सहुलियत कर्जाको ब्याज अनुदानका लागि अर्थ मन्त्रालयद्वारा ९ अर्ब ८० करोड निकासा

काठमाडौँ – लामो समयदेखि रोकिएको सहुलियत कर्जाको ब्याज अनुदानबापत अर्थ मन्त्रालयले ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले शनिबार उक्त रकम राष्ट्र बैंकलाई उपलब्ध गराएको हो।

ब्याज अनुदान नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा प्रवाह नगरेको र नागरिकले महँगो ब्याज तिर्नुपरेको अवस्थाले समस्या बढाएको थियो।

अर्थ मन्त्रालयको पत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत दोस्रो त्रैमासिकमा विनियोजित रकमलाई पहिलो त्रैमासिकमै कायम गरी, विगत सात त्रैमासिकमा प्रवाह गरिएका सहुलियत कर्जाको ब्याज अनुदानका लागि यो निकासा गरिएको हो।

यससँगै सरकारले दिनुपर्ने अधिकांश अनुदान रकम भुक्तानी भएपछि बैंक तथा वित्तीय संस्थाले फेरि सहुलियत कर्जा प्रवाह सुरु गर्ने सम्भावना बढेको बताइएको छ।

राष्ट्रिय सभाबाट राष्ट्रिय ऋण संकलन विधेयक पारित

काठमाडौं- राष्ट्रिय सभाको शुक्रबारको बैठकले राष्ट्रिय ऋण संकलन विधेयक, २०८२ पारित गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय ऋण संकलन विधेयक, २०८२ लाई सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय सभाको बैठकमा बहुमतले उक्त प्रस्ताव पारित भएको छ ।

राष्ट्रिय ऋण संकलन विधेयकलाई राष्ट्रिय सभाले संशोधन बिना नै यसको मूल रूपमा पारित गरेको हो।

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ- सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने तायारी गरेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० वर्षे विकास ऋणपत्र २०९१ बिक्री तथा निष्काशन गरी १० अर्ब रुपैयाँ उठाउन लागेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारि गरेको सूचना अनुसार ऋणपत्र यही माघ १५ गते बोलकबोलमार्फत बिक्री गरी १८ गते निष्काशन हुनेछ।

ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्ने कार्यालयले जनाएको छ।

संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप गर्ने भनि प्रतिनिधिसभामा राखेको प्रस्तावलाई बैठकले अनुमोदन गरेपछि समितिको म्याद ७ दिनको लागि थप गरिएको हो। आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको र सिमित व्यक्ति र संस्थालाई हित हुनेगरि करको दर हेरफेर गराएको विषयमाथि छानबिन गर्न गठित समितिलाई यस अघि १० दिनको म्याद दिइएको थियो।

समितिले, उपलब्ध गराएको समय सीमामा काम गर्न नभ्याएको र प्रहरीलाई रिकभरिको लागि उपलब्ध गराएको सिसिटिभी फुटेजको प्रतिवेदन पनि आउन समय लाग्ने भन्दै समितिका सचिव सुरेन्द्र अर्यालले समय थप्न आग्रह गर्नुभएको थियो ।

के-के छन् बजेटमा समावेश गरिएको ?

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड बजेट छुटयाइएको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई ५५ अर्ब ९७ करोड

