अन्तर्राष्ट्रिय शक्ति सङ्घर्षको केन्द्रबिन्दुमा नेपाल

काठमाडौँ – नेपालले फेरि एकपटक आफ्नो भू–राजनीतिक महत्व विश्वलाई सम्झाएको छ। हालै मात्र प्रधानमन्त्री सुशिला कार्कीले पदभार ग्रहण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन संवाद मार्फत उनलाई शुभकामा दिए । त्यही भेटवार्ताको केही घण्टापछि काठमाडौंस्थित चिनियाँ राजदूत चेन सोङ र अमेरिकी राजदूत डिन थम्पसन दुवैले औपचारिक भेट गर्दै नयाँ प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका छन्। यी तीन शक्तिशाली राष्ट्रका नेताहरूले एकै दिन यति छोटो समयमा नेपालका प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्नु साधारण घटना भने होइन भन्ने बुझिन्छ।

नेपालको भौगोलिक अवस्थिति भारत र चीनजस्ता दुई ठूला मुलुकबीचको सेतु बनेको छ भने अमेरिकाले लामो समयदेखि क्षेत्रीय शक्ति सन्तुलनमा चासो राख्दै आएको छ। यही कारण नेपाल सधैं शक्तिराष्ट्रहरूको ध्यानमा रहने गरेको छ। भारतको प्राथमिकता सीमा सुरक्षासँगै नेपालमा आफ्नो राजनीतिक र सांस्कृतिक प्रभावलाई मजबुत बनाउनेतर्फ केन्द्रित रहेको देखिन्छ । चीन भने नेपाललाई बेल्ट एन्ड रोड इनिसिएटिभ मार्फत दक्षिण एसियामा आफ्नो पहुँच विस्तार गर्ने ढोका ठान्छ। अर्कोतर्फ अमेरिका लोकतान्त्रिक मूल्य र सुरक्षा साझेदारीका नाममा नेपालमा आफ्नो उपस्थितिलाई कायम राख्न इच्छुक देखिन्छ।

प्रधानमन्त्री कार्कीले भारत, चीन र अमेरिकासँगको संवादलाई सन्तुलित ढंगले अघि बढाउनु पर्ने चुनौती तत्कालैको यो परिदृश्यले उजागार पारेको देखिन्छ। नेपालको लागि एकातर्फ भारतसँगको ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउँदै चीनसँगको आर्थिक सहकार्यलाई सन्तुलित राख्नुपर्ने चुनौती छ भने अर्कोतर्फ अमेरिका सँगको विकास सहयोग र सुरक्षासम्बन्धी साझेदारीलाई समेत नेपालले चतुरतापूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यक देखिन्छ।

विशेषज्ञहरूको बुझाइमा नेपालले अब एकपक्षीय दबाब भन्दा बहुपक्षीय कूटनीतिक नीति अवलम्बन गर्नुपर्ने देखिन्छ। छिमेकी तथा शक्तिराष्ट्रको हितलाई बुझ्दै आफ्नो स्वतन्त्र निर्णयक्षमता कायम राख्न सकेमा मात्र नेपालले दीर्घकालीन लाभ पाउनेछ। जलविधुत, पर्यटन, व्यापार मार्ग र प्राकृतिक स्रोतमा आधारित अवसरलाई कूटनीतिक वार्तामा अघि सारेर नेपालले आफूलाई दक्षिण एसियाको स्थायित्व र सहकार्यको केन्द्रको रूपमा प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता बनेको छ ।

नेपालले वर्तमान परिप्रेक्ष्यलाई अवसरका रूपमा लिन सके आफ्नो राष्ट्रिय हित सुरक्षित गर्दै छिमेकी र शक्तिशाली मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न सक्नेछ। नयाँ प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालको कूटनीतिक यात्रा कसरी अघि बढ्छ भन्ने कुराले विश्वको ध्यान नेपालतर्फ केन्द्रित गरेको यो जटिल नेपाली राजनीतिक परिवेश र बढ्दो भुराजनितीक विश्व परिवेशमा नेपालले आफ्नो परराष्ट्र नीतिलाई मजबुत गर्दै स्वतन्त्र र तटस्थ रहने नेपालको परराष्ट्र नीतिलाई मजुबितिका साथ् अवलम्बन गरेर अगाडी बढ्नुपर्ने देखिन्छ।

प्रधानमन्त्री कार्की र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ -अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्।

सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।राजदूत थम्पसनले नेपालको जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै नेपालको शान्तिपूर्ण, लोकतान्त्रिक बाटोमा अगाडि बढ्ने प्रक्रियामा अमेरिकाको समर्थन रहेको पनि बताएका छन्।