असार-१२,काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफमा माग्न आदेश दिएको हो । अधिवक्ता वर्षाकुमारी झाले, शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनमाथि न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।
उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए ।
आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि मेयर शाहले सामाजिक संजाल फेसबुकमा लेखेका थिए, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’
वैशाख ४, काठमाडौँ- सिंहदरबार र शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
सर्वोच्चमा दायर गरिएको रिटमा , ‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगबाट वञ्चित हुने भएकाले उक्त विषय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४, वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको कुरा उल्लेख गरिएको छ।
काठमाडौं महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यक्ति स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक भएको, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्न पनि निवेदनमा माग गरिएको छ।
काठमाडौं महानगरको काममा संघिय सरकारले असहयोग गरेको भन्दै काठमाडौँ महानगरला मेयर साहले सिंहदरवार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्न आदेश दिएका थिए।
चैत्र ३०, काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, बालेनले संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दै, सिंहदरबार र राजधानी अर्कै पालिकामा लैजान आग्रह गर्नुभएको छ।
काठमाडौँ महानगरले अघि बढाएको विकास आयोजनाका कामहरुमा सरकारले सहयोग नगरेपछि आक्रोशित बनेका मेयर साहले यसअघि पनि सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेका थिए र सोहि निर्णय अनुसार अहिले काठमाडौँ महानगरपालिकाले संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर उठाउन बन्द गरेको छ।
यता, संघीय सरकारको मन्त्रिपरिषद बैठकले फोहोर उठाउन बन्द गर्ने बालेनको व्यवहार अराजक र उग्र भएको भनेर टिप्पणी गरिरहँदा मेयर साहले भने विभिन्न १४ वटा कारणहरु पेश गर्दै संघिय सरकारले गरेको असहयोगप्रति आक्रोश व्यक्त गरेका छन् । मेयर साहले फोहोर नउठाउने महानगरको निर्णयलाई स्पष्ट पार्न दिएका १४ कारणहरु:
१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी- ३ मन्त्रीसँग पटकपटक पहल, सहमति भएर माइन्युटसमेत भइसकेको तर कार्यान्वयन नभएको।
२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार।
३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टीभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा- दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको।
४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरि सेवा दिनलाई बजेट व्यवस्थापन- दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।
५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल- दुई मन्त्रीलाई पटक पटक पहल गरिएको।
६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनुपर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम- २ मन्त्रीसँग पटकपटक पहल।
७. सहरी विकास : खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा- ४ मन्त्रीसँग पटकपटक पहल।
८. भौतिक यातायात : रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन- दुई मन्त्रीहरूसँग पटकपटक पहल।
९. सूचना तथा सञ्चार :आईएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस्- २ मन्त्रीसँग पहल।
१०. ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल।
