तियानजिनमा सी चिनफिङ : विकासशील मुलुकको आवाज बलियो बनाउन पहल

तियानजिन- चिनियाँ राष्ट्रपति सी चिनफिङले तियानजिनमा भइरहेको शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा नयाँ ‘वैश्विक शासनको पहल’ अघि सारेका छन्।

“म वैश्विक शासन पहल अघि सार्न चाहन्छु र सबै मुलुकसँग मिलेर मानवजातिको साझा भविष्य निर्माण गर्ने, अझ न्यायसंगत र समान अन्तर्राष्ट्रिय प्रणाली बनाउन चाहन्छु,” राष्ट्रपति सीले विस्तारित बैठकमा भने।

उक्त पहलअनुसार, मुलुक सानो वा ठूलो, बलियो वा कमजोर, धनी वा गरिब जे भए पनि सबैलाई समान सहभागिता र अवसर सुनिश्चित गर्नुपर्ने बताइएको छ। “हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई लोकतान्त्रीकरण गर्नुपर्छ र विकासशील मुलुकहरूको प्रतिनिधित्व र आवाजलाई मजबुत बनाउनुपर्छ,” सीले जोड दिए।

चिनियाँ नेताले अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त पालना गर्नुपर्ने र दोहोरो मापदण्ड तथा कुनै देशले आफ्नो आन्तरिक नीतिलाई अरूमाथि थोपर्ने अभ्यास अस्वीकार्य भएको उल्लेख गरे।

उनले वैश्विक शासन परामर्श, स्रोतको साझेदारी र सामूहिक निर्णयमा आधारित हुनुपर्ने बताए। यसले सबै मुलुकले लाभ लिन सक्ने वातावरण सिर्जना गर्ने र उत्तर-दक्षिणबीचको विकास अन्तर घटाउने लक्ष्य राखिएको छ।

तियानजिनमा चलेको एससीओ शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन,उत्तर कोरियाली नेता किम, भारतीय प्रधानमन्त्री मोदी र २० भन्दा बढी देशका राष्ट्रप्रमुख र १० अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका ओली १८ गते बुधबारसम्म चीनमा रहनेछन। एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ ।

ओलीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् ।

ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली बेइजिङ्ग परेडमा समेत सहभागी हुने भनिएको छ । ओली प्रधानमन्त्री भएपछिको यो उनको दोस्रो चीन भ्रमण हो ।

बेइजिङ परेड: सी, पुटिन र किम एउटै मंचमा

बेइजिङ – उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ बेइजिङमा आयोजना हुने सैन्य परेडमा एउटै मंचमा देखिने भएका छन्। यो दुर्लभ र प्रतीकात्मक क्षणले सीको बढ्दो कूटनीतिक प्रभावलाई झल्काउँदै विश्व भू-राजनीतिमा नयाँ संदेश दिएको छ ।

सीका लागि यो परेड केवल दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको सम्झना मात्र होइन। यो चीनको शक्ति र प्रभावको प्रदर्शन हो, जसमा उनले बेइजिङलाई आर्थिक मात्र नभई कूटनीतिक शक्तिका रूपमा पनि देखाउन खोजेका छन्।

यो परेड त्यतिबेला हुँदैछ जब एकातिर सी पुटिन र किमलाई आतिथ्य दिन तयारी गर्दैछन् भने अर्कोतिर संयुक्त राज्य अमेरिका युक्रेन युद्ध अन्त्य गराउन रुसलाई दबाब दिन संघर्षरत छ। किमको उपस्थिति अझै महत्त्वपूर्ण छ। सन् १९५९ यता पहिलो पटक उनले चीनको परेडमा भाग लिन लागेका हुन् , जसले बीजिङसँगको सम्बन्धलाई पुनः प्रगाढ रहेको पुष्टि गर्छ।

किमको चीनप्रतिको निर्भरता गहिरो छ। उत्तर कोरियाको करिब ९० प्रतिशत खाद्यान्न आयात चीनमै निर्भर छ। सी र पुटिनसँगै एउटै मंचमा उभिनु किमका लागि विश्व भू-राजनीतिमा उनको स्थान र उनको वैधताको पुष्टि हो भने सीका लागि उत्तर कोरिया र रुस दुवैसँगको सम्बन्धमा आफ्नो प्रभाव देखाउने अवसर हो।

यो समय वाशिङ्टनका लागि पनि संवेदनशील छ। यद्यपि अघिल्ला शिखर सम्मेलनहरू निष्कर्षविहीन भएका थिए, तर हालै आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग पुनः भेट गर्ने इच्छा व्यक्त गरेका छन् र किमसंग आफ्नो सम्बन्ध राम्रो भएको बताएका छन् । ह्वाइट हाउसले, ट्रम्पले अक्टोबरमा दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको पनि जनाएको छ। त्यसो त उनले आगामी चीन भ्रमणको योजना र सो समयमा चीनसँगको व्यापार विवाद, ट्यारिफ शुल्क र टिकटकसम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा रहेको पनि ह्वाइट हाउसले जनाएको छ।

चीनले युक्रेन युद्धमा तटस्थ देखिने प्रयास गरेको छ, तर अमेरिका र उसका सहयोगीहरूले उसलाई रुसलाई सहयोग पुर्‍याएको आरोप लगाएका छन्। सीले पुटिन र किम दुवैसँगको भेटमार्फत आफूलाई अमेरिकासँगको आगामी वार्तामा प्रभावकारी पात्रको रूपमा उभ्याएका छन्।

ट्रम्पका लागि सीसँगको सम्भावित वार्ता अब त्यस्तो नेतासँग हुनेछ, जसको किम र पुटिन दुवैसँग प्रत्यक्ष पहुँच छ। यसले बेइजिङलाई थप कूटनीतिक लाभ दिन्छ। केही विश्लेषकहरूले त भविष्यमा सी, पुटिन, किम र ट्रम्पबीचको संयुक्त बैठकको सम्भावना बारे पनि चर्चा गरेका छन्।