कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच बाजुरामा झडप

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित अगाउँपानीमा झडप भएको छ। झडपले तनावपूर्ण बनेको स्थिति अझै पनि नियन्त्रण हुन सकेको छैन।

स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै कांग्रेसका कार्यकर्ताहरूले ढुगांमुढा गरेपछि झडप सुरुभएको प्रहरीले जनाएको छ।

झडपपछि पाण्डुसेनस्थित अस्थायी प्रहरी चौकीमा पुगेका समाजवादीका कार्यकर्ताहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरूले प्रहरी चौकी समेत तोडफोड गरेका छन्। स्थिति नियन्त्रणमा लिन अहिले थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

झडपमा १६ जना प्रहरी, र काँग्रेस र समाजवादीका २-२ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।

सत्ता गठबन्धनको शिर्ष नेताहरुको बैठकको ३ बुंदे निर्णय

सत्तारुढ पांच दलका शिर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ बुंदे निर्णय गरेको छ।


शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएको उम्मेद्वारी तत्काल फिर्ता गर्न लगाउने निर्णय गरेको छ। त्यसैगरि गठबन्धनका उम्मेदवार विरुद्ध परेको बागी र स्वतन्त्र उम्मेद्वारी फिर्ता गर्न लगाउने र फिर्ता नगरेको खण्डमा कारवाही गर्ने निर्णय गरेको छ।

five party meeting baluwatar CCbF1YnAXN

साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै आयोगले उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गर्नेछ ।

स्थानीय तहको निर्वाचनका लागि देशभरबाट १ लाख ४१ हजारभन्दा बढी उम्मेदवारहरुले आफ्नो उम्म्द्वारी दर्ता गराएका थिए ।

आयोगले बिहीबार साँझ उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । आज साँझसम्म उम्मेदवारले नाम फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशित गर्नेछ ।

आयोगका अनुसार आज साँझसम्म अन्तिम नामावली प्रकाशन गरेपछि भोलि सम्पूर्ण उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आज जो कोही मतदाताले कुनै पनि उम्मेद्वार विरुद्ध दाबी-विरोध र उजुरी दिन पाउने

स्थानिय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता प्रक्रिया हिजो राति अबेर मात्र सकिएको छ। निर्वाचन आयोगको तालिका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा गएर आज उम्मेद्वार विरुद्ध दाबी/विरोध र उजुरी दिन सक्नेछन ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ ले निर्धारण गरेको उम्मेदवारहरूको योग्यता र आयोगले तोकेको उजुरी दिन सकिने प्रावधानको आधारमा कुनै पनि उम्मेद्वार विरुद्ध उजुरी दिन सकिने व्यवस्था रहेको छ ।

कुनै पनि उजुरीको आधारमा वैशाख १४ र १५ गते उजुरीमाथि छानविन गरेर १५ गते नै उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। त्यसैगरी १६ गते उम्मेद्वारी फिर्ता लिन सकिनेछ भने, १६ गते(अपराह्न) नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरि १७ गते सबै उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

देशभरबाट उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३७ हजार ४३

स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनेको संख्यया १ लाख ३७ हजार ४३ पुगेको छ।

निर्वाचन आयोगले जारि गरेको तथ्यांकअनुसार विभिन्न पालिकाको प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि अध्यक्ष पदको लागि ३ हजार २६४ जना तथा उपाध्यक्ष पदको लागि २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगले जारि गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै उम्मेद्वारी मधेश प्रदेश अन्तर्गत ३४ हजार ७ सय ४७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने, सुदूर पश्चिम प्रदेश अन्तर्गत सबैभन्दा कम ११ हजार ९८जनाले उम्मेद्वारी दिएका छन्।