११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापन पहल- २ मन्त्रीसँग पटक पटक पहल।
१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण- मन्त्रीसँग पटकपटक पहल।
१४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण- मन्त्रीसँग पटकपटक पहल।
यी सबका वावजुद पनि सरकारले महानगरप्रति सहयोग र सदासहायताको कुनै भाव नदेखाएपछि उनले आज सामाजिक सञ्जालमार्फत सिंहदरबार र राजधानी अर्कै सरकारले पालिकामा सार्नुपरने अभिव्यक्ति दिएका हुन्।
मेयर साहको अभिव्यक्ति :
कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवन तथा घर कम्पाउण्डको पर्खालको नक्सा पेस गरी स्वीकृत/नियमित गर्न सूचना जारी गरेको छ।
महानगरले जारी गरेको सूचनामा, प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड अनुरुप निर्माण गरिएको, तर नक्शा पास नगरिएको ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुलाई ९० दिन भित्रमा भवनको नक्शा पेस गरी स्वीकृत/नियमित गर्न आह्वान गरेको छ। तोकिएको समयभित्र नक्शा पास नगरेमा त्यस्ता भवनहरुको विवरण संकलन गरी,स्थानिय सरकार सन्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड,कार्यविधि र महानगरको निर्णय बमोजिम कारबाही गरिने जनाइएको छ।
त्यसैगरी,प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड अनुरुप निर्माण गरिएका घरको पर्खालको ३५ दिन भित्र नक्शा पेस गरी स्वीकृत/नियमित गर्न आह्वान गरेको छ। मापदण्ड विपरित निर्माण गरिएका पर्खालहरु ३५ दिन भित्र हटाउन पनि महानगरले आह्वान गरेको छ। तोकिएको मितिभित्र मापदण्ड अनुरुप निर्माण गरिएका पर्खालको नक्शा पास नगरेमा र मापदण्ड विपरित निर्माण गरिका पर्खाल नहटाएमा, महानगर आफैले टोली परिचालन गरि त्यस्ता पर्खाल हटाउने र हटाउँदा लाग्ने खर्च सम्बन्धित घरधनी बाटै असुल उपर गरिने पनि जनाएको छ।
काठमाडौं महानगरपालिकाले गरी उपत्यकाका १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ ।
महानगरपालिकाले जारी गरेको पत्रमा,खाद्य संस्थान, ह्वाइट फिल स्कुल,रन्जना ट्रेड सेन्टर,साझा भण्डार,राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स,कर्मचारी संचय कोष,नेपाल विधुत प्राधिकरण,नेशनल ट्रेडिङ्ग लिमिटेड,नेपाली जामे मस्जिद,कृषि सामाग्री संस्थान,मनमोहन मेमोरियल कलेज,आर बि कम्प्लेक्स,काठमाडौँ प्लाजा,नेपाल सेयर मार्केट ,सिविक हस्पिटल र डेन्टल कलेज सामाखुशीलाई १० दिन भित्र सम्पति कर बुझाउन निर्देशन दिएको छ।
लामो समय देखि सम्पति कर नबुझाएको र पटक-पटक ताकेता गर्दा पनि वेवास्ता गरेको भन्दै महानगरले १० दिनको समय दिएर जरिवाना सहित सम्पति कर बुझाउन निर्देशन दिएको हो। कर नबुझाए ऐन अनुसार कारवाही गरिने र कर बराबरको रकम अशुल उपर गरिने पनि महानगरले जनाएको छ।
काठमाडौँ महानगरपालिकाले पछिल्लो केहि दिन यता लामो समयदेखि कर नबुझाएका संस्थाहरुलाई निश्चित समय अवधि दिएर कर चुक्ता गर्न निर्देशन दिँदै आएको छ।
काठमाडौं महानगरपालिकाले काठमाडौँको सात वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न ताकेता गर्दै पत्राचार गरेको छ ।
पटक-पटक ताकेता गर्दा पनि २०७५/७६ देखिको कर नतिरेको भन्दै महानगरको राजस्व विभागले एक साता भित्र जरिवाना सहित कर चुक्ता गर्न र उल्लेखित समयभित्र कर नबुझाएमा महानार्पालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरि रकम असुल-उपर गर्ने पत्रमा उल्लेख गरिएको छ।
महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीद्वारा जारी गरिएको पत्रमा होटल म्यारियटको डेल्टीन क्यासिनो,होटल अन्नपूर्णको क्यासिनो प्यालेस, र्याडिसन होटेलको क्यासिनो र्याट , हायात होटलको प्राइड इन्टरटेन्टेन्मेन्ट एण्ड रिक्रिएशन, होटेल सोल्टीको माजोङ्ग,एलफ़्टको बालको र मल्ल होटलको बेली क्यासिनोलाई सात दिन भित्र कर चुक्ता गर्न निर्देशन दिइएको छ।
