निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नतिजासहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस गरिएको छ ।

सातवटै प्रदेशमा १९ सिटका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनको परिणामबाट नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल बन्न पुगेको छ भने काँग्रेस दोस्रो ठुलो पार्टी बन्न पुगेको छ। बाँकी १ सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन ।

कांग्रेससँगको गठबन्धनबारे पुनरावलोकन गर्नुपर्ने : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको गठबन्धनलाई गम्भीरतापूर्वक पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

गृहजिल्ला रोल्पामा माओवादी प्रतिनिधि र जिल्ला स्तरका नेताहरुलाई तालिम दिंदै पुनले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरेका छन् ।उनले हरेक चुनावमा इमान्दारिताका साथ कांग्रेसलाई भोट दिने तर कांग्रेसले घात गरिरहेको बताएका छन्।

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनको नतिजासँगै राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको र कांग्रेससँगको गठबन्धनलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं,’ पुनले भने। ‘काँग्रेससँगको गठबन्धनबाट हामीलाई राजनीतिक रूपमा घाटा वा नाफा के छ ? हरेक चुनावमा कांग्रेसलाई इमान्दारीपूर्वक भोट दियौं र कांग्रेसले धोका दियो भने यो कहिलेसम्म टिक्छ भनेर पुनले प्रश्न गरेका छन्।

यसअघि विभिन्न घटनामा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र सत्ता संघर्षलाई कारणका रूपमा औंल्याउँदै आएको थियो । दुई वर्षअघि कांग्रेसले कोशीबाट राष्ट्रियसभाका उम्मेदवारलाई भोट नदिएर बेइमानी गरेको स्मरण गराउंदै ,शीर्ष नेतृत्व तहमा भएको सहमति विपरीत एमालेसँगको गठबन्धनमा केदार कार्कीलाई कांग्रेसले कोशीको मुख्यमन्त्री बनाएर धोका दिएको बताए ।

उपमहासचिव पुनले आफूभित्र रहेको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न पनि कांग्रेस नेतृत्वसँग माग गरेका छन् । सत्ता गठबन्धन बैठकमा कोशीमा कांग्रेसले गरेको धोकाबारे छलफल हुने उनले बताए ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीले चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएकोमा सिटौला विजयी भए पनि कार्की एमालेकी रुक्मिणी कोइरालासँग हारेकी थिइन ।

नेपाली राजनीतिमा सिटौलाको कम्ब्याक

नेपाली काँग्रेसको तेस्रो खम्बा मानिएका नेता कृष्णप्रसाद सिटौला करिब १ दशक यता सत्ता र शक्तिविहीन जस्तै रहन पुगे। कुनै समय पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिएका सिटौला कोइरालाको निधनपछि, संस्थापन र संस्थापन इतर पछिको नेपाली काँग्रेसको तेस्रो खम्बाका रुपमा समेत देखापरे । तर काँग्रेस सभापती शुशिल कोइरालाको निधन र पार्टीमा शेर बहादुर देउवाको उदयसंगै पार्टीभित्रै उनको वर्चस्व घट्दै गयो। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन देखि देशमा गणतन्त्र स्थापना गर्ने काममा समेत महत्वपुर्ण भूमिका निर्वाह गरेका सिटौला अन्तत:प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटकको हारपछी भने नेपाली राजनीतिमा गुमनाम जस्तै रहे। तर लामो समय राजनीतिक सत्ता र शक्तिको स्वाद चाखिसकेका सिटौला सत्ता र शक्तिबाट लामो समय टाढा रहन नसक्ने महसुस गरेर होला सायद, राष्ट्रिय सभाको बाटो हुँदै उनि पुन: सत्ता र शक्तिको बाटोमा देखापरेका छन्।

सत्ता गठबन्धनका साझा उम्मेद्वारको रुपमा राष्ट्रिय सभाको निर्वाचनमा उभिएका उनलाई यो पटक भने कसैले हराउन सकेन। सिटौला ५ हजार दुई सय ९२ मतभारसहित निर्वाचित हुँदा, एमालेको समर्थनमा उनको प्रतिद्वन्दीका रुपमा चुनावी मैदानमा उत्रिएका राप्रपाका उम्मेदवार उद्धव पौडेलले चार हजार पाँच सय ६२ मतभार मात्र प्राप्त गरे ।

राष्ट्रिय सभा सदस्यमा विजयी भएर नेपाली राजनीतिमा पुनरागमन गरेका सिटौलाको यात्रा सम्भवत: यो जित भन्दा अझै अगाडी जाने देखिन्छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यहि फागुन २० गते सकिँदैछ । त्यस लगत्तै रिक्त पदका लागि निर्वाचन हुनेछ । सरकारको मुख्य साझेदार काँग्रेस र दोस्रो ठुलो दल माओवादीको साझा सहमतिमा नै सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरि राष्ट्रिय सभामा ल्याइएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सिटौलाको पक्षमा सकारात्मक देखिएको र गठबन्धनभित्र पनि अध्यक्षमा सिटौलाको नाम टुङ्गो लागिसकेको नेताहरुको बुझाइ रहेको छ।

सुदूरपश्चिम र जनकपुरमा मतगणना सुरु

सुदूरपश्चिम र जनकपुरमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । सात प्रदेशका १४ वटै मतदान केन्द्रमा बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

जनकपुरमा ९९.३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान शान्तिपूर्ण भएको र साँझ ८ बजेसम्म सबै नतिजा आउने जानकारी दिए ।

त्यसैगरी,सुदूरपश्चिम प्रदेशको निर्वाचनमा स्थानीय तहका दुई प्रतिनिधि, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र कैलालीको भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा मतदानमा सहभागी नभएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।सुदूरपश्चिम प्रदेश सभाका ५२ जना सदस्यले मतदान गरेका छन्। त्यस्तै, एक सय ७३ जना स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गरेका प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले जानकारी दिए।

अन्य प्रदेशमा पनि सर्वदलीय बैठक सुरु भएको र अबको केहि घण्टामा सबै प्रदेशमा मतगणना सुरु हुने निर्वाचन आयोगले बताएको छ ।

राष्ट्रियसभाका १९ सिटका लागि आज भएको निर्वाचनको मतगणना हुँदैछ र एक जनालाई राष्ट्रपतिले मनोनयन गर्नेछन् । १९ सिटका लागि आठ टोलीबाट ५१ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

आज राष्ट्रिय सभा निर्वाचन

काठमाडौं – राष्ट्रिय सभाको निर्वाचन आज सातै प्रदेशमा हुँदै छ ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् भने यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।