सच्चिने भन्दापनि सक्किने बाटोमा राजनतिक दल र तिनका नेता !

हिजो सत्तामा छँदा आफुले गरेका गल्ति र कमि कमजोरीहरु प्रति नतमस्तक भएर आफ्ना गल्ति स्वीकार्दै जनता समक्ष माफी माग्नुपर्ने नेताहरु अझै सामाजिक संजालामै खाउँला जसरि कुर्लिन थालेका छन्। पख्लास र हेरौंला , यो माहोल शान्त होस् त्यसपछि देखाइदिन्छु भन्ने खालाका तिनका स्टाटस र अभिव्यक्ति देख्दा यस्तो लाग्छ , राजनतिक दल र तिनका नेता अब सच्चिने भन्दा पनि सक्किने बाटोमा लागेका छन्।

prabha adhikari pharmaceutical scientist
प्रभा अधिकारी
स्वास्थ्यकर्मी

काठमाडौँ- नेपालमा विभिन्न कालखण्डमा विभिन्न आन्दोलनहरु भए। केहि आन्दोलन देशका नाममा, केहि कुनै समुदायका नाममा। यसरी देशमा प्रजातन्त्र, देश, समुदाय या विभिन्न बहानामा धेरै आन्दोलनहरु भए। सात सालको क्रान्ति , ४६ सालको जन आन्दोलन देखि ६२-६३ को आन्दोलन हुँदै “जेन जी” आन्दोलन सम्म आइपुग्दा देश र यो देशको जनताले धेरै अपुरणिय क्षति बेहोरेका छन्। तर देश र जनताका नाममा गरिएका ति कुनै पनि आन्दोलनले देशलाई कुनै सहि मार्गनिर्देश भने गर्न नसकेको देखिन्छ र सायद त्यसैको कारण देश पुन: एकपटक “जेन जी ” आन्दोलनको नाममा जल्न पुग्यो र धेरै नेपाली नागरिकले रगत बगाएर ज्यानको आहुति दिनुपर्यो। सात साल र छयालीस साल हुँदै ६२ -६३ सम्म आइपुग्दा देशले आन्दोलनका नाममा पाएको परिवर्तन भने खासै उपलब्धिमुलक रहेन। जनताको जीविकोपार्जन देखि देशको आर्थिक अवस्था हेर्दा,तुलनात्मक रुपमा हामी संगैका राष्ट्रहरुले प्रगतिको छलाङ्ग मारिसक्दा हामि भने अझै पनि बामे सर्ने अवस्था बाट माथि उठ्न सकेनौँ। देशमा प्रजातन्त्र परिवर्तन भएर लोकतन्त्र भयो , राजमार्गहरु लोकमार्गहरुमा परिणत भए र देश एकीकरण गर्ने राजा- महाराजा हरुको सालिक ढालेर छोटे राजाहरुको सालिक खडा भए , तर देश र जनताको जिवनस्तरमा खासै परिवर्तन भने देखिएन। देश सिंगापुर बनाउँछु भन्नेहरुको जीवनस्तर फेरियो तर देशको अवस्था फ़ेरिएन।

देशमा भ्रष्टाचार संस्थागत हुँदै गयो, आर्थिक रुपमा देश कम्जोर बन्दै गयो। जनताहरु जिविको पार्जन र खान लाउनकै निम्ति खाडी जानुपर्ने स्थितिको सिर्जना भयो। हो उनीहरुले विदेशबाट धेर थोर कमाएर आफ्नो जिविको पार्जन राम्रैसंग गरिरहेका छन् , तर त्यसलाई कुनै एउटा देशले उपलब्धिका रुपमा लिन सक्दैन। भएका उद्योग र कल कारखाना बन्द गरेर देशको युवाशक्ति विदेश पलायन हुनु र उनीहरुले पठाएको रेमिट्यान्सले चलेको देशलाई कुनै नेताले समृद्धिको हुङ्कार दिएर देशको आर्थिक अवस्थाले फड्को मारेको संदेश दिनु केवल मुतको न्यानो मात्र हो।