यसअघि काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, ईन्द्रचोक क्षेत्रमा मन्दिर तथा सम्पदा अतिक्रमित गरी संचालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।
फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका गाडीहरू सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले तोडफोड गरेको छ।
पार्किङ गरेर राखिएका महानगरका १४ वटा फोहोर बोक्ने गाडी, २ वटा फोहोर ब्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरमा तोडफोड भएको महानगरले जनाएको छ। स्थानीयले सोमबार सडक मर्मत गर्नुपर्ने भन्दै आन्दोलन गरेको र महानगरपालिकाले बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको घटना लगत्तै राति ति सवारी तोडफोड गरिएको हो। घटनामा कसको संग्लाग्नता रहेको र कसले तोडफोड गरेको हो भन्ने कुरा यकिन नभएपनि प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
काठमाडौँ महानगरपालिकाको अधिकांश सडक र गल्लीहरुमा यतिखेर फोहोरको थुप्रो देखिन थालेको छ। काठमाडौँ महानगरपालिकाको हरेक चोक र गल्लीहरुमा थुप्रिएको फोहोरले फेरी एक पटक काठमाडौँ दुर्गन्धित बनेको छ। तर यो समस्या आजको मात्र होइन। काठमाडौँमा पटक- पटक हुँदै आएको, समयमा फोहोर नउठ्ने समस्या आज पनि उस्तै छ। काठमाडौँको धुलो र धुवाँमा मास्क लगाएर हिंड्नुपर्ने समस्या त कोरोना अघि पनि उत्तिकै थियो। तर अहिले महानगरको सडकमा थुप्रिएको फोहोरले गर्दा मास्क बाहिरबाटै पनि नाक थुनेर हिड्नुपर्ने अवस्था आएको छ।
काठमाडौँ महानगरपालिकाले श्रावण १ गतेदेखि स्रोतमै फोहोर वर्गीकरण गर्ने भनेर काठमाडौँका हरेक नागरिकलाई आ-आफ्नै घरमा कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्न आग्रह गर्यो। सो अनुरुप महानगरले कुहिने फोहोर आइतबार र बुधबार अनि नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने तालिका पनि सार्वजनिक गर्यो। कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएमा फोहोर नउठाउने देखि कारवाही गर्ने सम्मको उर्दी जारि गर्यो। त्यति मात्रै होइन हरेक दिन जसो कुहिने र नकुहिने फोहोर वर्गीकरण गरौँ , सडकमा फोहोर नफालौं भनेर महानागरको गाडी माइकिङ्ग गर्दै हिंडिरहेको हुन्छ। तर काठमाडौँका नागरिकले न त महानगरको आग्रह माने न त माइकिङ्गको आवाज नै सुने। अझ भनौं सुनेर पनि नसुने जस्तै गरिएदिए। त्यसैको परिणाम स्वरुप आज फेरी काठमाडौँको सडक र चोकहरुमा फोहोरको थुप्रो देखिन थालेको छ।
बर्षातको समयमा पानि पर्ने बित्तिकै उपत्यकाको फोहोर बोकेका गाडीहरु बञ्जरेडाँडा ल्याडफिल साइट जान नसक्दा पटक-पटक फोहोर सङ्कलन कार्य अवरुद्द हुने गरेको छ। सो सडक खण्डका स्थानीयले सडक निर्माण नगरे फोहोर बोकेको गाडीलाई ल्याडफिल साइट जान नदिने भन्दै धेरै पटक आन्दोलन गरेर सडक नै अवरुद्द गरे। पछिल्लो समय बञ्जरेडाँडाबासि र महानगरबिचको सम्झौतामा पनि सडक निर्माण गर्ने सहमति गरियो र स्थानीयले महानगरको फोहोर बोकेको गाडीलाई आवत- जावत गर्ने अनुमति दिए। सडकको सवालमा उठेका यी तमाम विषयहरुलाई निराकरण गर्न काठमाडौं महानगरपालिकाले काठमाडौँसहित उपत्यकाका १७ वटा अन्य स्थानीय तहको फोहोर बिसर्जन गर्ने बञ्जरेडाँडा ल्याडफिल साइट जाने बाटो निर्माणकार्य अघि बढाएको छ। सडक निर्माण कार्य अघि बढिरहेकोले फोहोर सङ्कलन हुन नसकेको महानगरले बताएको छ। तर महानगरले फोहोर उठाउन छोडेको केहि दिनमा नै काठमाडौँका सडकहरुमा फोहोरको थुप्रो देखिन थालेको छ।
अब कहिले उठ्छ त काठमाडौँको फोहोर ?
