बेइजिङ परेड: सी, पुटिन र किम एउटै मंचमा

बेइजिङ – उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ बेइजिङमा आयोजना हुने सैन्य परेडमा एउटै मंचमा देखिने भएका छन्। यो दुर्लभ र प्रतीकात्मक क्षणले सीको बढ्दो कूटनीतिक प्रभावलाई झल्काउँदै विश्व भू-राजनीतिमा नयाँ संदेश दिएको छ ।

सीका लागि यो परेड केवल दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको सम्झना मात्र होइन। यो चीनको शक्ति र प्रभावको प्रदर्शन हो, जसमा उनले बेइजिङलाई आर्थिक मात्र नभई कूटनीतिक शक्तिका रूपमा पनि देखाउन खोजेका छन्।

यो परेड त्यतिबेला हुँदैछ जब एकातिर सी पुटिन र किमलाई आतिथ्य दिन तयारी गर्दैछन् भने अर्कोतिर संयुक्त राज्य अमेरिका युक्रेन युद्ध अन्त्य गराउन रुसलाई दबाब दिन संघर्षरत छ। किमको उपस्थिति अझै महत्त्वपूर्ण छ। सन् १९५९ यता पहिलो पटक उनले चीनको परेडमा भाग लिन लागेका हुन् , जसले बीजिङसँगको सम्बन्धलाई पुनः प्रगाढ रहेको पुष्टि गर्छ।

किमको चीनप्रतिको निर्भरता गहिरो छ। उत्तर कोरियाको करिब ९० प्रतिशत खाद्यान्न आयात चीनमै निर्भर छ। सी र पुटिनसँगै एउटै मंचमा उभिनु किमका लागि विश्व भू-राजनीतिमा उनको स्थान र उनको वैधताको पुष्टि हो भने सीका लागि उत्तर कोरिया र रुस दुवैसँगको सम्बन्धमा आफ्नो प्रभाव देखाउने अवसर हो।

यो समय वाशिङ्टनका लागि पनि संवेदनशील छ। यद्यपि अघिल्ला शिखर सम्मेलनहरू निष्कर्षविहीन भएका थिए, तर हालै आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग पुनः भेट गर्ने इच्छा व्यक्त गरेका छन् र किमसंग आफ्नो सम्बन्ध राम्रो भएको बताएका छन् । ह्वाइट हाउसले, ट्रम्पले अक्टोबरमा दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको पनि जनाएको छ। त्यसो त उनले आगामी चीन भ्रमणको योजना र सो समयमा चीनसँगको व्यापार विवाद, ट्यारिफ शुल्क र टिकटकसम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा रहेको पनि ह्वाइट हाउसले जनाएको छ।

चीनले युक्रेन युद्धमा तटस्थ देखिने प्रयास गरेको छ, तर अमेरिका र उसका सहयोगीहरूले उसलाई रुसलाई सहयोग पुर्‍याएको आरोप लगाएका छन्। सीले पुटिन र किम दुवैसँगको भेटमार्फत आफूलाई अमेरिकासँगको आगामी वार्तामा प्रभावकारी पात्रको रूपमा उभ्याएका छन्।

ट्रम्पका लागि सीसँगको सम्भावित वार्ता अब त्यस्तो नेतासँग हुनेछ, जसको किम र पुटिन दुवैसँग प्रत्यक्ष पहुँच छ। यसले बेइजिङलाई थप कूटनीतिक लाभ दिन्छ। केही विश्लेषकहरूले त भविष्यमा सी, पुटिन, किम र ट्रम्पबीचको संयुक्त बैठकको सम्भावना बारे पनि चर्चा गरेका छन्।

उत्तर कोरियाद्वारा नयाँ क्रुज मिसाइल प्रक्षेपण

उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा धेरै क्रुज मिसाइल प्रहार गरेको छ । प्रक्षेपण सिन्पो बन्दरगाह नजिक भएको थियो। क्षेप्यास्त्रको संख्या र प्रकारबारे कुनै जानकारी नभएको दक्षिण कोरियाको सेनाले बताएको छ।

उत्तर कोरियाको यो नयाँ प्रक्षेपणको रिपोर्ट गर्दै, दक्षिण कोरियाको संयुक्त चीफ अफ स्टाफ ले भनेको छ, “हाम्रो सेनाले उत्तर कोरियाको उक्साहटका थप संकेतहरूको निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकबाट समन्वय गरिरहेको छ”। ।

उत्तर कोरियाली नेता किम जोङ उन हालका महिनाहरूमा आफ्नो नीति निर्देशन र बयानबाजीमा बढ्दो आक्रामक हुँदै आएका र शान्ति कायम राख्ने र सैन्य कारबाहीलाई बढावा दिने उद्देश्यका धेरै सम्झौताहरू अन्त्य गर्दै आएको उत्तर कोरियाले बताएको छ।

प्योङयाङले नयाँ ठोस ईन्धनयुक्त क्षेप्यास्त्र र यसको पानीमुनि आक्रमण गर्ने ड्रोनको परीक्षण गरेको दाबी गरेको छ, जसले परमाणु हतियार बोक्न सक्छ।

