नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटायो

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना प्रणाली हटाएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार यो विधि पर्सिदेखि पूर्ण रुपमा लागू हुनेछ।

गत चैत ७ गतेदेखि लागू गरिएको उक्त प्रणालीले बजारलाई कृत्रिम रूपमा तल झार्ने गरेको भन्दै लगानीकर्ताले लगातार विरोध गर्दै आएका थिए। यस अन्तर्गत २:४५ बजेदेखि ३ बजेसम्म भएका सबै कारोबारको भारित औसत मूल्यका आधारमा सूचक गणना हुँदै आएको थियो।

तर, यस प्रणालीले प्राविधिक त्रुटि निम्त्याएको भन्दै आलोचना भइरहेको थियो। नेप्सेको प्रविधि अटोमेटेड र स्तरीय नहुँदा ब्रोकरहरूले पनि यसलाई हटाउन माग गरेका थिए।

नेप्सेमा लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक:कारोबार बन्द

काठमाडौं- नेप्से परिसूचक कारोबारको पहिलो घण्टामै दोस्रो पटक सर्किट ब्रेक लागेको छ । बजार खुलेको दुई मिनेटमा १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको थियो ।


त्यसपछि खुलेको बजार एक मिनेटमै १३३.६१ अंकले घटेर ४० मिनेटका लागि बन्द भयो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक घटेर २५३८.६३ विन्दुमा पुगेको थियो ।

त्यसपछि पुनः खुलेको बजार ६ प्रतिशतले घटेर तेस्रो सर्किट लागेको हो । यस अवधिमा नेप्से १६०.३३ अंकले घटेर २ हजार ५११ दशमलव ९१ विन्दुमा झरेको छ । यस अवधिमा नेप्सेमा ७२ करोड ८७ लाखको कारोबार भएको छ । जसमा २१७ कम्पनी घटेका छन् भने ९ कम्पनीको शेयरमूल्य बढेको छ ।

नेप्से परिसूचक अघिल्लो कारोबार दिन अर्थात् भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको थियो।

नयाँ स्टकको लाइसेन्स रोक्न धितोपत्र बोर्डलाई अर्थ समितिको निर्देशन

काठमाडौँ – सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना नगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अगाडि नबढाउन संसदीय समितिले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बोलाएर बिहीबार छलफल गरेको अर्थसमितिले उक्त निर्देशन दिएको हो।

समितिको बैठकले सुरुमा नेप्से निजीकरण अर्थात् पुनर्संरचनालाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको नेपाली कांग्रेसका सांसद तथा संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए।

सभापति चालिसेका अनुसार तत्काललाई नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको छ।‘पहिला नेप्सेको सेयरलाई पुनर्संरचना गरेर निजीकरण गर्ने, नेप्सेको पुनर्संरचना नगरी हाललाई नयाँ स्टक एक्सचेन्ज चाहिँदैन भन्ने धारणासहित लाइसेन्स नदिन निर्देशन दिएको उनले बताएका छन्।

नयाँ स्टक एक्सचेन्जको प्रतिस्पर्धामा हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज छन्।

स्टक एक्स्चेन्जको नयाँ आवेदन नखुल्ने : पुराना तीनमध्ये एकलाई लाइसेन्स दिने

काठमाडौं – नयाँ स्टक एक्स्चेन्जका लागि नेपाल धितोपत्र बोर्डले नयाँ आवेदन नखुलाउने तर यसअघि आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने तयारी गरेको छ ।

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को ५ पुसको निर्णय धितोत्रप बोर्ड पुगेपछि बोर्डले लाइसेन्सको प्रक्रिया अगाडि बढाएको हो।

यसअघि बोर्डमा नयाँ स्टक एक्स्चेन्जका लागि हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएकोमा लाइसेन्सका लागि ‘चलखेल’ भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यसपछी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले २६ वैशाख २०८० मा तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएपछि नयाँ स्टक एक्सचेन्जक प्रक्रिया रोकिएको थियो ।

आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा उद्योगी शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, उद्योगी पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सतिशलाल मोर, विवेक दुगड, सौरभ ज्योति लगायतको लगानी छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

त्यस्तै नेसनल स्टक एक्स्चेन्जमा गैरआवासीय नेपाली उपेन्द्र महतो, जिवा लामिछाने, कुल आचार्य, बद्री केसी तथा उद्योगी मनोज केडिया लगायतको लगानी छ ।

त्यसैगरी अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेतीलाई सञ्चालकका रूपमा प्रस्ताव गरिएको छ ।

बुलिश ट्रेण्डमा नेपालको सेयर मार्केट

काठमाडौं – विगत केही महिना यता निरन्तर उकालो चढ्दै गरेको नेपालको सेयर मार्केटमा बुधबार तीन वर्ष यताकै उच्च कारोबार भएको छ।

साताको चौंथो कारोबारको दिन, बुधबार कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।
कुल ३३२ स्क्रिप्सको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँमा खरिद बिक्री भएको छ।

नेप्सेमा १९१ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ भने ७ को स्थिर रहेको छ । बुधबार १४ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धी हुँदा लगभग सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशतले बढेको छ ।

लामो समयपछि उकालो लागेको सेयर बजार

निरन्तर रुपमा लामो समयदेखि घटिरहेको सेयर बजार आइतबार भने ९४ .९२ अंकले उकालो लागेको छ।
आइतबार ५.१० प्रतिशतले उकालो लागेको सेयर बजार १९५६. ९८ विन्दुमा पुगेर रोकिएको छ। यो संगै सेन्सेटिभ सूचक पनि ४. ९१ प्रतिशतले वृद्धि भएको छ।
आइतबार ६ ,३६३,५९० कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम भने २,१९६,१४१,८४९ रुपैयाँ पुगेको छ। २३० कम्पनिको सेयर कारोबार हुँदा २१ कम्पनीले सर्किट ब्रेक गरेको छभने कारोबारका सबै उप-सूचकहरुमा हरियाली छाएको छ।