काठमाडौँ महानगर र बञ्जरेडाँडाका स्थानियाबिच भएको सहमति अनुसार महानगरले शिशडोल देखि बञ्जरेडाँडासम्मको सडक निर्माण कार्य अघि बढाएको छ। सोहि सडक खण्ड अन्तर्गतको ८ किलोमिटर सडक निर्माणलाई अझ तिब्र रुपमा सम्पन्न गर्न महानगरले अहिले बाटो रोकेर निर्माणको काम गरिरहेकोले ७ दिनको लागि फोहोर उठाउन नसकेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभएको छ। प्रवक्ता मानन्धरका अनुसार त्यो ७ दिनको समय आज समाप्त हुँदैछ। भोलि बिहिबारबाट नै महानगरले काठमाडौँको फोहोर नियमित रुपमा उठाउन सुचारु गर्ने प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभएको छ। साथै, महानगरले संकलन गरेको कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने प्लान्टका लागि बजेट विनियोजन गरेर काम थालनी गर्ने पनि उहाँले बताउनुभएको छ।
हिजो बालेनालाई जिताउनेहरुनै आज उनलाई असफल बनाउन खोज्दैछन
स्थानिय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरको मेयरमा बालेन साहलाई भोट दिएर जिताएकाहरुनै आज सडकमा फोहोर फालेर उनलाई असफल बनाउन तल्लिन देखिएका छन्। महानगरबासीले जुन परिवर्तनको अपेक्षा गर्दै मेयरमा बालेनालाई जिताए, त्यो परिवर्तन बालेन एक्लैले गर्न सक्दैनन् भन्ने कुरामा महानगरबासि सचेत हुनु जरुरि छ। यदि यहि नियति अघि बढ्ने हो भने कुनै दिन यस्तो समय आउनेछ कि आज घर र कोठाको फोहोर निकालेर सडकमा फाल्नेहरु, जसले मेयरमा बालेनलाई मत दिएर जिताए , तिनैले भोलि बालेनले त काठमाडौँको फोहोर पनि व्यवस्थापन गर्न सकेन भनेर आलोचना गर्नेछन्। तर, महानागर र आफुले चुनेर पठाएको जनप्रतिनिधिप्रति अधिकार र कर्तव्यको नाममा औंला उठाउंदै गर्दा आफु एउटा नागरिकको रुपमा समाजप्रति कति जिम्मेवार बन्न सकेँ त भन्ने कुराको महानागरबासीले आत्मसाथ गर्नु जरुरि छ। महानगरबासी यदि आफ्नो जिम्मेवारीप्रति सचेत नहुने हो भने, जुन सपना र जुन अपेक्षाले उनीहरुले बालेनालाई जिताए त्यो सम्भव भने हुनेछैन। चाहे त्यो ठाउँमा हजारौं अरु बालेनहरुनै किन नहुन, घरको फोहोर सडकमा फालेर महानगरबासी आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने हो भने, न त उनीहरुले परिकल्पना गरेको सुन्दर र सांस्कृतिक काठमाडौँ शहर निर्माणको अभियानले सार्थकता पाउँछ न त उनीहरुले बलेनालाई दिएको भोटले मात्र कुनै अर्थ राख्छ।
केहि दिन घरको फोहोर घरमै कतै राख्ने व्यवास्था गरौँ। सडकमा लगेर फोहोर फाल्ने काम आजदेखि नै बन्द गरौँ।
सुन्दर र सांस्कृतिक महानगर निर्माणमा एकजुट भएर अघि बढौं।
महानगरले फोहोर उठाएन भनेर महानगरको कामप्रति आलोचना गर्दै गर्दा, घरभित्रको फोहोर सडकमा लगेर फाल्नुहुन्न भन्ने कुरा महानगरका हरेक नागरिकले बुझ्नु जरुरि छ। चाहे त्यो महानगरप्रतिको आक्रोश होस् या अरु नै केहि कारणले होस् , घरबाट निस्किएको फोहोर सडकमा थुपारेर आफ्नो घर र आफु एक्लैको समस्या केहि क्षणको लागि समाधान भएको महसुश गर्दै गर्दा दिर्घकालिन रुपमा त्यसले आफ्नो टोल, छिमेक र महानगरको सिंगो समाजलाई फोहोर बानाएको कुरामा अब हरेक नागरिकले आत्मसाथ गर्नुपर्ने बेला आएको छ। प्राविधिक कारणले २-४ दिन वा हप्ता-दश दिन महानगरले फोहोर उठाउन नसक्दा आफ्नो घरबाट निस्किएको फोहोरलाई आफ्नै घर वा कोठामा कतै समायोजन गरेर राख्ने कि सडकमा फालेर फोहोर भयो भन्दै महानगरलाई गालि गर्ने ?तपाइको घरको फोहोर महानगरले आएर सडकमा फालेको हो कि तपाई आफैले फालेको ? अनि तपाइले गरेको फोहोरप्रति जिम्मेवार बन्नुपर्ने तपाइँ कि महानगर ? महानगरले महिनै पिच्छे पैसा उठाउँछ तर फोहोर भने समयामा उठाउँदैन भन्ने पनि आम गुनासोको विषय बनेको छ। तर महानगरको जिम्मेवारी भनेको तपाइको घरमा जम्मा भएर बसेको फोहोर उठाउने हो, तपाइले सडकमा लगेर तपाइको घरको फोहोर फाल्दा त कारवाही गर्ने हो।
काठमाडौँमा बस्नेहरु के साँच्चिकै फोहोरी हुन्छन्?
