारले भर्चुअल मुद्राको प्रयोगलाई वैधानिकता दिन नसके पनि नेपाल राष्ट्र बैंकले आन्तरिक बजारमा डिजिटल मुद्रा ल्याउने तयारी गरेको छ ।

धेरै देशहरूले कम लेनदेन लागतको साथ मूल्यको निर्बाध स्थानान्तरणको सुविधाको लागि डिजिटल मुद्रा जारी गर्न थालेका छन्।बुधबार एक कार्यक्रममा बोल्दै राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले भौतिक मुद्राको प्रयोगलाई भर्चुअल मुद्राले प्रतिस्थापन गर्न केन्द्रीय बैंक तयारी अवस्थामा रहेको बताए । भारतले मार्च २०२३ को अन्त्यसम्ममा आफ्नो मुद्राको डिजिटल संस्करण लन्च गर्ने तयारी गरेपछि नेपाल राष्ट्र बैंक डिजिटल मुद्रा ल्याउन इच्छुक देखिएको हो ।

राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा लागू गर्ने सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ । डिजिटल मुद्राको प्रयोगका सम्बन्धमा आवश्यक सुझाव दिन डेपुटी गभर्नर मिश्रको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।