आर्थिक वर्ष २०७९/८० को सार्वजनिक बजेट अनुसार सरकारले कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ। सरकारले कृषिको बजारीकरणका लागि कृषि बजारको व्यवस्था गर्न कृषि एम्बुलेन्सको व्यवस्था गर्न गर्ने भएको छ ।प्राविधिक ज्ञान उपलब्ध गराउन कृषि तथा पशु विज्ञानमा स्नातक गरेका जनशक्तिलाई खटाइने छ। यस्तै, बाँझो जमिन कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने सरकारको तयारी रहेको छ ।नयाँ बजेटले धान,मकै,गहुँ,तरकारी,फलफुल लगायत आधारभूत कृषि उत्पादनको आयात न्यूनतम ३० प्रतिशत कम गरिने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने नीति लिएको छ।  किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम र योगदानमा आधारित किसान पेन्सन योजना लागू गर्न किसान हित कोषको स्थापना गरिने भएको छ  । उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने छ । कोष स्थापना गर्न प्रारम्भमा बिऊ पूँजीबापत एक अर्ब रुपैयाँ छुट्याइएको छ ।किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुटको समेत व्यवस्था गरिने,कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्‍याइने र कृषि तथा पशु विमामा अनुदान थप गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।  सरकारले २०४९ अघि सञ्चालनमा रहेका साझा संस्थाहरुबाट किसानहरुले लिएको ऋण मिनाहा गर्ने भएको छ । सरकारको स्वीकृतिमा औषधिजन्य जडिबुटीको खेती, प्रशोधन एवं निर्यातको बाटो खुल्ला भएको छ । प्रदेश सरकारसँग समन्वय गरिने गरि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

उद्योगलाई १० अर्ब ४८ करोड

सरकारले उद्योगलाई १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।स्थानीय तहमै कृषिजन्य उद्योग सञ्चालन गर्न ,औद्योगिक ग्राम, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र निर्माणमा बजेट विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ  ।मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइने घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।

जडिबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने छ र जडिबुटीको प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था मिलाइने छ ।त्यस्तै सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना र जडिबुटी खेतीको बिमा पनि  गरिने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि

शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको विकास र स्तरोन्नतिका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ। शिक्षातर्फा  प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैँया विनियोजन गरिएको छ । त्यस्तै प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने र  दिवा खाजाको व्यवस्था कक्षा ८ सम्म लागू गर्ने भएको छ । प्रत्येक प्रदेशका २० वटा विद्यालयमा कम्पयुटर, इन्टरनेट आदिको व्यवस्थाका लागि २० करोड बजेट विनिजियोन गरिएको छ।   उत्कृष्ट समुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा घोषणा गर्ने र पुरस्कृत गर्दै,गुणस्तरीय शिक्षा प्रदान गर्ने  सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालय व्यवस्थपन समितिको स्वीकृतिमा ५ लाखसम्म खर्च गर्न अनुमति दिने व्यवस्था गरिने घोषणा गरिएको छ।  त्यस्तै प्राविधिक शिक्षाको विस्तार गर्नुका साथै विदेशमा पढ्न जानेहरुको संख्या न्युन गर्न त्रिविलगायतका विश्वविद्यालयहरुको स्तरोन्नति गर्दै जनसंख्याको अनुपातमा स्वास्थ्य सेवाअन्तर्गत चिकित्सा शिक्षा लगायतको क्षेत्रलाई सहज बनाइने र वर्षको दुई पटकसम्म भर्ना हुने व्यवस्था मिलाइने घोषणा गरिएको छ। 

स्वास्थ्य क्षेत्रमा ६९ अर्ब ३८ करोड

सरकारले आगामी वर्ष ६५५ स्थानमा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने योजना ल्याएको छ । सरकारले थप २० वटा सरकारी अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने  र विधुतीय  स्वास्थ्य सूचना प्रणाली अवलम्बन गर्ने उल्लेख  गरेको छ।  ९८ प्रकारका नि:शुल्क औषधिका लागि १ अर्ब ५० करोड रकम विनियोजन गरेको छ। रोगको रोकथाम तथा नियन्त्रणका लागि नेसनल सेन्टर फर डिजिज कन्ट्रोल स्थापना कार्य अगाडि बढाइने भएको छ ।यसैगरी स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना गर्नका लागि समेत आवश्यक कानुनी व्यवस्था गरिने भएको छ ।स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न  सामुदायिक तथा सहकारी अस्पतालबाट मात्रै उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि करिब सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ भने, मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।

