चीन–अमेरिका व्यापार वार्ता : ९० दिनका लागि कर शुल्क निलम्बन

स्टकहोममा सम्पन्न चीन–अमेरिका आर्थिक तथा व्यापार बैठकपछि दुवै देशले एकअर्काका सामानमा लाग्ने उच्च कर शुल्क ९० दिनका लागि निलम्बन गर्ने निर्णय गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा लगाइने शुल्क वृद्धिको मिति नोभेम्बर ९ सम्म सार्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि चीनले पनि सोही कदम चालेको हो।

चीनको सीमा शुल्क आयोगले अगष्ट १२ देखि लागू हुने गरी अमेरिकी सामानमा लाग्ने अतिरिक्त २४ प्रतिशत शुल्क निलम्बन गर्ने र बाँकी १० प्रतिशत दर कायम राख्ने जनाएको छ। यसअघि जिनेभा र लन्डनमा भएका बैठकमा भएका सहमतिहरू पुनः दोहोर्याउँदै दुवै पक्षले गैर-शुल्कीय प्रतिवन्धहरू हटाउने वा निलम्बन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सम्झौताअनुसार, चीनको वाणिज्य मन्त्रालयले गत अप्रिलमा निर्यात नियन्त्रण सूचीमा राखिएका अमेरिकी १६ संस्थामाथिको प्रतिबन्ध ९० दिनका लागि निलम्बन गर्ने र १२ संस्थामाथिको प्रतिबन्ध स्थायी रूपमा हटाउने निर्णय गरेको छ। यद्यपि, ती संस्थामा दोहोरो प्रयोजनका वस्तु निर्यात गर्न इच्छुक आपूर्तिकर्ताले अनुमति पत्रका लागि आवेदन दिनुपर्नेछ।

विशेषज्ञहरूले यो कदमलाई व्यापार तनाव कम गर्ने सकारात्मक प्रयास भनेका छन् तर यो अस्थायी मात्र भएको चेतावनी दिँदै दीर्घकालीन स्थिरताका लागि शुल्क पूर्ण रूपमा हटाउनुपर्ने सुझाव दिएका छन्।

ब्राजिलमाथि अमेरिकी करको चीनद्वारा आलोचना

चीनले अमेरिकाले ब्राजिलमाथि लगाएको “अस्थायी र अस्थिर” शुल्कको कडा आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व ब्राजिलेली राष्ट्रपति जायर बोल्सोनारोमाथि लागेको मुद्दा रब्रिक्स समूहमा ब्राजिलको निरन्तर सहभागितालाई कारण देखाउँदै यो कदम चालेका थिए।

चिनियाँ विदेश मन्त्री वाङ यीले ब्राजिलको “सार्वभौमिकता र गरिमा जोगाउने” अधिकारमा चीनको दृढ समर्थन रहने बताए। उनले ब्राजिलमाथि “धम्कीपूर्ण” शुल्क लगाउने कदमको विरोध गर्दै, विशेषगरी ब्रिक्स मार्फत, ग्लोबल साउथका मुलुकबीच सहकार्य बढाउन आह्वान गरे।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका वरिष्ठ सल्लाहकार सेल्सो अमोरिमसँगको फोनवार्तामा वाङले शुल्कलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको चार्टर र डब्लुटिओ नियमविरुद्ध भएको र “अलोकप्रिय तथा अस्थिर” कदम भएको बताए।

जुलाई अन्त्यमा ट्रम्पले सबै ब्राजिलेली सामानमा ५०% शुल्क लगाउने घोषणा गरेका थिए। उनले बोल्सोनारोमाथिको मुद्दा रब्रिक्सको अमेरिकी डलरको प्रभुत्व कमजोर पार्ने प्रयासप्रति चिन्ता व्यक्त गरेका थिए।

राष्ट्रपति लुलाले ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गर्दै उनलाई “विश्वका सम्राट होइन” भनेका छन् र संयुक्त प्रतिक्रिया बनाउन ब्रिक्स बैठकको प्रस्ताव गरेका छन्।

ट्रम्पले चीनमा पनि यस्तै शुल्क लगाउने संकेत दिएका छन्। यसअघि उनले भारतमाथि २५% शुल्क बढाएका थिए र चीन तथा भारत दुवैलाई युक्रेन युद्धका बीच रूसी तेल आयात गरेको भन्दै आलोचना गरेका थिए। मस्कोले भने यी धम्कीहरूलाई अस्वीकार गर्दै कुनै पनि सार्वभौम मुलुकले आफ्नो व्यापारिक साझेदार स्वतन्त्र रूपमा छान्ने अधिकार हुने जनाएको छ।

