रूसबाट ग्यास आपुर्ती नरोक्ने टर्कीको घोषणा

अंकारा – टर्कीले अमेरिकी सरकारको आग्रह अस्वीकार गर्दै रूसबाट ग्यास आयात निरन्तर गर्ने स्पष्ट पारेको छ। ऊर्जामन्त्री अल्पार्स्लान बायराक्तरले टर्कीले आवश्यक ऊर्जाका लागि रूससहित उपलब्ध सबै आपूर्तिकर्ताबाट ग्यास खरिद गर्न जारी राख्ने बताएका छन्।

उनको भनाइ अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको वक्तव्यपछि आएको हो। ट्रम्पले पछिल्लो सातामा राष्ट्रपति रेसेप तैयप एर्दोआनसँग भेटपछि टर्कीले पनि नाटो सदस्य राष्ट्रको हैसियतमा रूससँगको तेल तथा ग्यास कारोबार बन्द गर्ने संकेत दिएका थिए।

तर मन्त्री बायराक्तरले यस्तो सम्भावना नकार्दै भने, “हामी नागरिकलाई ग्यास सकियो भन्न सक्दैनौं। ऊर्जाको निरन्तर आपूर्ति गर्न विविध स्रोतमा पहुँच हुनैपर्छ। रूससँगका सम्झौताहरू यथावत् भएकाले टर्कीले ग्यास आपूर्ति रोक्दैन। जाडो नजिकिँदै छ, हामीलाई सकेसम्म धेरै ग्यास चाहिन्छ।”

उनले टर्कीले आपूर्तिकर्ता विविधीकरण गर्ने र घरेलु उत्पादन बढाउने रणनीति अघि बढाइरहेको बताए। “टर्कीमा ग्यासको ठूलो खपत हुन्छ। विविध स्रोतबाट खरिद गर्दा ऊर्जा सुरक्षामा थप मजबुती आउँछ,” उनले भने।

पश्चिमी मुलुकहरूले सन् २०२२ मा युक्रेन युद्ध तीव्र भएपछि रूसबाट ऊर्जा आयात उल्लेख्य मात्रामा घटाएका छन्। युरोपेली संघले २०२७ भित्र रूसी जीवाश्म इन्धन आयात पूर्णरूपमा बन्द गर्ने योजना बनाएको छ। तर हङ्गेरी र स्लोभाकिया जस्ता देश अझै पनि ठूलो मात्रामा रूसी ग्यास तथा तेल आयात गर्छन्।

टर्की युरोपेली संघको सदस्य नभए पनि नाटोको महत्त्वपूर्ण साझेदार हो। उसले युक्रेन युद्धपछि रूसविरुद्ध पश्चिमी प्रतिबन्धमा सामेल नभई ऊर्जा आयात र कूटनीतिक सम्बन्धलाई यथावत् राखेको छ।

यसैबीच, क्रेमलिनले रूसी ऊर्जामाथि लगाइएका प्रतिबन्धलाई अवैधानिक र आत्मघाती बताउँदै युरोपले महँगो विकल्प रोज्नुपर्ने चेतावनी दिएको छ। क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भने, “ट्रम्पको उद्देश्य अमेरिकी आर्थिक हित सुरक्षित गर्नु हो।” विश्वलाई अमेरिकी तेल र एलएनजीका लागि बढी रकम तिर्न बाध्य बनाउने अमेरिकी नीति भएको उनले बताएका छन्।

युक्रेन युद्ध पश्चिमाको पनि युद्ध हो : पोलिस प्रधानमन्त्री टुस्क

वार्सा -पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले युक्रेनमा जारी युद्ध केवल युक्रेनको मात्र नभई पश्चिमाको पनि युद्ध भएको बताएका छन्। वार्सा सुरक्षा फोरममा बोल्दै उनले युरोपियन युनियनका नेताहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण काम भनेको आफ्नो समाजलाई रुसबाट आउने खतराबारे सचेत गराउनु रहेको बताए।

उनले भने, “आज युरोपेली नेताहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण काम भनेको पश्चिमी समाजलाई बुझाउनु हो कि युक्रेन युद्ध यो शताब्दीमा उनीहरूले सामना गरेको सबैभन्दा गम्भीर चुनौती हो।” उनले चेतावनी दिँदै भने कि युक्रेन पराजित भए यसको असर पोल्याण्डदेखि संयुक्त राज्य अमेरिका सम्म सम्पूर्ण पश्चिमी सभ्यतामा पर्छ। टुस्कले ईयू र नेटोमा एकता र ऐक्यबद्धताको आवश्यकता औंल्याउँदै रूसलाई पराजित गर्न त्यो अपरिहार्य भएको बताए।

प्रधानमन्त्री टुस्कले पोलिस सेनाको व्यापक आधुनिकीकरणको योजना प्रस्तुत गर्दै ईयुभित्रका सरकार र समाज दुवैलाई युद्धको तयारीका लागि जुट्न आग्रह गरे। यसअघि वार्साले रुसमाथि आफ्नो हवाई क्षेत्रमा ड्रोन पठाएको आरोप लगाएको थियो तर मस्कोले यसलाई अस्वीकार गरेको छ।

