पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।

राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेश राख्ने सुविधा दिन माग गर्दै निवेदन दिएका थिए, तर तीन वर्षभन्दा बढी कैद हुनसक्ने अभियोग लागेको भन्दै विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको हो । विशेष अदालतले गत महिना पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटीमा छुटे पनि उनी मुद्दाको तारेखका दिन विशेष अदालतमा उपस्थित भएर हाजिर हुनुपर्छ ।तर राजनीतिक गतिविधिका लागि देशका विभिन्न भागमा जानुपर्ने भन्दै नेपालले वारेश राख्ने सुविधा मागेका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ८९ मा भएको व्यवस्था हेर्ने हो भने भ्रष्टाचार मुद्दा लागेका आरोपितलाई वारेस राख्ने सुविधा हुँदैन ।

तर त्यही ऐनको दफा ९५ मा ‘काबु बाहिरको परिस्थितिले तोकिएको तारिखमा उपस्थित हुन नसक्ने अवस्था सिर्जना भएमा’ वारेसको सुविधा माग्न सक्ने व्यवस्था छ ।

विशेष अदालतले आदेशमा भनेको छ,‘यी प्रतिवादी (माधवकुमार नेपाल)लाई तीन वर्षभन्दा बढी कैद सजाय हुनसक्ने कसुरको अभियोग लागेको देखियो । तसर्थ वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन । कानुनबमोजिम गर्नू ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठ, २०८२ मा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलिको जग्गा सट्टापट्टाको अनुमतिसम्बन्धी निर्णय गर्दा भ्रष्टाचार गरेको आरोप लगाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

१८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबीसहित दायर मुद्दामा विशेष अदालतले उनीमाथि ८ देखि १० वर्षसम्म कैद हुनुपर्ने कानुनी दफा प्रयोग गरेको थियो ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई अनुसन्धानको दायरामा

श्रावण २१, काठमाडौँ- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशससँगै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध छानविन गर्ने बाटो खुलेको छ।

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले नीतिगत निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव कुमार नेपाल लगायत निर्णयमा संलग्न मन्त्रिपरिषदका अन्य पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन बाटो खुलेको हो। सर्वोच्च अदालतको आदेशसँगै नेपाल र भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत संगठित अपराध र कीर्ते दफा अन्तर्गत अनुसन्धान हुने भएको छ ।

यसअघि अख्तियारले मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको भन्दै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।

अहिलेसम्म अनुसन्धान तल्लो तहमा मात्रै सीमिति भएकोमा सर्वोच्चले असन्तुष्टि व्यक्त गर्दै,अनुसन्धानका क्रममा निर्णयकर्तालाई छोड्ने र कार्यान्वयन गर्ने तथा अह्राएको मान्नुपर्ने पदमा रहेकालाई मात्रै तान्दा न्याय र राज्यप्रणालीबाट जनताको भरोसा टुट्ने अदालतको आदेश छ । सर्वोच्च्चको आदेशमा भनिएको छ,’ललिता निवासको जग्गा व्यक्ति विशेषका नाममा नामसारी दाखिल खारेज दर्ता वा मोही कायम हुने गरी मिति २०६६/१२/२९ र मिति २०६७/१/३१, मिति २०६७/४/२८ तथा मिति २०६९/६/१८ को नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरू, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको “पिरामिड” को माथिल्लो तह) बाटसमेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अबिलम्ब सम्पन्न गर्नू/गराउनू ।’

ललिता निवास प्रकरणमा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट १४३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको छ ।

मन्त्रिपरिषद हेरफेर गर्न एकीकृत समाजवादीको दबाव

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीको निर्णय अनुसार तत्काल मन्त्री हेरफेर गर्नुपर्ने बताएको छ।

आज बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने बताएको छ। मन्त्रिमण्डल हेरफेरकै विषयमा आज प्रधानमन्त्री देउवासंग छलफल गर्ने नेता झलनाथ खनालले बताउनुभएको छ।

एकीकृत समाजवादी पार्टीले यसअघि पनि सरकारमा रहेका आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र उनीहरुको सट्टा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई नयाँ मन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णय गरेको थियो।

एमालेसँग एकता वा चुनावी तालमेलको कुनै सम्भावना छैन:माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ।

सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले बाम एकता वा एमालेसँगको चुनावी तालमेलको हल्ला निराधार र सत्य नभएको बताउनुभएको हो। सम्बोधनको क्रममा नेता नेपालले भन्नुभयो ‘गठबन्धन भाँड्न खोज्ने अहंकारी र षड्यन्त्रकारीहरूले यस्ता हल्ला फैलाएका हुन् र नेकपा एमालेसंग कुनै पनि किसिमको एकता वा चुनावी तालमेलको सम्भावना छैन।’

नेपालले ,आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पनि अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने बताउनुभएको छ।

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा सुनुवाइ भएन

माधवकुमार नेपालसहित १४ सांसदलाई बर्खास्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन सकेन ।

माधव नेपालका तर्फबाट वकिलले सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । तर न्यायाधीश अनिलकुमार सिन्हा र सुवेदीले त्यसलाई अस्वीकार गरेका थिए ।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुण्डलको इजलासले रिटलाई पूर्ण सुनुवाइ गर्ने निर्णय गर्दै आजै सुनुवाइ गर्ने आदेश दिएको भएपनि मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ हुन सकेन।

ओलीले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्ने नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न माग गरेका छन् ।