ट्रम्पको नयाँ कर नीतिप्रति भारतको कडा आपत्ति

रूससँगको तेल व्यापारलाई लिएर अमेरिकाले भारतमाथि लगाएको नयाँ शुल्कप्रति भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले उक्त कदमलाई “अत्यन्त दुर्भाग्यपूर्ण” भन्दै राष्ट्रको हित र ऊर्जा सुरक्षालाई जोगाउने प्रतिबद्धता व्यक्त गरेको छ।

ह्वाइट हाउसले बुधबार भारतबाट आयात हुने केही वस्तुहरूमा थप २५% कर लगाउने घोषणा गरेको छ। यससँगै हालै लगाइएको कर दोब्बर भएर कुल ५०% पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको आदेश अनुसार यो नयाँ शुल्क २१ दिनपछि, अर्थात् अगस्ट अन्त्यतिर लागू हुनेछ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने, “रूसबाट भारतले गर्ने तेल आयात बजारका आधारमा गरिएको हो, जसको उद्देश्य १.४ अर्ब जनसंख्याको ऊर्जा सुरक्षा सुनिश्चित गर्नु हो।”

भारतले यस कदमलाई “अन्यायपूर्ण र अनुचित” भन्दै निन्दा गरेको छ। साथै, अन्य धेरै राष्ट्रहरूले पनि आफ्ना राष्ट्रिय हितअनुसार रूससँग व्यापार गरिरहेको भारतले स्मरण गराएको छ।

यसअघि भारतले पश्चिमी मुलुकहरूको दोहोरो मापदण्डको आलोचना गर्दै एक कडा वक्तव्य दिएको थियो। भारतले भनेको थियो, “अमेरिका र युरोपेली संघले भारतको रक्षा र ऊर्जा सम्बन्धमाथि प्रश्न उठाउँछन् तर आफैं उच्च स्तरमा रूससँग व्यापार गरिरहेका छन्।”

हालसालै अमेरिकाले भारतप्रति आफ्नो आलोचनात्मक धारणा कडा बनाएको छ। उसले भारतले ठूलो मात्रामा रूसी कच्चा तेल खरिद गरेर यूक्रेन युद्धमा अप्रत्यक्ष रुपमा रूसलाई सहयोग गरिरहेको आरोप लगाएको छ। तर भारतले उक्त आरोप अस्वीकार गर्दै आफ्नो ऊर्जा नीति आर्थिक आवश्यकता र जनताको हितमा आधारित रहेको स्पष्ट पारेको छ।

यूक्रेन युद्ध २०२२ मा चर्किएपछि, रूस भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता बनेको छ भने भारतले रूसबाट ल्याएको कच्चा तेल प्रशोधन गरेर युरोपमा निर्यात गर्दै आएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यदि रूसले यूक्रेनसँग शान्ति सम्झौता नगरेमा, उसँग व्यापार गर्ने देशहरूलाई १००% सम्म शुल्क लगाउने चेतावनी दिएका छन्। यस्तो धम्कीको जवाफमा रूसले भनेको छ, “स्वतन्त्र राष्ट्रहरूले आफ्ना व्यापार साझेदार रोज्न र राष्ट्रिय प्राथमिकता अनुसार सहकार्य गर्न पाउने अधिकार राख्छन्।”

भारतबाट आयात गरिएका सामानहरूमा अमेरिकाले २५% कर लगाउने

अमेरिकाले भारतबाट आयात गरिएका सामानहरूमा २५% कर लगाउनेछ “र रूसी ऊर्जा र हतियार खरिद गरेमा थप जरिवाना” लगाउने राष्ट्रपति ट्रम्पले बताएका छन्।

उनले भारतले रुसी सैन्य उपकरण र ऊर्जा खरिद गरेको पनि आलोचना गर्दै, रुस भारतबीचको व्यापारका कारण भारतलाई थप जरिवाना स्वरुप अन्य व्यापारिक कर लगाउने पनि बताएका छन्।

भारतबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन , यधपी भारतले महिनौंदेखि अमेरिकासँग व्यापार सम्झौताको लागि वार्ता गरिरहेको छ। गत वर्ष, अमेरिकाको भारतसँग $४५.८ बिलियन (£२६.१ बिलियन) को व्यापार घाटा रहेको समेत अमेरिकाले बताएको छ ।

अमेरिका आयात हुने सबै युरोपेली सामानमा १५% कर सहितको व्यापार सम्झौता

संयुक्त राज्य अमेरिका र युरोपेली संघ एक व्यापार सम्झौतामा पुगेका छन् जसमा अमेरिकामा आयात हुने सबै युरोपेली सामानहरूमा १५% को पूर्ण कर लाग्नेछ। ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनबीच स्कटल्याण्डमा भएको उक्त सम्झौतालाई लेयनले “विशाल सम्झौता” भनेकी छिन्।यदि १५% करको उक्त सम्झौता नभएको अगस्टको पहिलो दिन युरोपेली मुलुकले निर्यातमा ३०% करको मार बेहोर्नुपर्ने पनि उनले बताइन।