यस महिनाको सुरुमा, किम जोङ उनले दक्षिण कोरियालाई “मुख्य शत्रु” को रूपमा नामकरण गर्दै, दक्षिण कोरियासँग पुन: एकीकरणको पूर्व आधारभूत लक्ष्य समाप्त भएको घोषणा गरेका छन् ।यसले उत्तर कोरियाले युद्धको तयारी गरिरहेको भन्दै चिन्ता बढाएको दक्षिण कोरियाले बताएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ,यदि उत्तरले उक्साहट बढाउँदै लगेमा त्यसको कडा जवाफ दिने बताएका छन्।

G-7: अमेरिकी वर्चस्व कायम राख्ने एउटा औजार मात्र हो – उत्तर कोरिया

उत्तर कोरियाली विदेश मन्त्री चो सन-हुईले G-7 मुट्ठीभर अहंकारी देशहरूको बन्द समूह मात्र हो जसले अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्दैन तर अमेरिकी आधिपत्य सुनिश्चित गर्न राजनीतिक उपकरणको रूपमा काम गर्दछ भन्ने अभिव्यक्ति दिएकी छन्।

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणमा G-7 राष्ट्रहरुले गरेको निन्दाको जवाफ दिँदै, उनले भनिन् ,”अमेरिकी विश्व प्रभुत्वको राजनीतिक उपकरणको रूपमा G-7 राष्ट्रहरुले उत्तर कोरियाको सार्वभौमसत्ताको वैध अभ्यासलाई नराम्रो रूपमा निन्दा गरिरहे पनि प्योङयाङले आफ्नो आणविक हतियार कार्यक्रम छोड्ने छैन।”

G-7 राष्ट्रहरुले उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपणको निन्दा र यसको आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रहरूको “पूर्ण, प्रमाणित र अपरिवर्तनीय परित्याग” को लागि आह्वान गरेको एक विज्ञप्ति जारी गरेको तीन दिन पछि चोले उक्त अभिव्यक्ति दिएकि हुन्।

प्योङयाङले गत हप्ता आफ्नो नयाँ विकसित Hwasong-18 इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) को परीक्षण-प्रक्षेपण गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ-अनले नयाँ मिसाइलले देशको आणविक प्रतिरक्षा प्रणालीलाई ठूलो मात्रामा बढाउने दाबी समेत गरेका छन् ।

उत्तर कोरियाको आणविक परीक्षणमा कडा प्रतिक्रिया दिने चेतावनी

उत्तर कोरियाले अर्को आणविक परीक्षणको लागि तयारी गरिरहेको बेला,संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त रुपमा उत्तर कोरियाको अर्को आणविक परीक्षणमा आफ्नो प्रतिक्रिया कडा र अधिकतम रहने जनाएका छन्।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त उच्चस्तरीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार किम सुङ-हानले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा तीन सहयोगी राष्ट्रहरूबाट कडा प्रतिक्रिया आउने बताएका छन् ।

यस अघि नै ६ वटा आणविक परीक्षण गरिसकेको उत्तर कोरियाले यदि आफ्नो सातौं आणविक परीक्षण गर्छ भने, प्रतिक्रिया पक्कै पनि अहिले सम्मको भन्दा फरक हुने पनि उनले बताएका छन्। यधपी उनले उल्लेख गरेको कडा प्रतिक्रिया के हुने र कस्तो प्रकृतिको हुने भन्ने बारे भने खुलाइएको छैन।

उत्तर कोरियाले आफ्नो आणविक हतियारको विकासलाई सबैभन्दा द्रुत गतिमा अगाडि बढाउने वाचा गर्दै परमाणु युद्ध प्रतिरोधक कुनै पनि खतराको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएको छ ।

उत्तर कोरियाद्वारा जापानको सागरमा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले मिसाइल परीक्षण कार्यक्रमलाई तीव्रता दिँदै शनिबार जापानको सागरमा मिसाइल प्रहार गरेको छ।
उत्तर कोरियाले छोटो दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले जनाएको छ। जापानी तटरक्षकले पनि उक्त मिसाइल जापानको पूर्वी सागरमा खसेको पुष्टि गरेको छ। जापानको रक्षा मन्त्रालयले पनि उक्त प्रक्षेपण ब्यालेस्टिक मिसाइल हुन सक्ने बताएको छ । जापानी सार्वजनिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै यो जापानको विशेष आर्थिक क्षेत्र बाहिर आएको जनाएको छ ।

उत्तर कोरियाले प्योङयाङ विरुद्ध कडा नीति लिने वाचा गरेका दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक येओलको शपथग्रहण हुनुभन्दा तीन दिनअघि पनि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २१ मा दक्षिण कोरियाको भ्रमण गर्ने र नवनिर्वाचित राष्ट्रपतिलाई भेट्ने तालिका सार्वजनिक भएपछिको उत्तर कोरियाको मिसाईल प्रहारलाई उसको चेतावनीको रुपमा विश्लेषण गरिएको छ।