कुनै एक समय थियो ,गाउँमा बस्ने प्रायलाई काठमाडौँमा अझ भनौं शहरमा बस्नेहरु सफा-राम्रा र सुन्दर हुन्छन् भन्ने भान हुन्थ्यो।अहिले त्यो पुरानो जमाना बदलिएको छ। अहिले त के काठमाडौँमा बस्नेहरु पनि साँच्चिकै फोहोरी हुन्छन् भन्ने प्रश्न चिन्ह खडा भएको छ। यसर्थमा पनि यो प्रश्न जायज छ कि, आफ्नो घर र कोठाको फोहोर सफा गरेर, सडकमा मिल्काएर शहर र समाजको सौन्दर्य र पर्यावरण बिगार्नेलाई सफा र राम्रा भन्न मिल्दैन। सबैमा यो कुरा लागु नहुन सक्छ र कोहि व्यक्ति यसमा अपवादको रुपमा देखिन सक्छन्। तर राम्रो पहिरन लगाएर गाडी चढ्दैमा शहरमा बस्ने सबैलाई राम्रो भन्न सकिन्न। तुलनात्मक रुपमा काठमाडौँमा बस्नेहरु शिक्षित होलान, तर सचेत कहिले हुने हुन् भन्ने नै आजको मूल प्रश्न बनेको छ। जबसम्म काठमाडौँका नागरिक सचेत हुँदैनन् तबसम्म यो समस्या यथावत रहने देखिन्छ। स्थानिय निर्वाचनमा सचेत देखिएका महानगरका नागरिकहरु अब फोहोरको समस्या समाधानको विषयमा पनि सचेत बन्नुपर्ने बेला आएको छ।
केहि दिन घरको फोहोर घरमै कतै राख्ने व्यवास्था गरौँ। सडकमा लगेर फोहोर फाल्ने काम आजदेखि नै बन्द गरौँ। सुन्दर र सांस्कृतिक महानगर निर्माणमा एकजुट भएर अघि बढौं।
शुक्रबार काठमाडौँको सडकमा एउटा टिठलाग्दो दृश्य देखियो। सडक छेवैमा ठेला राखेर मकै पोल्दै गरेकी एक महिलालाई नगर प्रहरीले लछार- पछार गर्दै उनको ठेला खोसेर लग्यो। ठेलामा बेच्न राखिएका मकैका घोगा महानगरको सडकभरी छरिए। केहीबेरमै त्यो दृश्य सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो।
भलै त्यो घटना काठमाडौँ महानगरमा घटेको होस्, तर देशका अधिकांश महानगरपालिका ,उपमहानगरपालिका र नगरपालिकाहरुमा यी र यस्ता टिठलाग्दा दृश्यहरु दिनहुँ जसो देख्न पाइन्छ। काठमाडौँ महानगरको सडकमा हिजो देखिएको त्यो दृश्य त केवल एउटा प्रतिनिधि घटना मात्र हो।
काठमाडौँ महानगरको हरेक चोक र अधिकांश सडकहरुमा यसरी व्यापार गरेर दैनिक आफ्नो रोजी रोटीको जोहो गर्ने नेपालीको संख्या हजारौँ छन्। कोहि सडक छेवैको पेटिमै आफ्नो समान फिँजाएर बिक्रि गर्न बस्छन् त कोहि साइकल र ठेलामा समान राखेर बस्छन्। तर जब महानगरको गाडी आउँछ अनि यमराज नै लिन आएजस्तो गरि उनीहरु आफ्नो समान