अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरण बन्दविरुद्ध पत्रकार महासंघको ७२ घण्टे अल्टिमेटम

काठमाडौं – महिना दिनदेखि ठप्प रहेको अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सेवा पुनः सुचारु गर्न पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ७२ घण्टे अल्टिमेटम दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्व टोलीले मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाउँदै तत्काल समाधानको माग गरेका थिए। ज्ञापन पत्रमा भने अनुसार, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी दिइएको छ।

२०४८ को छापाखाना तथा प्रकाशन ऐनलाई सरकारले संशोधन गरी अनलाइन सञ्चारमाध्यमको दर्ता–नवीकरण स्थानीय प्रशासनमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। तर नियमावली नबनेका कारण सेवा ठप्प भएको हो। महासचिव रामप्रसाद दाहालका अनुसार संघीय सरकार अन्तर्गत दर्ता भएका चार हजार पाँच सयभन्दा बढी अनलाइन सञ्चारमाध्यमको नवीकरण नहुँदा विज्ञापन कारोबार, प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र दैनिक समाचार संकलनमा समस्या परेको छ।

मन्त्री गुरुङले भने, “कानुन बनिसकेको छ, ७२ घण्टाभित्र तुरुन्त संशोधन गर्न सक्दैनौं। नियमावली बनिसकेपछि मात्र स्थानीय प्रशासनमार्फत दर्ता–नवीकरण सम्भव हुनेछ।” सचिव राधिका अर्यालले नियमावली बनाउने काम अगाडि बढाइरहेको र सहमति पाएपछि कानुन मन्त्रालयमा पठाइने जानकारी दिइन्।

प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहितको विधेयकविरुद्ध कोशीमा पत्रकार महासंघको आन्दोलन

विराटनगर – “कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१” को विरोधमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले चरणबद्ध आन्दोलन सुरु गरेको छ।

दण्ड र जरिवानाको कठोर प्रावधानसहित विधेयक पारित गर्ने तयारी भएपछि महासंघले सोमबारदेखि आन्दोलनको घोषणा गरेको हो। महासंघले उक्त विधेयक संविधानको मर्म र प्रेस स्वतन्त्रताविरुद्ध रहेको भन्दै सच्याउन माग गरेको छ।

महासंघले भदौ १३ सम्मका लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

आन्दोलनका कार्यक्रम:

भदौ ९ (आज): सामाजिक सञ्जालमा खबरदारीसहित पोस्ट गर्ने।

भदौ १०: मुख्यमन्त्री, मन्त्री र दलका नेताहरूसँग भेटेर सच्याउन ध्यानाकर्षण गराउने।

भदौ ११: प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाउने।

भदौ १२: मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना।

भदौ १३: विराटनगरको देवकोटा चोकमा दिउँसो १ बजे १ घण्टा धर्ना।

प्रेस स्वतन्त्रतालाई संकुचित र नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक

काठमाडौँ — सरकारले मिडिया काउन्सिललाई आफ्नो नियन्त्रणमा राख्ने गरी ल्याएको विधेयकले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारलाई संकुचित बनाउने देखिएको छ । काउन्सिलका अध्यक्षसहितका पदाधिकारीको नियुक्ति र बर्खास्तगीमा सरकार हाबी रहने गरी विधेयक बनाइएको छ ।

उक्त प्रावधानले काउन्सिलको स्वायत्तता कायम नरहने देखिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार हकको संरक्षण, संवर्द्धन र प्रवर्द्धनसहित पत्रकार आचारसंहिता जारी गरी त्यसको कार्यान्वयन गर्ने मुख्य भूमिका काउन्सिलको हो । तर काउन्सिलका पदाधिकारी आफूलाई नियुक्ति गर्ने सरकारप्रति जवाफदेही हुने भएकाले सरकारको चाहनाभन्दा फरक तथा स्वतन्त्र ढंगले काम गर्न सक्ने स्थिति नरहने देखिएको छ ।

