अमेरिकाले उत्तर कोरियालाई आणविक शक्ति रूपमा स्वीकार गर्नुपर्छ:किम यो-जोंग

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनकी बहिनी तथा कोरियन वर्कर्स पार्टीकी उच्च पदस्थ नेतृ किम यो-जोंगले अमेरिका अब उत्तर कोरियालाई स्थायी रूपमै आणविक हतियार सम्पन्न राष्ट्रको रूपमा स्वीकार गर्नुपर्ने बताएकी छन्।

राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सीले मंगलबार प्रकाशित गरेको वक्तव्यमा पार्टी केन्द्रीय समितिको उप-महानिर्देशकको रूपमा कार्यरत किमले भनिन्, “अब कुनै पनि सम्भावित वार्ता उत्तर कोरियालाई अपरिवर्तनीय रूपमा आणविक राष्ट्रको रूपमा मान्यता दिइएको आधारमा मात्र हुन सक्छ।”

उनले यो पनि स्पष्ट पारेकी छन् कि किम जोङ-उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको व्यक्तिगत सम्बन्धलाई उत्तर कोरियालाई निशस्त्रीकरण गर्न दबाब दिनका लागि प्रयोग गर्नु अनुचित हुनेछ।

उनले भनिन्, “ट्रम्पको पहिलो कार्यकालको तुलनामा अहिले उत्तर कोरियाको क्षमता र भू-राजनीतिक परिवेश पूर्ण रूपमा परिवर्तन भइसकेको छ, त्यसैले त्यो पुरानो परिवेशमा भएको कूटनीतिक प्रयास अहिले सान्दर्भिक छैन।”

“यदि कोही यो यथार्थलाई अस्वीकार गर्ने प्रयास गर्छ भने त्यो पूर्ण रूपमा अस्वीकार गरिनेछ,” किमले चेतावनी दिँदै थपिन्, “उत्तर कोरिया अहिलेको राष्ट्रिय स्थितिको रक्षा गर्नका लागि कुनै पनि विकल्प अपनाउन खुला छ।”

उनले यसबाहेक यो पनि बताइन कि दुई आणविक राष्ट्रबीच द्वन्द्वको बाटो लिइनु दुबै पक्षका लागि लाभदायक हुने छैन।

किमले भनिन्, “हाम्रो राष्ट्रप्रमुख र वर्तमान अमेरिकी राष्ट्रपतिबीचको व्यक्तिगत सम्बन्ध खराब छैन। तर, यदि यी सम्बन्धहरूलाई निशस्त्रीकरणका लागि प्रयोग गरिन्छ भने, त्यसलाई हामीप्रति गरिएको व्यङ्ग्यका रूपमा मात्र बुझिनेछ।”

वक्तव्यको अन्त्यमा उनले भनिन्, “यदि अमेरिका अहिलेको परिवर्तनलाई स्वीकार गर्न असफल रहन्छ र विगतका असफल रणनीतिमा नै अडिन्छ भने, उत्तर कोरिया र अमेरिकाबीचको वार्ता बैठक केवल अमेरिकाको एकपक्षीय आशामा सीमित हुनेछ।”

डोनाल्ड ट्रम्पले सन् २०१८ देखि २०१९ सम्म उत्तर कोरियाली नेता किम जोङ-उनसँग तीनपटक भेट गरेका थिए, जहाँ उत्तर कोरियाको निशस्त्रीकरणको सट्टामा सुरक्षा ग्यारेन्टी र आर्थिक सहायताको प्रस्ताव गरिएको थियो। तर, ती कूटनीतिक प्रयासहरू ऐतिहासिक भए पनि दीर्घकालीन सहमति कायम हुन सकेन, र वार्ता अवरुद्ध भयो।

उत्तर कोरियासँग हाल अनुमानित ५० वटा आणविक हतियार छन्, र उसले ती हतियारहरूलाई अमेरिका र दक्षिण कोरियाबाट सम्भावित आक्रमणको प्रतिरोधका लागि अत्यावश्यक ‘निवारक शक्ति’ मान्दै आएको छ। यी दुई राष्ट्रले नियमित रूपमा उत्तर कोरियाको सीमावर्ती क्षेत्रमा सैन्य अभ्यास गर्दै आइरहेका छन्।

G-7: अमेरिकी वर्चस्व कायम राख्ने एउटा औजार मात्र हो – उत्तर कोरिया

उत्तर कोरियाली विदेश मन्त्री चो सन-हुईले G-7 मुट्ठीभर अहंकारी देशहरूको बन्द समूह मात्र हो जसले अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्दैन तर अमेरिकी आधिपत्य सुनिश्चित गर्न राजनीतिक उपकरणको रूपमा काम गर्दछ भन्ने अभिव्यक्ति दिएकी छन्।

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणमा G-7 राष्ट्रहरुले गरेको निन्दाको जवाफ दिँदै, उनले भनिन् ,”अमेरिकी विश्व प्रभुत्वको राजनीतिक उपकरणको रूपमा G-7 राष्ट्रहरुले उत्तर कोरियाको सार्वभौमसत्ताको वैध अभ्यासलाई नराम्रो रूपमा निन्दा गरिरहे पनि प्योङयाङले आफ्नो आणविक हतियार कार्यक्रम छोड्ने छैन।”

G-7 राष्ट्रहरुले उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपणको निन्दा र यसको आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रहरूको “पूर्ण, प्रमाणित र अपरिवर्तनीय परित्याग” को लागि आह्वान गरेको एक विज्ञप्ति जारी गरेको तीन दिन पछि चोले उक्त अभिव्यक्ति दिएकि हुन्।

