बेइजिङ – उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ बेइजिङमा आयोजना हुने सैन्य परेडमा एउटै मंचमा देखिने भएका छन्। यो दुर्लभ र प्रतीकात्मक क्षणले सीको बढ्दो कूटनीतिक प्रभावलाई झल्काउँदै विश्व भू-राजनीतिमा नयाँ संदेश दिएको छ ।
सीका लागि यो परेड केवल दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको सम्झना मात्र होइन। यो चीनको शक्ति र प्रभावको प्रदर्शन हो, जसमा उनले बेइजिङलाई आर्थिक मात्र नभई कूटनीतिक शक्तिका रूपमा पनि देखाउन खोजेका छन्।
यो परेड त्यतिबेला हुँदैछ जब एकातिर सी पुटिन र किमलाई आतिथ्य दिन तयारी गर्दैछन् भने अर्कोतिर संयुक्त राज्य अमेरिका युक्रेन युद्ध अन्त्य गराउन रुसलाई दबाब दिन संघर्षरत छ। किमको उपस्थिति अझै महत्त्वपूर्ण छ। सन् १९५९ यता पहिलो पटक उनले चीनको परेडमा भाग लिन लागेका हुन् , जसले बीजिङसँगको सम्बन्धलाई पुनः प्रगाढ रहेको पुष्टि गर्छ।
किमको चीनप्रतिको निर्भरता गहिरो छ। उत्तर कोरियाको करिब ९० प्रतिशत खाद्यान्न आयात चीनमै निर्भर छ। सी र पुटिनसँगै एउटै मंचमा उभिनु किमका लागि विश्व भू-राजनीतिमा उनको स्थान र उनको वैधताको पुष्टि हो भने सीका लागि उत्तर कोरिया र रुस दुवैसँगको सम्बन्धमा आफ्नो प्रभाव देखाउने अवसर हो।
यो समय वाशिङ्टनका लागि पनि संवेदनशील छ। यद्यपि अघिल्ला शिखर सम्मेलनहरू निष्कर्षविहीन भएका थिए, तर हालै आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग पुनः भेट गर्ने इच्छा व्यक्त गरेका छन् र किमसंग आफ्नो सम्बन्ध राम्रो भएको बताएका छन् । ह्वाइट हाउसले, ट्रम्पले अक्टोबरमा दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको पनि जनाएको छ। त्यसो त उनले आगामी चीन भ्रमणको योजना र सो समयमा चीनसँगको व्यापार विवाद, ट्यारिफ शुल्क र टिकटकसम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा रहेको पनि ह्वाइट हाउसले जनाएको छ।
चीनले युक्रेन युद्धमा तटस्थ देखिने प्रयास गरेको छ, तर अमेरिका र उसका सहयोगीहरूले उसलाई रुसलाई सहयोग पुर्याएको आरोप लगाएका छन्। सीले पुटिन र किम दुवैसँगको भेटमार्फत आफूलाई अमेरिकासँगको आगामी वार्तामा प्रभावकारी पात्रको रूपमा उभ्याएका छन्।
ट्रम्पका लागि सीसँगको सम्भावित वार्ता अब त्यस्तो नेतासँग हुनेछ, जसको किम र पुटिन दुवैसँग प्रत्यक्ष पहुँच छ। यसले बेइजिङलाई थप कूटनीतिक लाभ दिन्छ। केही विश्लेषकहरूले त भविष्यमा सी, पुटिन, किम र ट्रम्पबीचको संयुक्त बैठकको सम्भावना बारे पनि चर्चा गरेका छन्।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्