बोकेर भाग्छन्। महानगर प्रहरीले भाग्न नभ्याएका एक दुई जनाको समान खोसेर लिएर जान्छ अनि भागेर आफ्नो समान जोगाउन सफल भएकाहरु केहिबेरमा फेरी फर्किएर आउँछन् र आफ्नो सामानको व्यापार गर्छन्। काठमाडौँमा हुनेखाने र भएखानेहरुबिचको दुरी सम्झाउन बेला- बेला राज्यले दुखि:गरिब जनताहरुलाई यसरी नै ताण्डव देखाउने गरेको छ।
video from shristi kafle twitter
काठमाडौँ कसैको रहर होला त कसैको बाध्यता। काठमाडौँमा रोजगारी पाइन्छ, थोरै भएपनि आम्दानि हुन्छ अनि जसो तसो भनेपनि जोहो गरेर, मिठो मसिनो जे जस्तो भएपनि खाएर छोरा छोरी पढाउँला, परिवार पालौंला भन्ने सपना बोकेर देशका विभिन्न ठाउँबाट मानिसहरु काठमाडौँ आउने गरेका छन्। त्यसरी काठमाडौँ आएका नेपालीहरु मध्ये पनि एउटा यस्तो तप्का छ जसलाई दिनभरि काम गरेन भने बेलुका के खाने भन्नेको समेत ठेगान हुँदैन। त्यही दुई छाक जोहो गर्न बाध्य भएर काठमाडौँ छिरेको एउटा सिङ्गो नेपाली समाजको प्रतिनिधित्व गर्ने ठाउँ हो सडक पेटिको व्यापार।
सडक पेटीमा समान राखेर व्यापार गर्दा एउटा नागरिकलाई हिंड्न अप्ठेरो भयो भनेर दुई छाक जोहो गर्न त्यहि सडक किनारमा बसेर व्यापार गर्ने अर्को नागरिकलाई अपराधी जस्तो व्यबहार गर्ने महानगरले मान्छे हिंड्ने सडकमा शुल्क उठाएर दुई- दुई लाइन मोटरसाइकल पार्क गर्न दिनु पनि गलत होइन र ? यसको जवाफ कसले दिने ? हिंड्नलाई साँघुरो भयो भनेर जनताको घर भत्काएर चौडा गरेको सडकमा हुनेखानेको मोटर पार्क गर्न मिल्ने अनि गरिबले त्यहि सडक छेउमा बसेर बिहान बेलुकाको दुई छाक जोहो गर्न व्यापार गर्न पनि नपाउने ?
काठमाडौँमा घर निर्माण गर्नेहरुले ६ महिना वर्ष दिन सम्म मूल सडकमै गिटी बालुवा लगायतका निर्माण सामाग्री राखेर सडक अवरुद्द गरेको चैं के महानगरले अहीले सम्म नदेखेकै हो ? कि काठमाडौँमा घर बनाउने औकात भएकाहरुलाई कारवाही गर्ने हैसियत महानगरसंग नभएको हो?
सो कल्ड महामहिम, सम्माननिय र माननीय भनाउँदाहरू घरको गेटबाट निस्कने बित्तिकै सडक खालि गरेर जनतालाई घन्टौं सडकमा हिंड्न नदिई रोकेर राख्दा नागरिकले पाएको सास्ती र उसको समस्या नबुझ्ने राज्यले लाजै नमानी कुन नैतिकताले सडकमा व्यापार गर्दा नागरिकलाई हिंड्न अप्ठेरो भयो भनेर भन्न सकेको ?