प्योङयाङले गत हप्ता आफ्नो नयाँ विकसित Hwasong-18 इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) को परीक्षण-प्रक्षेपण गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ-अनले नयाँ मिसाइलले देशको आणविक प्रतिरक्षा प्रणालीलाई ठूलो मात्रामा बढाउने दाबी समेत गरेका छन् ।

उत्तर कोरियाको आणविक परीक्षणमा कडा प्रतिक्रिया दिने चेतावनी

उत्तर कोरियाले अर्को आणविक परीक्षणको लागि तयारी गरिरहेको बेला,संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त रुपमा उत्तर कोरियाको अर्को आणविक परीक्षणमा आफ्नो प्रतिक्रिया कडा र अधिकतम रहने जनाएका छन्।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त उच्चस्तरीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार किम सुङ-हानले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा तीन सहयोगी राष्ट्रहरूबाट कडा प्रतिक्रिया आउने बताएका छन् ।

यस अघि नै ६ वटा आणविक परीक्षण गरिसकेको उत्तर कोरियाले यदि आफ्नो सातौं आणविक परीक्षण गर्छ भने, प्रतिक्रिया पक्कै पनि अहिले सम्मको भन्दा फरक हुने पनि उनले बताएका छन्। यधपी उनले उल्लेख गरेको कडा प्रतिक्रिया के हुने र कस्तो प्रकृतिको हुने भन्ने बारे भने खुलाइएको छैन।

उत्तर कोरियाले आफ्नो आणविक हतियारको विकासलाई सबैभन्दा द्रुत गतिमा अगाडि बढाउने वाचा गर्दै परमाणु युद्ध प्रतिरोधक कुनै पनि खतराको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिलाई आफ्नो मुख बन्द गर्न किम जोङ उनकी बहिनीको चेतावनी

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले ,उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम त्यागेमा ठूलो आर्थिक सहायता प्याकेज उपलब्ध गराउने भनि गरेको प्रस्तावको खण्डन गर्दै किम जोङ-उनकी बहिनीले उनलाई आफ्नो मुख बन्द गर्न र बकवास कुरा नगर्न चेतावनी दिएकि छिन्।

उत्तर कोरियाली नेता किम जोङ उनका भाइ र देशको सत्तारूढ दलका एक वरिष्ठ अधिकारी किम यो जोङले आफ्नो आणविक हतियार त्यागको बदलामा सियोलले गर्ने आर्थिक सहायताको प्रस्तावलाई बेतुकको सपना बताएका छन्।

किमले सरकारी सञ्चारमाध्यमले युन सुक येओलको प्रस्तावप्रति गरेको टिप्पणीमा आक्रोश प्रकट गर्दै,कसैले मकैको केकको लागि आफ्नो भाग्य नसाट्ने बताएकी छन्।

”बकवास कुरा गर्नु भन्दा उनको मुख बन्द गर्नु उनको छविको लागि उपयुक्त हुने थियो किनकि उनीसँग भन्नको लागि राम्रो केहि थिएन,” उनले भनिन्।

बाइडेनको प्रस्थान लगत्तै उत्तर कोरियाद्वारा मिसाइल प्रहार


उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा उत्तर कोरियालाई रोक्नको लागि उपायहरू बलियो बनाउने वाचा गरेर अमेरिका फर्किएको एक दिन नबित्दै मिसाइलहरू प्रहार गरिएको थियो।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको छ ।

अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले बाइडेनको भ्रमणको क्रममै उत्तर कोरियाले हतियार परीक्षणको लागि तयार गरिरहेको बारे सावधान भने गराएको बुझिएको छ।
बाइडेनको भ्रमणको क्रममा, बाइडेन र उनका दक्षिण कोरियाली समकक्षी यून सुक-योलले उत्तर कोरियाको तीव्र हतियार परीक्षणहरूलाई रोक्न आवश्यक भएमा ठूलो सैन्य अभ्यास गर्न र थप अमेरिकी रणनीतिक सम्पत्तिहरू तैनाथ गर्न सहमत भएका छन् ।

उत्तर कोरियाद्वारा जापानको सागरमा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले मिसाइल परीक्षण कार्यक्रमलाई तीव्रता दिँदै शनिबार जापानको सागरमा मिसाइल प्रहार गरेको छ।
उत्तर कोरियाले छोटो दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले जनाएको छ। जापानी तटरक्षकले पनि उक्त मिसाइल जापानको पूर्वी सागरमा खसेको पुष्टि गरेको छ। जापानको रक्षा मन्त्रालयले पनि उक्त प्रक्षेपण ब्यालेस्टिक मिसाइल हुन सक्ने बताएको छ । जापानी सार्वजनिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै यो जापानको विशेष आर्थिक क्षेत्र बाहिर आएको जनाएको छ ।

उत्तर कोरियाले प्योङयाङ विरुद्ध कडा नीति लिने वाचा गरेका दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक येओलको शपथग्रहण हुनुभन्दा तीन दिनअघि पनि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २१ मा दक्षिण कोरियाको भ्रमण गर्ने र नवनिर्वाचित राष्ट्रपतिलाई भेट्ने तालिका सार्वजनिक भएपछिको उत्तर कोरियाको मिसाईल प्रहारलाई उसको चेतावनीको रुपमा विश्लेषण गरिएको छ।