उर्जा क्षेत्रमा ७५ अर्ब १० करोड

सरकारले ७१५ मेगावाट विजुली राष्ट्रिय प्रणालीमा जोड्ने  र विधुत  प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३अर्ब विनियोजन गरिएको बताएको छ ।आगामी दुई वर्षमा सबै घरमा विजुली पुर्‍याइने सरकारको लक्ष्य रहेको छ । त्यस्तै, एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी श्रावण भित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने र विधुतीय  सवारीको प्रयोग बढाउन  ५० स्थानमा चार्जिङ स्टेसन बनाउने र पेट्रोल पम्प भएकै स्थानमा चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ।  त्यसैगरी परम्परागत इटा भट्टालाई विधुतीय  भट्टाले विस्तापित गर्ने पनि उल्लेख गरिएको छ।

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड

सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ ।आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ भने भूमिको समुचित  प्रयोग गर्न संघीय भूउपयोग नीति कार्यान्वयन गरिने छ  । सरकारले वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने योजना अघि बढाउने र  निम्न आय भएका गरिब र श्रमिकका लागि सरकारले खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने भएको छ । सरकारले हरेक स्थानीय तहमा सुपथ मूल्यका पसल सञ्चालन गरेर परिचयपत्रको आधारमा सहुलियतदरमा खाद्यवस्तु उपलब्ध बनाउने घोषणा गरेको छ ।

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड

सरकारले पर्यटन क्षेत्रको विकास लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ।  यस आर्थिक वर्षमा सरकारले  १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसै आर्थिक वर्षमा स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने पनि सरकारले घोषणा गरेको छ। 

सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड

सरकारले  सूचना तथा सञ्चारको विस्तार गर्न इन्टरनेट शुल्क घटाउने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्यालयहरुलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गर्ने र गीत संगीतमा लागेका सर्जकहरुको उत्थान र फिल्म सिटी निर्माण लागि समेत बजेट विनियोजन गरेको उल्लेख गरेको छ। 

 हवाई पूर्वाधार क्षेत्रमा सरकारले १२ अर्ब २४ करोड

सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनरसंरचना गर्ने भएको छ । प्राधिकरणलाई सेवा प्रवाह र सेवा नियामकको रुपमा छुट्टाछुट्टै स्थापना गर्ने र आन्तरिक हवाई सेवाको गुणस्तरमा अभिवृद्धि गर्ने सरकारको योजना रहेको छ ।  निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गर्दै ,गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने र त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न,  दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ । हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्ध विमानस्थलमा समेत दोस्रो टर्मिनल बनाइने  घोषणा गरिएको छ  ।

रेलका लागि ६ अर्ब ५३ करोड बजेट

सरकारले रेल सेवा विस्तार र सम्भाव्यता अध्ययन गर्न ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ।  पूर्व-पश्चिम रेल सेवा सञ्चालनका लागि बर्दिवास-रौतहट खण्डको काम तीव्र पारिने र विजयपुरा- विराटनगर खण्डका लागि जग्गा लिने प्रक्रिया सूरु गरिने घोषणा गरिएको छ।  त्यसैगरि, काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता,वीरगञ्ज, भैरहवा, पोखरालगायत मुख्य सहरमा ट्राम सेवा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने र  जयनगर-कुर्था रेलको नियमित सञ्चालन र थप विस्तारको घोषणा गरिएको छ।  

सामाजिक सुरक्षा भत्ता

सरकारले वृद्धभत्ता पाउने उमेर ७० बाट ६८ वर्षमा झारेको छ । आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, लोपोन्मुख जातिका व्यक्तिले पाउने भत्ता पनि साविकको भन्दा ३३ प्रतिशतले बढाइएको छ  ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हाल तथ्याङ्क अनुसार नेपालमा योगदानरहित सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या ३५ लाख ५५ हजार छ । विभागले यो वर्ष मात्रै वृद्ध भत्ताबाहेक अन्य सामाजिक सुरक्षामा बढेको ३३ प्रतिशत भारको पूर्तिका लागि २२ अर्ब ५६ करोड ८ लाख रुपैयाँ थप निकासा गरेको छ ।चालु आर्थिक वर्षमा विभिन्न शीर्षकका सामाजिक सुरक्षा कार्यक्रमका लागि मात्रै २ खर्ब ५६ अर्ब ६९ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ ।

