संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा ईरानमाथि पुनः प्रतिबन्ध लागू

न्यूयोर्क – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले रुस र चीनले पेस गरेको प्रस्ताव अस्वीकार गरेपछि ईरानमाथि हटाइएको प्रतिबन्ध पुनः लागू हुने भएको छ।

शुक्रबार भएको मतदानमा प्रस्तावलाई चीन, रुस, पाकिस्तान र अल्जेरियाले मात्र समर्थन गरे भने नौ देशले विरोध र दुई देशले तटस्थता जनाए। यससँगै सन् २०१५ को आणविक सम्झौता अन्तर्गत हटाइएका प्रतिबन्ध शनिबार राति मध्यरातदेखि पुनः लागू भएको छ।

फ्रान्स, जर्मनी र बेलायतले अघिल्लो महिनामै “स्न्यापब्याक मेकानिज्म” प्रयोग गर्दै ईरानले सम्झौताका प्रावधान उल्लंघन गरेको आरोप लगाएका थिए।

रुसी कुटनितिज्ञ दिमित्री पोल्यान्स्कीले पश्चिमी मुलुकहरूको कदमलाई आलोचना गर्दै कूटनीतिक समाधानबारेका तिनका आश्वासन “खाली आवाज” भएको टिप्पणी गरे।

ईरानी परराष्ट्र मन्त्री अब्बास अराघचीले प्रतिबन्ध पुनः लागु गर्नु “खतरनाक उदाहरण” भएको भन्दै सुरक्षा परिषदको विश्वसनीयता गुम्न सक्ने चेतावनी दिएका छन्।

बेलायत, फ्रान्स र जर्मनीद्वारा इरानविरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध प्रक्रिया सुरु

बेलायत, फ्रान्स र जर्मनीले इरानमाथि कडा संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध पुनः लागू गर्ने प्रक्रिया थालनी गरेका छन्। २०१५ को परमाणु सम्झौतामा समावेश गरिएको “स्न्यापब्याक” प्रावधान प्रयोगसँगै आगामी ३० दिनभित्र प्रतिबन्ध लगाइन सक्ने आंकलन गरिएको छ।

यी तीन मुलुकले इरानले आफ्नो परमाणु प्रतिबद्धता उल्लंघन गर्दै उच्चस्तरीय युरेनियम भण्डारण गरेको र यसका लागि कुनै नागरिक औचित्य नरहेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, इरानको कार्यक्रम अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि प्रत्यक्ष खतरा बनेको छ।

तेहरानले भने यस कदमलाई “अनावश्यक र उत्तेजनापूर्ण” भन्दै विरोध जनाएको छ। इरानी परराष्ट्र मन्त्रालयले यो कार्यले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीसँगको सहकार्यमा बाधा पुर्‍याउने चेतावनी दिएको छ।

सन् २०१५ मा गरिएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु गतिविधिमा सीमा लगाउने सहमतिमा अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइएको थियो। तर २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताबाट बाहिरिएपछि अवस्था फेरिएको हो।

ब्रिटिश विदेश मन्त्री डेविड लाम्मीले इरानलाई प्रतिबन्धमा अस्थायी छुट दिने प्रस्ताव गरिएको तर कुनै वास्तविक प्रगति नभएको बताएका छन्। अमेरिकाले पनि युरोपेली कदमको स्वागत गर्दै प्रत्यक्ष वार्ताको ढोका अझै खुला रहेको जनाएको छ।

इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि मात्र रहेको दाबी दोहोर्याएको छ। तर पश्चिमी मुलुकहरू र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले भने इरानको आणविक उत्पादन प्रक्रियाप्रति शंका व्यक्त गर्दै आएका छन्।

इजरायल र इरान युद्धविराममा सहमत भएका छन्: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान ” पूर्ण युद्धविराम” मा सहमत भएको बताएका छन् छन्।

ट्रम्पले युद्धविराम आगामी केही घण्टामा लागू हुने बताएका छन् भने ,इरान र इजरायलले युद्धविराम भएको पुष्टि गर्न बाँकी छ। यसअघि, इरानले शनिबार आफ्नो आणविक स्थलहरूमा भएको आक्रमणको प्रतिक्रियामा कतार र इराकको अमेरिकी हवाई अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो।

उक्त प्रहारमा, ट्रम्पले कुनै पनि अमेरिकी वा कतारी हताहत नभएको भन्दै इरानी प्रतिक्रियालाई “धेरै कमजोर” भएको र उक्त प्रहारको “प्रारम्भिक सूचना” दिएकोमा इरानलाई धन्यवाद दिएका छन् ।

कतारले अमेरिकाद्वारा सञ्चालित अल उदेइद बेसलाई लक्षित सबै क्षेप्यास्त्रहरू रोकिएको बताएको छ। इरानको प्रतिक्रिया अमेरिकाले इरान भित्रका तीन आणविक केन्द्रहरू विरुद्ध ठूलो आक्रमण गरेको दुई दिनपछि आएको हो।