सरकारको ५ बुँदे प्राथमिकतामा रहेका कामहरु

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले संसदलाई सम्बोधन गर्ने क्रममा सरकारका ५ बुँदे प्राथमिकता र काँग्रेस एमालेबीच भएको ७ बुंदे सहमति सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकतामा वर्षौंदेखि अलपत्र रहेको अथवा पूरा हुन नसकिरहेका परियोजना सम्पन्न गर्नु सरकारको प्राथमिकता रहेको बताउँदै ति परियोजना सम्पन्न गर्न क्षमता अभिवृद्धि, मूल्यांकन, नीतिगत सुधार र रोकिएको भुक्तानी रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले हाल मुलुकले व्यापार घाटा बेहोर्ने नभएर आयात मात्र गर्ने अवस्था रहेकोले अब उत्पादनमा जोड दिने र उत्पादनका विभिन्न क्षेत्रको पहिचान, लगानीको व्यवस्था लगायत कामलाई प्राथमिकता दिन ६ वटा मन्त्रालयबीच समन्वय हुने बताएका छन् ।

देशमा अहिले पनि ६० लाख मानिस गरिबीको रेखामुनि रहेकाले सरकारको अर्को प्राथमिकतामा गरिबी, अभाव र भोकमरीको अन्त्य गरिने र सडकमा रहेका बालबालिकालाई आश्रय दिने अभियान अगाडी बढाउने प्रधानमन्त्रीले बताएका छन् ।

सरकार अभिछिन्न उत्तराधिकारीवाला संस्था भए पनि आवश्यक कार्यक्रम, नीति र बजेटलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षको बजेटमा आवश्यक संशोधन गरिने र भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न भ्रष्टाचार गर्नेहरु एकदिन कानुनको कठघरामा आउँछ भन्ने सन्देश जानेगरी काम गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछी अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै रिट दायर गर्न सर्वोच्च पुगेका छन्।

यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले गरेका छन् ।

रिटमा भनिएको छ, ‘एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो, संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३) को सरकार बन्नु पर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन ।’

दुई पार्टी मिल्दैमा संविधानविपरीत जान नमिल्ने र संविधानतः राष्ट्रपतिले ७६ (३) बमोजिम संसदको ठूलो दलबाट सरकार गठन प्रक्रियामा जानुपर्ने रिटमा उल्लेख गरिएको छ।

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त : सपथ ग्रहण सोमबार बिहान ११ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलको आहवानमा ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

राष्ट्रपति कार्यालयको अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोह सोमबार बिहान ११ बजेको लागि तय गरिएको छ।

ओलीलाई नयाँ प्रधानमन्त्री बनाउने कांग्रेस र एमालेको प्रस्ताव

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेश गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले शुक्रबार साँझ शीतलनिवासमा राष्ट्रपति पौडेलसँगको भेटमा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न दुवै दलका सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । राष्ट्रपति पौडेलले आवश्यक प्रक्रिया पूरा गरी आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने बताइएको छ ।

यसअघि शुक्रबार साँझ राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको दाबी गर्न दलहरुलाई आमन्त्रण गरेका थिए ।

यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मतको प्रस्ताव पेस गरेका थिए । तर, उनको पक्षमा ६३ र विपक्षमा १९४ मत पाएर आवश्यक समर्थन जुटाउन असफल भएका थिए । विश्वासको मत जुटाउन नसकेपछि दाहाल नेतृत्व सरकारबाट बाहिरिएको हो ।

pradhanmantriko dabi

प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा सहभागी नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७७औँ महासभामा सहभागी हुन नाजानुहुने भएको छ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने क्रममा नै प्रधानमन्त्री देउवाले नेपाल र अमेरिकाबीच सौहार्दपूर्ण द्विपक्षीय भ्रमण गर्ने तयारि भैरहेको बेला, नेपालमा निर्वाचनको मिति तय भइसकेको र अमेरिकाबाट द्विपक्षीय भ्रमणका लागि कुनै ठोस मिति तय नभएकाले प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा सहभागी नहुने बताइएको छ।

यसअघि नेपाल र अमेरिकाबीच द्विपक्षीय भ्रमण गर्ने पूर्ण व्यवस्था मिलाइएको थियो । तर नेपाल सरकारले एसपीपीलाई अस्वीकार गरेपछि द्विपक्षीय भ्रमण स्थगित भएको थियो।

प्राप्त जानकारी अनुसार परराष्ट्रमन्त्री नारायण खड्का नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुनेछ । तर अहिलेसम्म कुनै निर्णय भने भइसकेको छैन र आगामी मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सामान्यतया, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूको सरकार प्रमुख वा राष्ट्र प्रमुखले महासभामा भाग लिने र आ-आफ्नो देशको तर्फबाट विश्व मञ्चमा आफ्नो विचार व्यक्त गर्ने गर्दछन् ।