देशको ढुकुटी रित्याएर जुका ढाडिए जसरि ढाडिएकाहरुलाई जनताले खाइ-नखाई तिरेको करको पैसाबाट बाचुञ्जेल सुविधा दिनुपर्ने अनि त्यहि विचरा निमुखा जनताले दुख गरेर कमाइ खान पनि नपाउने ? नेतालाई बसी-बसी सुविधा दिने राज्यले नागरिकले दुख मिहेनत गरेर कमाई खान्छु भन्दा विकल्प दिनुपर्दैन ? सडक पेटीमा बसेर व्यापार गर्न पाउँदैनौ भन्नेले खै त विकल्प दिएको ? जनताको सेवा गर्न पदभार ग्रहण गरेपछि जनताप्रति उत्तरदायी हुनुपर्ने होइन र ?कि सडक पेटीमा बस्ने नेपाली नागरिक महानगरको जनताको कित्तामा पर्दैनन् ?
सडक पेटीमा बसेर व्यापार गर्नेले काठमाडौँ कुरुप बनाए अनि शहरको सौन्दर्य बिगारे भनेर उनीहरुको गरिखाने भाँडो नै लुटेर लाने राज्यले, हरेक चोक र गल्लि अनि सडकमा थुप्रिएको फोहोरले कुरुप र डुङ्ग्डुङ्ग्ति गनाउने भएको काठमाडौँ के नदेखेकै हो त ? बिजुलीका पोलमा वर्षौं देखि झुन्डिएको तारको गुजुल्टो र होर्डिंग बोर्डले कुरुप भएको काठमाडौँ के महानगरले आजसम्म नदेखेकै हो त ?
सटरमा पसल गरेर व्यापार गर्नेले राज्यलाई कर तिर्छन तर सडकमा बसेर व्यापार गर्नेले कर तिर्दैनन् र राज्यलाई घाटा हुन्छ अनि अर्को तिर सटरमा व्यापार गर्नेले सोहि समानको व्यापारमा फुटपाथसंग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने राज्यले सटर व्यापारीले सिर्जना गरेको मूल्य आतंकको अनुगमन गर्ने कि नगर्ने ? फुटपाथमा विना दर्ता गरि बसेका व्यापारीको कारण राज्यलाई घाटा हुन्छ भन्दै गर्दा, ८० प्रतिशत भन्दा बढी भारतीयले ओगटेको फुटपाथको व्यापारले राज्यको अर्बौं रुपैयाँ देशबाट बाहिरिएको परिदृश्यलाई के नजरअन्दाज गर्न मिल्छ? ९० प्रतिशत भन्दा बढी सटरवालाहरुले आफ्नो समान सटर बाहिरको सडकको पेटिमा हिंड्नै नमिल्ने गरि राखेका हुन्छन्। अनि तिनीहरु भने कारवाहीको दायरा भित्र किन पर्दैनन् ?
यी यस्ता समस्याहरु त केवल केहि प्रतिनिधि समस्याहरु मात्र हुन्। महानगरमा यस्ता समस्याको ठेली नै छ जुन बर्षौ देखि अलपत्र परेको छ। यो आजको समस्या होइन। काठमाडौँको रोग बनेर बल्झिएको यो समस्या धेरै पुरानो हो।
तर यहाँ अहिले यी समस्याहरुकोबीच हिजोको घटनासंगै सामाजिक सञ्जालमा मेयर बालेन शाहको समर्थन गर्नेहरुलेनै उनको विरोध गरेको सुनिन थालेको छ। बालेन शाहले काठमाडौँको मेयरको जिम्मेवारी सम्हालेको धेरै समय भएको पनि छैन । तर यो भन्दैमा उनलाई यी तमाम समस्याहरुबाट उम्किने छुट पनि छैन। हिजो जे सुकै होस् वा जे भएको भएपनि महानगरमा आज भएका र भोलि हुने हरेक घटनाको जिम्मेवारी उनले लिनुपर्छ। उनलाई मन र मत दिएर त्यो ठाउँमा पुर्याएका महानगरका हर एक नागरिकप्रति उनि उत्तरदायी र जवाफदेही हुनुपर्छ। चाहे त्यो सडकमा चिल्लो गाडी चढेर हिंड्ने होस् या सडक छेउमा बसेर व्यापार गर्ने।
बालेनले काठमाडौँको सडक सफा गर्छु भनेर हिंड्दै गर्दा त्यो सडकमा आश्रित भएर जीवन गुजारा गरिरहेकाहरुको सपना बडारिनु भएन। बालेनले चालेका पाइलाहरुले त्यहि सडक छेउमा बस्ने कसैको जिउने आधार नकुल्चियोस। नागरिकलाई गाँस बास र कपासको आधारभुत आवश्यकता पुरा गर्नु राज्यको दायित्व हो। राज्यले त्यो दायित्व पुरा गर्नुपर्छ। यी तमाम समस्याहरुलाई सुल्झाउन बालेनले निकै कठिन बाटोको यात्रा तय गर्नुपर्ने देखिन्छ । हिजो विगतमा अरु कसैले कोरेको बाटोभन्दा फरक बाटो बनाएर हिंड्नुपनी बालेनको लागि कम चुनौतिको विषय भने हुनेछैन। तर आफु हिंड्ने बाटोमा देखिएका भुइँ मान्छेहरुलाई नजरअन्दाज गरेमा बालेनको यात्रा सुखद भने हुनेछैन। बालेनको लौरोले भ्रष्टाचारीलाई सेकाउन नसके पनि दुखि:गरिब नेपालीलाई सहारा दिएर टेकाउन सकोस।