सञ्चारमाध्यमको नियमन गर्ने स्वतन्त्र निकाय मिडिया काउन्सिल आफूमातहत रहने गरी सरकारले विधेयक अघि बढाएको छ । काउन्सिल अध्यक्षको नियुक्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको सिफारिसमा सरकारले गर्ने प्रावधान विधेयकमा समेटिएको छ । जबकि काउन्सिल अध्यक्षको योग्यता सर्वोच्च अदालतका न्यायाधीशसरहको हुने भनिएको छ । सञ्चार मन्त्रालयले राखेको सोही प्रावधान राष्ट्रिय सभाबाट पारित भएको छ ।

विधेयक अहिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । समितिका सभापति अम्मरबहादुर थापाले काउन्सिल अध्यक्षको नियुक्ति मन्त्रालयका सचिवले गरेको सिफारिसका आधारमा हुने गरी राष्ट्रिय सभाबाट पास भएको विधेयक समितिमा आएको बताए । ‘काउन्सिलका अध्यक्षको नियुक्ति गर्न सञ्चार सचिवको संयोजकत्वमा सिफारिस समिति बन्ने, सोही समितिले गरेको सिफारिसका आधारमा सरकारले नियुक्त गर्ने खालको विधेयक राष्ट्रिय सभाबाट पास भएको रहेछ । विधेयक समितिमा आइपुगेको छ,’ उनले भने ।

सञ्चार मन्त्रालयले गत १२ वैशाखमा ‘मिडिया काउन्सिल विधेयक, ०८०’ राष्ट्रिय सभामा दर्ता गरेको थियो । विधेयकमा काउन्सिलको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने भनिएको छ । नियुक्ति हुनुअघि मन्त्रालयको सचिवको नेतृत्वमा सिफारिस समिति गठन हुने र सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने विधेयकको दफा ६ को उपदफा २ मा उल्लेख छ । ‘उपदफा (१) बमोजिम काउन्सिलको अध्यक्ष र खण्ड (घ) र (ङ) बमोजिमका सदस्य नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा नेपाल सरकारले तोकेको विज्ञ सदस्य एकजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहनेछ,’ दफामा भनिएको छ ।

अध्यक्षका लागि आवश्यक योग्यता भने सर्वोच्च अदालतको न्यायाधीश वा पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको व्यक्ति भनिएको छ । विधेयकको दफा ७ को घ मा भनिएको छ, ‘अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको वा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको र पत्रकारिताको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभवसहित सो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको हुनुपर्नेछ ।’

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा छलफलका लागि दर्ता भएको सोही विधेयक हो । समिति सभापति थापाले काउन्सिल अध्यक्ष प्रतिनिधिसभाका सभामुख वा लोकसेवा आयोगका प्रमुख आयुक्तको सिफारिसमा सरकारले नियुक्त गर्ने गरी सुझाव आएको बताए । ‘विधेयकमा दफाबार छलफल हुँदै छ । भोलि पनि यही विषयमा छलफल राखिएको छ । काउन्सिलको अध्यक्ष सभामुखको सिफारिसमा सरकारले नियुक्त गर्ने खालका सुझाव आएका छन्,’ उनले भने ।

मिडिया काउन्सिल विधेयक तयार गर्नुअघि मन्त्रालयले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिले काउन्सिल संसद्मातहत रहने सुझाव थिएको थियो । त्यसो हुँदा काउन्सिल अध्यक्षको नियुक्ति राष्ट्रिय सभाका अध्यक्षले गर्ने मस्यौदामा प्रस्ताव गरिएको थियो । तर, सञ्चार मन्त्रालयले त्यसलाई हटाएर मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले काउन्सिल अध्यक्ष नियुक्त गर्ने प्रावधानमा विधेयकमा राखेको थियो ।

