ब्राजिलमाथि अमेरिकी करको चीनद्वारा आलोचना

चीनले अमेरिकाले ब्राजिलमाथि लगाएको “अस्थायी र अस्थिर” शुल्कको कडा आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व ब्राजिलेली राष्ट्रपति जायर बोल्सोनारोमाथि लागेको मुद्दा रब्रिक्स समूहमा ब्राजिलको निरन्तर सहभागितालाई कारण देखाउँदै यो कदम चालेका थिए।

चिनियाँ विदेश मन्त्री वाङ यीले ब्राजिलको “सार्वभौमिकता र गरिमा जोगाउने” अधिकारमा चीनको दृढ समर्थन रहने बताए। उनले ब्राजिलमाथि “धम्कीपूर्ण” शुल्क लगाउने कदमको विरोध गर्दै, विशेषगरी ब्रिक्स मार्फत, ग्लोबल साउथका मुलुकबीच सहकार्य बढाउन आह्वान गरे।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका वरिष्ठ सल्लाहकार सेल्सो अमोरिमसँगको फोनवार्तामा वाङले शुल्कलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको चार्टर र डब्लुटिओ नियमविरुद्ध भएको र “अलोकप्रिय तथा अस्थिर” कदम भएको बताए।

जुलाई अन्त्यमा ट्रम्पले सबै ब्राजिलेली सामानमा ५०% शुल्क लगाउने घोषणा गरेका थिए। उनले बोल्सोनारोमाथिको मुद्दा रब्रिक्सको अमेरिकी डलरको प्रभुत्व कमजोर पार्ने प्रयासप्रति चिन्ता व्यक्त गरेका थिए।

राष्ट्रपति लुलाले ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गर्दै उनलाई “विश्वका सम्राट होइन” भनेका छन् र संयुक्त प्रतिक्रिया बनाउन ब्रिक्स बैठकको प्रस्ताव गरेका छन्।

ट्रम्पले चीनमा पनि यस्तै शुल्क लगाउने संकेत दिएका छन्। यसअघि उनले भारतमाथि २५% शुल्क बढाएका थिए र चीन तथा भारत दुवैलाई युक्रेन युद्धका बीच रूसी तेल आयात गरेको भन्दै आलोचना गरेका थिए। मस्कोले भने यी धम्कीहरूलाई अस्वीकार गर्दै कुनै पनि सार्वभौम मुलुकले आफ्नो व्यापारिक साझेदार स्वतन्त्र रूपमा छान्ने अधिकार हुने जनाएको छ।

नेपाललाई भूराजनीतिक खेलमा समावेश गर्ने कुनै पनि प्रयासको हामी विरोध गर्छौँ: चीन

चीनले नेपाललाई भूराजनीतिक खेलमा सामेल गर्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कासँगको भेटमा नेपालको मामिलामा नेपालीले निर्णय गर्नुपर्ने बताएका छन् ।

‘नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा आँच पु¥याउने, अन्तरिम मामिलामा हस्तक्षेप गर्ने र भू–राजनीतिक खेलमा देशलाई सामेल गर्ने कुनै पनि प्रयासको हामी विरोध गर्छौँ,’ उनले भने ।

चीनको नेपालको आन्तरिक अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने बताउँदै यीले दुई देशको सम्बन्ध दुई देशका नेताले निर्णय गरेको दिशामा अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय परिस्थिति अनुरूप नेपालको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताको आधारभूत र दीर्घकालीन हितका लागि नेपालका सबै राजनीतिक दललाई सामूहिक छलफल र परामर्शमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्कने

चिनियाँ विदेशमन्त्री यी आज दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

त्यसैगरी यीले आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने भएका छन् । चिनियाँ विदेशमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसँग बिहान ११ः१० देखि ११ः४० बजेसम्म भेटवार्ता गर्ने कार्यक्रम छ ।

अन्त्यमा चिनियाँ विदेशमन्त्री वाङले दिउँसो ११ः४५ देखि १२ः१५ बजेसम्म सत्तारुढ नेकपा–माओवादी केन्द्रीय समितिका अध्यक्ष प्रचण्डसँग भेट गर्नेछन् ।

