प्रेस युनियनको अध्यक्षमा शिव लम्साल

हेटौंडमा सम्पन्न नेपाल प्रेस युनियनको नवौँ अधिवेशनबाट शिव लम्साल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

गुटगत बाछिटा देखिएको प्रेस युनियनको अधिवेशनमा संस्थापन पक्षबाट उम्मेदवार बनेकी अनिता बिन्दूलाई पराजित गर्दै शिव लम्साल विजयी हुनुभएको छ। विजयी अन्य कार्यसमितिका पदाधिकारीहरुमा पनि इतर समुहकै वर्चस्व देखिएको छ।

महासचिवमा लम्साल प्यानलबाटै दिलीप पौडेल विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सोहि प्यानलका प्रेम केसी र खुला उपाध्यक्षमा इतर समुहकै नकुल अर्याल विजयी भएका छन्।
त्यसैगरी,खुला उपाध्यक्षमा विजयी भीष्मराज ओझा र कोषाध्यक्षमा विजयी माधव धितालले भने संस्थापन पक्षको तर्फबाट जित हाँसिल गर्न सफल भएका छन्।

पत्रकारिता क्षेत्र देश र जनताप्रति जिम्मेवार रहनुपर्छ : प्रधानमन्त्री

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता क्षेत्र देश र जनताप्रति बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको छ।

हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको सहायताले आफूलाई परिष्कृत गर्दै जिम्मेवार र जवाफदेही बन्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र सुदृढ गर्न प्रेसको भूमिका महत्वपूर्ण हुने भएकाले प्रेस स्वतन्त्रताको आडमा पत्रकारले आफ्नो जिम्मेवारी भुल्न नहुने बताउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री देउवा काठमाडौं फर्किनुभएको छ।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु

नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु भएको छ ।


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा अनिता बिन्दु र शिव लम्सालले अध्यक्ष पदकालागि प्रतिस्पर्धा गर्दैछन्।

गुटगत बाछिटा देखिएको नेपाल प्रेस युनियनको महाधिवेशनमा पनि देउवा नेतृत्वको संस्थापन पक्षबाट अनिता बिन्दु र इतर समुहबाट शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

संस्थापन पक्षबाट सरोज अधिकारी वरिष्ठ उपाध्यक्ष, जगन्नाथ दुलाल महासचिव,उपमहासचिवमा केशव सावद,सचिवमा खगेन्द्र भण्डारी,महिला सचिवमा मेनुका ढुंगाना र माधव धिताल कोषाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन।

इतर समूहबाट महासचिवमा दिलिप पौडेल,उपमहासचिवमा विष्णु क्षेत्री, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुल्ला उपाध्यक्षमा नकुल अर्याल, भीष्मराज ओझा र शेखर रेग्मी प्रतिस्पर्धामा देखिएका छन्।

महाधिवेशनमा देशभरका करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागीता रहनेछ।