‘मिडिया काउन्सिल मुलुकभरका सबै सञ्चारमाध्यमलाई नियमन गर्ने निकाय हो । यो स्वतन्त्र रहनुपर्छ । सोही सिद्धान्तमा टेकेर हामीले काउन्सिल संसद्मातहत रहनुपर्ने सुझाव दिएका थियौँ । र, काउन्सिल अध्यक्षको नियुक्ति राष्ट्रिय सभाका अध्यक्षले गर्ने भनिएको थियो । तर, त्यो प्रावधान मन्त्रालयले हटायो । अहिले मन्त्रालयका सचिवको सिफारिसमा सरकारले काउन्सिल अध्यक्ष नियुक्त गर्ने प्रावधान राखिएको छ । यो बिल्कुल गलत छ,’ सूचना आयोगका प्रमुख आयुक्त आचार्यले भने । उनले काउन्सिल अध्यक्षको योग्यता सर्वोच्चको न्यायाधीशसरहको हुने भएकाले उसको नियुक्ति मन्त्रालयका सचिवको सिफारिसमा हुने प्रावधान युक्तिसंगत नहुने बताए ।

नेपाल पत्रकार महासंघले पनि काउन्सिल संसद्मातहत नै रहनुपर्ने सुझाव दिएको थियो । तर, मन्त्रालयले काउन्सिललाई सरकारको सचिवमातहत राख्ने गरी विधेयक अघि बढाएपछि महासंघले पटक–पटक ध्यानाकर्षण गराएको थियो । ‘मिडिया काउन्सिल स्वतन्त्र रहनुपर्छ । त्यसो हुँदा यो सरकार नभई संसद्मातहत रहने गरी हामीले सुझाव दिएका थियौँ । तर, सरकारले त्यसलाई मानेन । हामीले आन्दोलन गर्‍यौँ । अहिले काउन्सिललाई सरकारकै मातहत राख्ने राख्ने गरी विधेयक अघि बढेको छ । यसमा महासंघको आपत्ति छ,’ महासंघका महासचिव रामप्रसाद दाहालले भने ।

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल

हेटौंडमा सम्पन्न नेपाल प्रेस युनियनको नवौँ अधिवेशनबाट शिव लम्साल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

गुटगत बाछिटा देखिएको प्रेस युनियनको अधिवेशनमा संस्थापन पक्षबाट उम्मेदवार बनेकी अनिता बिन्दूलाई पराजित गर्दै शिव लम्साल विजयी हुनुभएको छ। विजयी अन्य कार्यसमितिका पदाधिकारीहरुमा पनि इतर समुहकै वर्चस्व देखिएको छ।

महासचिवमा लम्साल प्यानलबाटै दिलीप पौडेल विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सोहि प्यानलका प्रेम केसी र खुला उपाध्यक्षमा इतर समुहकै नकुल अर्याल विजयी भएका छन्।
त्यसैगरी,खुला उपाध्यक्षमा विजयी भीष्मराज ओझा र कोषाध्यक्षमा विजयी माधव धितालले भने संस्थापन पक्षको तर्फबाट जित हाँसिल गर्न सफल भएका छन्।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु

नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु भएको छ ।


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा अनिता बिन्दु र शिव लम्सालले अध्यक्ष पदकालागि प्रतिस्पर्धा गर्दैछन्।

गुटगत बाछिटा देखिएको नेपाल प्रेस युनियनको महाधिवेशनमा पनि देउवा नेतृत्वको संस्थापन पक्षबाट अनिता बिन्दु र इतर समुहबाट शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

संस्थापन पक्षबाट सरोज अधिकारी वरिष्ठ उपाध्यक्ष, जगन्नाथ दुलाल महासचिव,उपमहासचिवमा केशव सावद,सचिवमा खगेन्द्र भण्डारी,महिला सचिवमा मेनुका ढुंगाना र माधव धिताल कोषाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन।

इतर समूहबाट महासचिवमा दिलिप पौडेल,उपमहासचिवमा विष्णु क्षेत्री, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुल्ला उपाध्यक्षमा नकुल अर्याल, भीष्मराज ओझा र शेखर रेग्मी प्रतिस्पर्धामा देखिएका छन्।

महाधिवेशनमा देशभरका करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागीता रहनेछ।