मन्त्री घिसिङ र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्।

भेटवार्ताको क्रममा राजदूत थम्पसनले घिसिङलाई उनको नियुक्तिमा बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।

नेपाल-अमेरिका सहयोग, संयुक्त राज्य अमेरिकाद्वारा समर्थित परियोजनाहरूको प्रगति र जेन जी आन्दोलनको समयमा क्षतिग्रस्त सार्वजनिक पूर्वाधारको पुनर्निर्माणमा केन्द्रित रहेर दुईजनाबीच छलफल भएको बताइएको छ।

मन्त्री घिसिङले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, आगामी निर्वाचन र सुशासन सुनिश्चित गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् भने राजदूत थम्पसनले नेपाललाई अमेरिकाको सहयोग जारी रहने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री कार्की र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ -अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्।

सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।राजदूत थम्पसनले नेपालको जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै नेपालको शान्तिपूर्ण, लोकतान्त्रिक बाटोमा अगाडि बढ्ने प्रक्रियामा अमेरिकाको समर्थन रहेको पनि बताएका छन्।

काठमाडौंका मेयर बालेन शाह र अमेरिकी राजदूतको भेटबारे भिम रावलको प्रश्न

नेकपा एमालेका नेता डा. भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूतको भेट बारेमा प्रश्न गर्नुभएको छ।

नेपालको परराष्ट्र सम्बन्ध, संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था रहेको भन्दै नेता रावलले, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस् भनेर प्रश्न गर्नुभएको छ।

नेता रावलले, संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्नुपर्ने भन्दै, परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानुनी पद्धति मिचेर संवैधानिक निकायका प्रमुखले आफुलाई मनलागेको बेला जो कोहि विदेशीसँग भेटवार्ता गर्न नमिल्ने बताउनुभएको छ।

तस्विर:अमेरिकी दुतावासको ट्विटरबाट

नेपालका लागि अमेरिकी राजदूतमा डिन आर थम्प्सन नियुक्त

डिन आर थम्प्सन नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त भएका छन् ।

वैदेशिक विभागमा करीब तीन दशक काम गरेका थम्प्सन नेपालका लागि राजदूतको रूपमा नियुक्त गरिएको हो। शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका थम्प्सन पूर्व राजदूत र्यान्डी बेरीकाे स्थानमा आउन लागेका हुन् ।

अमेरिकी स्टेट डिपार्टमेन्टको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरेका डीन आर. थम्पसनले सन् २०२० देखि २०२१ सम्म सोही क्षेत्रमा कार्यवाहक सहायक सचिवको भूमिकामा रहेर काम गरेका थिए। थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन र रोमानियाको बुखारेस्टमा रहेको अमेरिकी दूतावासको डेपुटी चिफ अफ मिसन र चार्ज डी अफेयर्सको रुपमा पनि कार्यरत थिए।

थम्पसनले भारतको कोलकातामा रहेको अमेरिकी महावाणिज्य दूतावासका महावाणिज्य दूतका रुपमा पनि कार्य गरेका छन्। उनले अमेरिकी दूतावास,श्रीलंकाको आर्थिक सल्लाहकार र अमेरिकी दूतावास पाराग्वे र बंगलादेशमा रहेर पनि काम गरेका छन्।

नेशनल वार कलेजमा विद्यार्थीको रूपमा राज्य विभागको प्रतिनिधित्व गरेका थम्प्सनले राज्य विभागको कार्यकारी सचिवालय स्टाफको निर्देशक, राज्य विभाग अपरेशन सेन्टरको उपनिर्देशक, अपरेशन सेन्टर क्राइसिस म्यानेजमेन्ट स्टाफको निर्देशक र कार्यकारी सचिवालयको लागि सूचना स्रोत व्यवस्थापनका लागि उपनिर्देशकको रूपमा समेत काम गरेका छन्।

नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने बताइएको छ ।