काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवन तथा घर कम्पाउण्डको पर्खालको नक्सा पेस गरी स्वीकृत/नियमित गर्न सूचना जारी गरेको छ।
महानगरले जारी गरेको सूचनामा, प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड अनुरुप निर्माण गरिएको, तर नक्शा पास नगरिएको ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुलाई ९० दिन भित्रमा भवनको नक्शा पेस गरी स्वीकृत/नियमित गर्न आह्वान गरेको छ। तोकिएको समयभित्र नक्शा पास नगरेमा त्यस्ता भवनहरुको विवरण संकलन गरी,स्थानिय सरकार सन्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड,कार्यविधि र महानगरको निर्णय बमोजिम कारबाही गरिने जनाइएको छ।

त्यसैगरी,प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड अनुरुप निर्माण गरिएका घरको पर्खालको ३५ दिन भित्र नक्शा पेस गरी स्वीकृत/नियमित गर्न आह्वान गरेको छ। मापदण्ड विपरित निर्माण गरिएका पर्खालहरु ३५ दिन भित्र हटाउन पनि महानगरले आह्वान गरेको छ। तोकिएको मितिभित्र मापदण्ड अनुरुप निर्माण गरिएका पर्खालको नक्शा पास नगरेमा र मापदण्ड विपरित निर्माण गरिका पर्खाल नहटाएमा, महानगर आफैले टोली परिचालन गरि त्यस्ता पर्खाल हटाउने र हटाउँदा लाग्ने खर्च सम्बन्धित घरधनी बाटै असुल उपर गरिने पनि जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्