देशमा चलिरहेको यी यावत अवस्थाहरुको मूल कारण देशमा संस्थागत रुपमा जरो गाडेको भ्रष्टाचार हो भन्ने बुझेका नेपालका युवा पुस्ता “जेन जी ” समुहले भाद्र २३ गते काठमाडौँमा प्रदर्शनको आहवान गरे। सामाजिक सञ्जालबाट आह्वान गरिएको उक्त प्रदर्शन अन्त्यमा काठमाडौँ मात्र नभएर देशभरी नै फैलियो। देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ भनेर सुरु गरेको उक्त शान्तिपूर्ण आन्दोलनमा कुनै अराजक र स्वार्थी समूहहरुको घुसपैठ भएको भन्ने पनि बुझिन्छ। यधपी आन्दोलनलाई नियन्त्रणमा लिने नाममा प्रहरीले अन्धाधुन्द गोलि चलाउँदा सोहि दिन २० निर्दोष नेपालीले ज्यान गुमाउन पुगे भने हजारौंको संख्यामा घाइते भए । त्यो पनि विद्यालय ड्रेसमा हातमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका नेपाली माथि गोलि चलेपछि २४ गतेको आन्दोलनमा देशका सबै उमेरसमूहका नेपाली सडकमा उत्रिए। त्यो दिन नेपालको इतिहासमा कहिल्यै नघटेका घटनाहरु भए। नेताको घर जलाउने र तिनलाई सडकमा दौडाएर कुट्ने देखि , देशका महत्वपूर्ण सार्वजनिक र निजि सम्पतिहरुमा आगजनी र तोडफोड गरियो। देशको सरकार ढल्यो, त्रासमा नेता र मन्त्रीहरुले हतार-हतार राजिनामा दिएर भागे। कति नेताले कुटाइ खाए भने कतिलाई नेपाली सेनाले सुरक्षा दिएर राख्नुपर्ने अवस्था आयो।

देशको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै नेपाली सेनाले देशभर कर्फु जारी गर्यो। देशमा राजनीतिक र प्रशाशनिक भ्याकुम खडा भएपछी अन्त्यमा राष्ट्रपतिले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्यो। ६ महिनामा निर्वाचन गराउने गरि अन्तरिम सरकारले संसद विघटन गरिदियो ।

कार्की नेतृत्वको अन्तरिम सरकारले संसद विघटन गरेसंगै भूमिगत भएका दलका नेता र तिनका आसेपासेहरुले सामाजिक सञ्जालमार्फत संविधान विपरित देशको राजनीति अगाडी बढाएको भनेर आलोचना गर्दै पोष्टहरु सार्वजनिक गर्न थाले। कतिसम्म भने हरेक संविधान दिवसको दिन , कायम संविधानको विरोध गर्दै संविधान जलाउने मदेशी दलहरुले समेत संविधानको हत्या गर्न खोजिएको भन्दै संविधानको रक्षा गर्नुपर्ने भनेर सामजिक सञ्जालम आफ्ना धारणाहरु लेख्न थाले।

यो बिचमा आजको दिनसम्म आइपुग्दा विभिन्न राजनीतिक दलका शिर्ष नेताहरु अझै पनि सेनाको सुरक्षामा नै छन्। तर कार्यकर्तालाई अगाडी-पछाडी राखेर विस्तारै बाहिर निस्किएका केहि नेताहरुले भने “जेन जी ” आन्दोलनको विरोध गर्ने, तिनीहरुलाई धम्कि दिने र संविधानको हवाला दिंदै अन्तरिम सरकारको विरोध गर्न थालेको देखिन्छ। अधिकांश नेताहरुले सामाजिक सञ्जालमा लेखेका पोष्टहरुको तल गरेको कमेन्ट हेर्ने हो भने नेपाली जनताको आक्रोश अझै पनि कम भएको भान हुँदैन। तर हिजो सत्तामा छँदा आफुले गरेका गल्ति र कमि कमजोरीहरु प्रति नतमस्तक भएर आफ्ना गल्ति स्वीकार्दै जनता समक्ष माफी माग्नुपर्ने नेताहरु अझै सामाजिक संजालामै खाउँला जसरि कुर्लिन थालेका छन्। पख्लास र हेरौंला , यो माहोल शान्त होस् त्यसपछि देखाइदिन्छु भन्ने खालाका तिनका स्टाटस र अभिव्यक्ति देख्दा यस्तो लाग्छ , राजनतिक दल र तिनका नेता अब सच्चिने भन्दा पनि सक्किने बाटोमा लागेका छन्।