सरकारी कर्मचारी र शिक्षकको तलब

सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब श्रावण १  गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ  छ । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ छ ।सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ छ । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ र मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ रहेको  छ ।

बेरोजगार

सरकारले प्रत्येक वर्ष २ लाख सुचिकृत बेरोजगारलाई रोजगारी दिने बताएको छ ।प्रत्येक वर्ष स्थानीय पालिकाको रोजगार सेवा केन्द्रमा सुचीकृत २ लाख बेरोजगारलाई रोजगार दिइने र प्रधानमन्त्री  रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरेर स्थानीय तहको सहकार्यमा खेतियोग्य बाँझो जमिन पहिचान गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई कृषि उत्पादनमा केन्द्रित रोजगारी प्रदान गरिने छ । प्रधानमन्त्री रोजगारीको कार्यक्रमको ढाँचा परिवर्तन गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि उत्पदानमा केन्द्रित गर्दै यसका लागि ७ अर्ब ५ करोड विनियोजन गरिने भएको छ।  थियो। स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई यस कार्यक्रम मार्फत कृषि उत्पादन मुलुक क्षेत्रमा रोजगारी प्रदान गरिनेछ ।

सरकारी वित्तीय अनुदान

स्थानी र प्रदेशमा ४ खर्ब ५० अर्बरुपैयाँ बराबर वित्तीय अनुदान हस्तान्तरण हुने भएको छ । वित्तीय समानीकरणतर्फ प्रदेशमा ६१ अर्ब ४३ करोड, स्थानीय तहमा १ खर्ब २३ करोड रुपैयाँ पठाउने व्यवस्था उल्लेख गरिएको छ  । ससर्त अनुदान तर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ करोड विनियोजन भएको छ ।समपुरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको छ ।यस्तै विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड स्थानीय तहलाई ९ अर्ब १४ करोड विनियोजन भएको छ । राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ ।

विदेशी लगानी

सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोड रुपैयाँमा झारेको छ । रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाउने जानकारी दिंदै, ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्वतयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने भएको छ ।लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनामा पुरा गने व्यवस्था मिलाइएको छ। 

स्टार्टअप व्यवसाय

देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि सरकारले २६ करोड रुपैयाँ विनियोजन गरेको छ । स्टार्टअप व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत बिउ पुँजी प्रदान गरिने भएको छ । स्टार्टअपमा गरिएको लगानीको प्रभाव मूल्यांकनसमेत गरिने र विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले हरियाली प्रवर्द्धन गर्न  देशभर १० हजार बहुवर्षीय बिरुवाहरु रोपिने पनि उल्लेख गरेको छ। 

सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ । मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने घोषणा पनि गरिएको छ ।

सरकारले सेनेटेरी प्याड आयातमा लगाउंदै आएको भन्सारमा ९० प्रतिशत छूट दिने निर्णय गरेको छ ।  नेपालमा नै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ। 

सरकारले स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ।

सरकारले २६ जिल्लालाई सडक सञ्जालमा आबद्ध गर्न निर्माणधीन मध्यपहाडी राजमार्गमा आगामी आर्थिक वर्ष २३५ किलोमिटर कालोपत्रे र १६ वटा पुल निर्माण गर्न ९ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको  छ । त्यस्तै हुलाकी राजमार्गको ३ सय किलोमिटर सडक कालोपत्रे र २४ वटा पुल निर्माण सम्पन्न भएको र थप ६७ वटा पुल निर्माण गर्न  ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

पूर्वपश्चिम राजमार्ग विस्तार गर्न ३० अर्ब ५० करोड विनियोजन गरेको छ । रसुवागढी नाका जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ५० करोड रुपैयाँ ।

सिक्टा सिंचाइ योजनाका लागि एक अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ।  सुनकोसी मरिन डाइभर्सन योजनाको लागि २ अर्ब ७० करोड बजेट छुट्याएको छ ।

बजेटको पूर्णपाठ :