यसैबीच, रुसले युक्रेन युद्धलाई पश्चिमाले चलाएको प्रोक्सी युद्ध भनेको छ। केही दिनअघि मात्र रूसी परराष्ट्रमन्त्री सर्गेई लाभरोभले ईयू र नेटोले नै संकट भड्काएको र रुसविरुद्ध युद्ध छेडेको दाबी गरेका थिए।

गत शनिबार संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै लाभरोभले रुस निकट भविष्यमै नेटोमाथि आक्रमण गर्ने योजनामा रहेको भन्ने पश्चिमी दाबीलाई खारेज गर्दै भने, “रुसको त्यस्तो कुनै पनि इरादा छैन।” उनले भने, कि मस्कोले पटक–पटक युरोपमा कानूनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीको प्रस्ताव राखे पनि नेटो सदस्य राष्ट्रहरूले त्यसलाई बेवास्ता गरेको बताए।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा ईरानमाथि पुनः प्रतिबन्ध लागू

न्यूयोर्क – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले रुस र चीनले पेस गरेको प्रस्ताव अस्वीकार गरेपछि ईरानमाथि हटाइएको प्रतिबन्ध पुनः लागू हुने भएको छ।

शुक्रबार भएको मतदानमा प्रस्तावलाई चीन, रुस, पाकिस्तान र अल्जेरियाले मात्र समर्थन गरे भने नौ देशले विरोध र दुई देशले तटस्थता जनाए। यससँगै सन् २०१५ को आणविक सम्झौता अन्तर्गत हटाइएका प्रतिबन्ध शनिबार राति मध्यरातदेखि पुनः लागू भएको छ।

फ्रान्स, जर्मनी र बेलायतले अघिल्लो महिनामै “स्न्यापब्याक मेकानिज्म” प्रयोग गर्दै ईरानले सम्झौताका प्रावधान उल्लंघन गरेको आरोप लगाएका थिए।

रुसी कुटनितिज्ञ दिमित्री पोल्यान्स्कीले पश्चिमी मुलुकहरूको कदमलाई आलोचना गर्दै कूटनीतिक समाधानबारेका तिनका आश्वासन “खाली आवाज” भएको टिप्पणी गरे।

ईरानी परराष्ट्र मन्त्री अब्बास अराघचीले प्रतिबन्ध पुनः लागु गर्नु “खतरनाक उदाहरण” भएको भन्दै सुरक्षा परिषदको विश्वसनीयता गुम्न सक्ने चेतावनी दिएका छन्।

रूसविरुद्ध कडा प्रतिबन्ध लगाउन नाटो एकजुट हुनुपर्ने : ट्रम्प

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रूसविरुद्ध कडा प्रतिबन्ध लगाउन तयार रहेको तर त्यसका लागि सबै नाटो सदस्य राष्ट्रहरूले सामूहिक रूपमा कदम चाल्नुपर्ने र रूसी तेल खरिद तत्काल रोक्नुपर्ने बताएका छन्।

आफ्नो ट्रुथ सोसल पेजमा लेख्दै उनले नाटोका सदस्यहरूले अझै पनि रूसी तेल आयात गरिरहेको भन्दै यसलाई “आश्चर्यजनक” भनेका छन् र यसले नाटोको वार्ताको क्षमता कमजोर बनाएको दाबी गरेका छन्। उनले भने , “म तयार छु, जब तपाईं तयार हुनुहुन्छ। केवल मिति भन्नुहोस्।”

ट्रम्पले नाटो सदस्यहरूलाई चीनमाथि ५० देखि १०० प्रतिशतसम्मको शुल्क (ट्यारिफ) लगाउन आग्रह गरेका छन्। उनका अनुसार यस्तो कदमले युक्रेन युद्धलाई अन्त्य गर्न मद्दत गर्नेछ र शान्तिपूर्ण समाधान भएपछि मात्र शुल्क फिर्ता लिन सकिनेछ।

युक्रेन युद्धलाई ट्रम्पले फेरि “बाइडेन र जेलिन्स्कीको युद्ध” बताएका छन् । उनले भने, “यदि नाटोले मेरो भनाइअनुसार गरे युद्ध छिट्टै अन्त्य हुन्छ र असंख्य जीवन बचाइनेछ। नभए तपाईंहरूले मेरो मात्र होइन, संयुक्त राज्य अमेरिकाको समय, ऊर्जा र धन खेर फाल्दै हुनुहुन्छ।”

कब्जा गरिएको रुसी सम्पत्ति अमेरिकाले तत्काल युक्रेनलाई नदिने

वासिङ्टन – अमेरिकाले युक्रेन युद्धसम्बन्धी वार्तामा कब्जा गरिएको रुसी सम्पत्तिलाई दबाबका रूपमा प्रयोग गर्ने योजना बनाएको छ, तर तिनलाई तत्काल किभलाई हस्तान्तरण नगर्ने स्पष्ट पारेको छ। अमेरिकी कोष सचिव स्कट बेस्सेन्टले पत्रकारहरूसँग सो कुरा सार्वजनिक गरेका हुन्।