यसैबीच, राष्ट्रपति ट्रम्प भन्छन् कि युरोपेली संघले सयौं अर्ब डलरको लगानी र ऊर्जा खरिदको वाचा गरेको समेत बताएका छन्।

सोहि कुरामा सहमति जनाउदै, युरोपेली संघले अमेरिकी ऊर्जा उत्पादनहरू खरिद गरेर संयुक्त राज्य अमेरिकासँग सहयोग बढाउने लेयनले बताएकी छन्।

“हामी रूसी ग्यास र तेललाई अमेरिकी उर्जा , तेल र आणविक इन्धनको महत्त्वपूर्ण खरिदले प्रतिस्थापन गर्नेछौं,” उनले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ “आजको सम्झौताले अनिश्चित समयमा निश्चितता सिर्जना गर्दछ। यसले एट्लान्टिकका दुवै छेउका नागरिकहरू र व्यवसायहरूका लागि स्थिरता प्रदान गर्दछ।” यो विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको सम्झौता हो।”

अमेरिकासँगको व्यापार समाप्त हुन सक्ने युरोपियन युनियनको चेतावनी

यदि ट्रम्पले ३०% कर लगाउने आफ्नो धम्कीलाई पालना गरेमा अमेरिकासँगको यसको व्यापार समाप्त हुने युरोपियन युनियनले बताएको छ।

यदि वाशिंगटनले ब्लकबाट आयात गरिएका सामानहरूमा ३०% कर लगाउने आफ्नो धम्कीलाई पूरा गर्छ भने युरोपेली संघले संयुक्त राज्य अमेरिकासँगको यसको व्यापार प्रभावकारी रूपमा समाप्त गर्न सक्ने बताएको छ।

“३०%, वा ३०% भन्दा माथिको कुनै पनि… को करले कम वा कम उस्तै प्रभाव पार्छ। त्यसैले, व्यावहारिक रूपमा यसले व्यापारलाई निषेध गर्दछ,” युरोपियन युनियनका व्यापार आयुक्त मारोस सेफकोभिकले सोमबार ब्रसेल्समा युरोपियन युनियनको मन्त्रीस्तरीय बैठकमा सो कुरा बताएका हुन्।

युरोपियन युनियनले अमेरिकासँग प्रारम्भिक सम्झौता खोजिरहेको बताइएको छ,जसले यसलाई अगस्ट १ को समयसीमाभन्दा अगाडिनै १०% कर दरमा लक गर्न सक्ने अनुमान गरिएको छ ।

सेफकोभिकले भने, कि यदि त्यो नयाँ कर दर अगस्ट १ मा लागू गरियो भने युरोपियन ब्लकको लागि अमेरिकासँगको व्यापारको हालको स्तर जारी राख्न “लगभग असम्भव” हुनेछ।

“यदि ट्यारिफ ३० (प्रतिशत) भन्दा बढी रह्यो भने, हामीलाई थाहा भए अनुसार व्यापार जारी रहने छैन, एट्लान्टिकका दुवै छेउमा ठूलो नकारात्मक प्रभाव पर्नेछ,” उनले थपे। “म यो अति-नकारात्मक परिदृश्यलाई रोक्नको लागि सक्दो गर्नेछु।”

ट्रम्पद्वारा रुसलाई ५० दिनको समयसीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिन भित्र युक्रेन द्वन्द्व अन्त्य गर्न सम्झौता नभएसम्म रुसका व्यापारिक साझेदारहरूमाथि १००% सम्मको “गम्भीर” कर लगाउने धम्की दिएका छन्।

ट्रम्पले सोमबार ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँगको भेटमा सो चेतावनी दिएका हुन्।

“हामी धेरै, धेरै दुखी छौं – म – [रूस] सँग, र यदि हामीसँग लगभग ५० दिनमा सम्झौता भएन भने हामी धेरै कडा कर लगाउनेछौं,” उनले भने।अमेरिकी राष्ट्रपतिले रुसमाथि कडा प्रतिबन्ध लगाउने कंग्रेसनल विधेयकको पनि स्वीकृति आवश्यक नपर्ने बताएका छन्। ट्रम्पले यो पनि घोषणा गरे कि अमेरिकाले नेटो मार्फत युक्रेनमा हतियार पठाउनेछ, जसले भुक्तानी र वितरण दुवैलाई सम्हाल्नेछ।