काठमाडौं महानगरपालिकाले एक सूचना जारि गर्दै महानगर क्षेत्रभित्र सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ ।
महानगरले जारि गरेको सूचनामा, साधु, सन्त, भिक्षु वा जोगीले सनातनदेखि चलिआएको परम्परा अनुसार घर-घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको उल्लेख गरेको छ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु नगराउनु भनि जारि गरिएको सूचनामा,सो सूचनाको उल्लङ्घन भएमा २०७४ को दफा १२६, स्थानिय सरकार संचालन ऐन २०७४ र प्रचलित कानुन बमोजिम कारवाही गरिने उल्लेख गरिएको छ।
महानगरपालिकाले असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने र सो कार्यका लागि आवश्यक परेमा कसैले पनि मानव सेवा आश्रममा सम्पर्क गर्नसकिने पनि बताएको छ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ।
महानगरले अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक साढे ६ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड(कुल बजेटको ४९.५७%) र कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड(कुल बजेटको २०%) बजेट वनियोजन गरेको छ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
महानगरले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै आधारमा आगामी आर्थिक वर्षका लागी असार १० गते बजेट प्रस्तुत गर्ने तयारि गरेको छ।
महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमामा दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने ,अनौपचारिक शिक्षा र सिप विकासका कार्यक्रमहरु अघि बढाउने,महानगर जनस्वास्थ्य ऐन जारि गर्ने,जेष्ठ नागरिकको स्वास्थ्य तथा सुबिधा लगायतका विषयवस्तु समेटिएको छ। त्यसैगरी काठमाडौँको पुरातात्विक सम्पदाको संरक्षण गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई विस्तार गर्ने लगायतका विषयहरु पनि महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ।
काठमाडौं महानगरपालिकाको आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को लागि बजेट तर्जुमा गर्न महानगरले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान महानगरले कार्यपालिकाको बैठक समेत सम्पन्न गरेको छ।
स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका बालेन्द्र साहको नेतृत्वमा आउन लागेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सबैको चासोको विषय बनेको छ। यो बिचमा स्वतन्त्र रुपमा मेयर जितेर अल्पमतमा रहेका शाहलाई नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट चुनिएर आएका जनप्रतिनिधिहरुले अवरोध गर्छन या समर्थन गर्नेछन भन्ने पनि आम चासोको विषय बनेको छ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई शपथ ग्रहण गराउनुभएको हो। शाहले नेपालि भाषामा शपथ लिएपछि नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नुभएको थियो। शाहले सपथ ग्रहणपछि उपमेयर सुनिता डंगोल र निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको थियो।
शाहले सपथ ग्रहण गरेपछि महानगर हरेक बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको पनि बताउनुभएको छ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाका मतदाता आफ्नो परिवार भएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ।
निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरे लगत्तै उहाँले सो कुरा बताउनुभएको हो। शाहका समर्थकहरुले विजय उत्सव सहित र्याली निकालेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा उत्रिएका बालेन्द्र शाहले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३८ हजार ११७ मत प्राप्त गर्नुभएको थियो।