सन् २०२२ देखि पश्चिमी वित्तीय संस्थानहरूमा रोकिएका करिब ३०० अर्ब अमेरिकी डलर बराबरका रुसी सम्पत्तिबारे बोल्दै बेस्सेन्टले भने, ती सम्पत्ति वार्ताको हिस्सा हुन्। उनले तत्काल ति सम्पति जफत गर्नु उचित नभएको बताउँदै, वार्ताको नतिजा अनुसार ती रकम युक्रेनको पुनर्निर्माणमा प्रयोग हुन सक्ने संकेत दिएका छन् ।

यधपी, रुसको उक्त कब्जा गरिएको सम्पत्ति बारे पश्चिमी राष्ट्रहरूबीच मतभेद देखिएको छ। युक्रेनले उक्त रकम छिट्टै हस्तान्तरणको माग गर्दै आएको छ भने केही युरोपेली नेताहरू र विज्ञहरूले यस्तो कदमले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्ने, लगानीकर्ताको विश्वास घटाउने र वित्तीय बजार अस्थिर बनाउने चेतावनी दिएका छन्।

हालका लागि युरोपेली संघले रोकिएका सम्पत्तिबाट प्राप्त नाफा र ब्याजलाई मात्र युक्रेनतर्फ पठाउने निर्णय गरेको छ, जसबाट वार्षिक करिब ३ अर्ब डलर जुट्ने अनुमान गरिएको छ। अमेरिकी कांग्रेसले पनि सरकारलाई रुसी सम्पत्ति कब्जा गर्ने कानुनी अधिकार दिएको भए पनि, वाशिङ्टनले कानुनी र वित्तीय जोखिमका कारण त्यो कदम नचालेको बताइएको छ । यसको सट्टा, अमेरिका अन्य जी ७ सदस्यहरूसँग मिलेर रोकिएका सम्पत्तिबाट आएको ब्याज प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर ऋण दिने निर्णयमा सहमत भएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस आफ्नो सम्पत्तिको अधिकार कहिल्यै नत्याग्ने चेतावनी दिँदै, पश्चिमले ती रकम कब्जा गरेर युक्रेनलाई हस्तान्तरण गर्ने प्रयास गरेमा गम्भीर कानुनी परिणाम भोग्नुपर्ने बताएका छन्।

ट्रम्पद्वारा रुसलाई ५० दिनको समयसीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिन भित्र युक्रेन द्वन्द्व अन्त्य गर्न सम्झौता नभएसम्म रुसका व्यापारिक साझेदारहरूमाथि १००% सम्मको “गम्भीर” कर लगाउने धम्की दिएका छन्।

ट्रम्पले सोमबार ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँगको भेटमा सो चेतावनी दिएका हुन्।

“हामी धेरै, धेरै दुखी छौं – म – [रूस] सँग, र यदि हामीसँग लगभग ५० दिनमा सम्झौता भएन भने हामी धेरै कडा कर लगाउनेछौं,” उनले भने।अमेरिकी राष्ट्रपतिले रुसमाथि कडा प्रतिबन्ध लगाउने कंग्रेसनल विधेयकको पनि स्वीकृति आवश्यक नपर्ने बताएका छन्। ट्रम्पले यो पनि घोषणा गरे कि अमेरिकाले नेटो मार्फत युक्रेनमा हतियार पठाउनेछ, जसले भुक्तानी र वितरण दुवैलाई सम्हाल्नेछ।

बेलायती नागरिकहरूले बढ्दो मूल्यको विरोधमा ऊर्जा बिलहरू जलाए

ऊर्जाको मूल्यवृद्धिको विरोध गर्दै हजारौं बेलायती नागरिकहरूले आफ्ना ऊर्जा बिलहरू जलाएका छन् ।

बेलायतका विभिन्न शहरबाट निस्किएको नागरिकहरुको र्‍यालीले ऊर्जाको बिल जलाएर विरोध प्रदर्शन गरेका थिए । प्लेकार्ड र ब्यानर सहित प्रदर्शनमा उत्रिएका मानिसहरूले शहरका विभिन्न क्षेत्रमा सरकार विरोधी नाराबाजी समेत गरेका थिए।

नयाँ ऊर्जा मूल्यले प्रति घरपरिवारको बिल औसत £१९७१ बाट वार्षिक रूपमा £२५०० मा वृद्धि गरेपछि विरोध प्रदर्शन सुरु भएको हो। यता उर्जा अधिकारीहरूले भने आगामी वर्ष ऊर्जा बिल बढेर £ ६५०० सम्म पुग्न सक्ने अनुमान गरेका छन्।

रुस युक्रेन युद्दलाई लिएर नाटो राष्ट्रहरुले रुसलाई लगाएको आर्थिक प्रतिबन्धसँगै युरोपियन मुलुकहरुमा उर्जा संकट बढ्दै गएको छ भने उर्जाको मूल्य इतिहासकै उच्च कायम हुन पुगेको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/