१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड बजेट छुटयाइएको छ ।
यस आर्थिक वर्षमा सरकारले आर्थिक स्रोत जुटाउन आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।

बजेटको पूर्ण पाठ :

मन्त्रिपरिषदको बैठकबाट आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत


आज बसेको मन्त्रिपरिषद्‍को बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।
स्वीकृत बजेट अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल पछि संसदमा प्रस्तुत गर्न लागेको आजको बजेटको आकार करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।

गभर्न अधिकारीको मुद्दामा आज सुनुवाइ हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सुनुवाइ हुने भएको छ। बिहिबार सुनुवाई नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको गभर्नरको मुद्दामा आजका लागि पेशी तोकिएको छ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा रहेको मुद्दामा पेशीको लागि आजको समय तोकिएको छ। वैशाख ६ को सर्वोच्चको अन्तरिम आदेशसंगै पुन आफ्नो जिम्मेवारीमा फर्किएका गभर्नर अधिकारीलाई गत चैत २५ गते सरकारले निलम्बन गरेर उनि उपर छानविन समिति गठन गरेको थियो।

सर्वोच्चको अन्तरिम आदेशमा गभर्नर अधिकारि काममा फर्किएका भएपनि आजको पेशीमा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा सर्वोच्चले टुंगो लगाउनेछ। अन्तरिम आदेशलाई निरन्तरता दिएमा गभर्नर अधिकारी पदमा बहाल रहनेछन भने अन्तरिम आदेश खारेज गरेको खण्डमा उनीमाथि पुन छानविन प्रक्रिया अघि बढ्न सक्ने देखिन्छ।

काममा फर्किए गभर्नर अधिकारी

सर्वोच्च अदालतको अल्पकालीन अन्तरीम आदेशसँगै नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्।

व्यक्तिगत कारणहरुको आधारमा गैर कानुनि रुपमा आफुलाई निलम्बन गरिएको भन्दै गभर्नर अधिकारीले सरकार विरुद्द दाएर गरेको रिटमा सुनुवाई गर्दै, सर्वोच्चले
मन्त्रिपरिषद्को र अर्थ मन्त्रालयको चैत २५ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन भनि आदेश दिएको हो।

सर्वोच्चले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अदालतले आदेश दिएको छ। नेपाल राष्ट्र बैंक, मौद्रिक नीति तथा समग्र स्थायित्वसँग गाँसिएको विषय देखिएकाले अन्तरिम आदेश जारी गर्ने/नगर्ने सम्बन्धमा दुवै पक्षलाई झिकाई छलफल गरी निर्णयमा पुग्नुपर्ने देखिएको भन्दै वैशाख १३ गते पेसी तोकी दुवै पक्षलाई जानकारी दिन पनि आदेश गरिएको छ।

सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने सरकारको निर्णय

सरकारले विदेशी मुद्रा सञ्चिति घट्दै गएको कारण सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्रालयका अनुसार इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारको सो निर्णय,अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा भने लागू नहुने उल्लेख गरिएको छ।
३० चैतको मन्त्रिपरिषद् बैठकले गरेको सो निर्णय आगामी असार मसान्तसम्म लागू हुने पनि बताइएको छ।

sarakaar

विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सहज बनाउन गैरआवासीय नेपाली संघले सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मुलुकमा घट्दै गएको विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सहज बनाउन गैरआवासीय नेपालीसँग सहयोग गर्ने सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ । अन्तरक्रियामा सरकारी अधिकारीहरुको पनि सहभागिता रहनेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले मुलुकमा देखिएको सम्भावित आर्थिक संकट समाधानका लागि सरकारसँग हात मिलाउने निर्णय गरेको एनआरएनएका प्रवक्ता शिव बरुवालले जानकारी दिए । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा भएको बैठकमा,वैदेशिक सञ्चिति घट्दै गएको अवस्थालाई सम्बोधन गर्न बुधबार अर्थमन्त्री, अर्थसचिव, नेपाल राष्ट्र बैंकका अधिकारी, अर्थशास्त्री लगायतको सहभागितामा बैठकले विस्तृत अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