विदेशी स्रोतका अनुसार विदेशमन्त्री वाङको नेतृत्वमा रहेको २५ सदस्यीय प्रतिनिधिमण्डलमा दुई चिनियाँ सहायक मन्त्री र उच्च सरकारी अधिकारीहरु रहेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि उच्चस्तरीय बैठकमा सहभागीता जनाउनुभएको छ ।

यसअघि शनिबार वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए ।

नेपाल र चीनबीच नौ बुँदे सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच केरुङ–काठमाडौं रेलमार्ग विस्तारलगायत नौवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौ बुँदे सहमति भएको छ । नेपालका परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीको उपस्थितिमा आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा नेपाल र चीनबीच नौ बुँदे सहमति भएको हो ।

सम्झौता हुनुअघि परराष्ट्रमन्त्रीस्तर र प्रतिनिधिमण्डल तहमा पनि छलफल भएको थियो ।सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, नेपालमा चिनियाँ स्वास्थ्यकर्मीको टोलीले सेवा उपलब्ध गराउने, भ्याक्सिन हस्तान्तरण र अरनीको राजमार्गको मर्मतसम्भार र स्तरोन्नति र घाँस निकासीलगायतका विषय समेटिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका परराष्ट्रमन्त्री आइतबार स्वदेश फर्कने छन् ।

चिनियाँ विदेशमन्त्री वाङले आज दिउँसो औपचारिक भेटवार्ता सुरु गर्ने

नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले आज दिउँसो औपचारिक वार्ता सुरु गर्ने भएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा खड्काबीच शनिबार दिउँसो ३ः३० देखि ३ः४५ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा वान टु वान भेटवार्ता हुनेछ ।त्यसपछि साँझ ५:१५ देखि ५:३० सम्म नेपाल र चीनबीच कम्तीमा १० वटा एमओयूमा हस्ताक्षर हुनेछ ।

केरुङ–काठमाडौं रेलमार्ग, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे–केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन तथा परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनमा विकसित घाँस निकासी र भरतपुर अस्पताललाई चिनियाँ सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमि सुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन् । बैठकमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्रीसँग बालुवाटारमा भेटघाट
परराष्ट्रमन्त्री खड्कासँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम तय भएको छ ।उनले प्रधानमन्त्री देउवासँग साँझ ५ः४५ देखि ६ः१५ बजेसम्म शिष्टाचार भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवाको उपस्थितिमा तत्कालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न घोषणा गरिनेछ । पोखरा विमानस्थल चिनियाँ सहयोगमा निर्माण भएको हो ।

परराष्ट्रमन्त्री खड्काले शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रिभोज आयोजना गर्नेछन् ।

आइतबार
चिनियाँ विदेशमन्त्रीले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिहान ११ः१० बजेदेखि ११ः४० हयात होटलमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले प्रचण्डलाई होटल हायातमा ११ः४५ देखि १२ः१५ बजे भेट्ने कार्यक्रम छ ।

तीन दिनको नेपाल बसाइपछि चिनियाँ विदेशमन्त्री आइतबार दिउँसो ३ बजे बेइजिङ जाने कार्यक्रम छ ।

विदेशी स्रोतका अनुसार विदेशमन्त्री वाङको नेतृत्वमा रहेको २५ सदस्यीय प्रतिनिधिमण्डलमा दुई चिनियाँ सहायक मन्त्री र उच्च सरकारी अधिकारीहरु रहेका छन् । उच्चस्तरीय बैठकमा नेपालका लागि चिनियाँ राजदूतको पनि सहभागिता रहने छ।

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ। उनी आज भारत हुँदै काठमाडौं आइपुग्नेछन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्कालगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

भेटका क्रममा नेपालले परराष्ट्रमन्त्री वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ नामक पूर्वाधार विकास परियोजनाअन्तर्गतका सहयोग परियोजनाहरू कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

त्यसैले सरकारले विश्वको उदीयमान शक्ति चीनसँगको साझेदारी र सहयोग अभिवृद्धि गर्न नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई आफ्नो एजेण्डा बनाएको छ ।

चिनियाँ राज्य परिषद्का सदस्य समेत रहेका परराष्ट्रमन्त्री वाङ यीको औपचारिक भ्रमणले दुई देशबीचको शताब्दी पुरानो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।