बैठकले कार्यक्रममार्फत सबै गैरआवासीय नेपालीलाई नेपालको जुनसुकै बैंकमा अमेरिकी डलरमा खाता खोल्न र सो खातामा कम्तीमा १ हजार अमेरिकी डलर जम्मा गर्न आग्रह गर्ने निर्णय गरेको एनआरएनए प्रवक्ताले जानकारी दिए ।

बैठकले डलर खाता खोल्दा, डलर पठाउन, सो खातामा रकम बचत गर्दा र आवश्यकताको समयमा खाताबाट पैसा निकाल्दा आउन सक्ने समस्याको अध्ययन गर्न एनआरएनएका उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबै गैरआवासीय नेपालीलाई डलर खाता खोल्न सहजीकरण गर्ने निर्णय गरेको छ ।

अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन :अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रमा ठूलो सङ्कट नरहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले गभर्नरमाथि भएको कारबाही पनि कानूनी भएको बताउँदै छानबिन समितिको प्रतिवेदन आएपछि धेरै कुरा स्पष्ट हुने बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले वर्तमान अवस्थालाई अर्थ मन्त्रालयल गायत सम्बन्धित निकायले नजिकबाट नियालिरहेको र सात महिनायता अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मुख्य सचिवको नेतृत्वमा अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावमाथि काम भइरहेको पनि बताउनुभएको छ।

व्यापार घाटा नियन्त्रण गर्न पेट्रोलियम पदार्थको आयातलाई नियमन गर्ने तयारी भइरहेको पनि अर्थमन्त्री शर्माले बताउनुभयो । सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको र सोहि अनुसार कार्य गरिने पनि शर्माले बताउनुभयो । यसैगरी विलासिताका बस्तुहरुमा भन्सार महशुल वृद्धि गर्ने तयारी भइरहेको पनि शर्माले जानकारी दिनुभएको छ।

अर्थमन्त्रीलाई असहयोग गरेकोले गभर्नरलाई कारबाही गरिएको हो :प्रधानमन्त्री देउवा

अर्थमन्त्रीलाई सहयोग नगरेको भन्दै गभर्नरलाई कारबाही गर्नुपरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

गभर्नर अधिकारीलाई निलम्बन गरे लगत्तै सरकारले शुक्रबार सर्वोच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।गभर्नरविरुद्धको कारबाहीको चौतर्फी आलोचना भइरहेको बेला आज बसेको सत्तारुढ दलको बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आर्थिक संकट र गभर्नरमाथि भएको कारबाहीबारे प्रश्न उठाएका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीलाई सहयोग नगरेको भन्दै कारबाही गरिएको बताउनुभएको हो ।

अर्थमन्त्रीले आफूले काम गर्न नपाएको र गभर्नरले सहयोग नगरेको गुनासोको आधारमा गभर्नर अधिकारीलाई कारबाही गरिएको बताइएको हो।

सरकारले समग्र देशको आर्थिक प्रणाली भत्काउन हस्तक्षेप गरेको छ:विष्णु पौडेल

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको भन्दै सरकारको यस्तो निर्णयले मुलुकको अर्थतन्त्र थप धरासायी हुने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनुभएको छ।

देशको अर्थ व्यवस्थाबारे एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भन्नुभयो,” मुलुकको आर्थिक अवस्था कमजोर भएको र अर्थतन्त्र सुधार्न लागिपर्नुपर्ने बेलामा गभर्नरलाई निलम्बन गरेर सरकारले समग्र देशको आर्थिक प्रणाली भत्काउन हस्तक्षेप गरेको छ”।

सरकारको यो कदमको सकारात्मक हस्तक्षेप नगर्ने हो भने देशलाई श्रीलंकाको जस्तो आर्थिक संकटमा धकेल्ने पनि उहांले बताउनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै, प्रधानमन्त्री वा मन्त्रीको भाषणले मात्रै वर्तमान आर्थिक संकट रोक्न नसक्ने पनि उहांले बताउनुभएको छ ।