भाटभटेनी तोडफोड र आगजनीले जन्माएको प्रश्न :चाडवाडको मुखैमा वेरोजगार बनेका दशौँ हजार नेपालीको पिडा !

prabha adhikari pharmaceutical scientist
प्रभा अधिकारी
स्वास्थ्यकर्मी

“जेन जी” पुस्ताको आन्दोलनमा घुसपैठ गरेका केहि स्वार्थी र अराजक समुहले नेपालको सबैभन्दा ठुलो व्यापारिक स्टोर भाटभटेनीका २१ शाखाहरुमा तोडफोड र आगजनी गरेका छन्।  भाटभटेनीमा गरिएको तोडफोड र आगजनी  यो पहिलो पटक भएको भने पक्कै पनि होइन।  यसअघिका हरेक आन्दोलनमा पनि भाटभटेनी र तिनका मालिक मिन बहादुर गुरुङले एउटा नमिठो क्षती बेहोरेका छन्। 

होला मिन बहादुर गुरुङ कुनै एउटा राजनीतिक दल वा पार्टी प्रति आस्था राख्छन, कुनै पार्टीलाई सहयोग गरे होला , त्यो उनको खुशी र स्वतन्त्राको कुरा हो।  तपाइँ हामि पनि त कुनै नै कुनै राजनीतक दलप्रति कुनै विचारप्रति आस्था राख्छौं होला नि, होइन र ?  कसैले फरक आस्था राखेकै भरमा तिनको सम्पति तोडफोड गर्नु र आगजनी गर्नु  के त्यो सहि हो र ?कुनै एउटा अमुक पार्टीलाई सहयोग गर्यो , पार्टीलाई जग्गा दियो वा भवन दियो भन्दैमा कोहि कसैप्रति यति निर्मम कसरि हुन् सक्छ ?  विभिन्न पार्टीलाई सहयोग गर्ने चन्दा दिने अरु पनि त छन् , कि ति सबैको घर र व्यावसाय जलाउदै हिड्न त पक्कै मिल्दैन होला?  आफुले अधिकारको सुनिश्चितताको माग राखेर आन्दोलन गर्न सडकमा उत्रिंदै गर्दा  अरुको पनि त अधिकार हुन्छ भन्ने कुरा बिर्सनु त भएन नि, होइन र ? यहाँ भाटभटेनी त एउटा उदाहरणको रुपमा प्रस्तुत गरेको मात्र हो।  अधिकार खोज्ने नाममा गरिने हरेक प्रदर्शन र आन्दोलनमा नेपालका थुप्रै व्यावसाय माथि हुने गरेको आक्रमण निन्दनीय छ।  त्यसबाट होला ति व्यापारीले २-४ पैसा कमाउलान तर तिनले राज्यलाई तिर्ने कर , वेरोजगार नेपाली नागरिकलाई दिएको रोजगारीले अन्तिम विन्दुमा हुने फाइदा त राज्य र नेपाली  नागरिकलाई नै त होला नि, होइन र?

अब फेरी कुरा गरौँ भाटभटेनी कै।  होला मिन बहादुर गुरुङमाथि भ्रष्टाचारका विभिन्न आरोपहरु छन्।  वा अझ भनौं ल उनले भ्रष्टाचार नै गरे रे।  त्यसको पनि कानुनी कारवाही गर्ने निकाय त होला नि , होइन र?  उनलाई कारवाही गर्ने सवालमा राज्य संयत्र उनीप्रति थोरै मात्रामा पनि लचिलो देखियो भने त्यतिबेला पो सडकमा उत्रिएर सम्बन्धित व्यक्ति र निकायको विरोधमा आन्दोलन गर्दा समस्याको समाधान हुन्छ होला, होइन र ? आफुले न्यायका खातिर सडकमा आन्दोलन गर्दै गर्दा अरुलाई अन्यायमा पार्नु  त हुँदैन होला नि, होइन र?  कुरा भाटभटेनीको  मात्र होइन , यो देशमा व्यापार व्यावसाय गर्ने कुनै पनि व्यक्ति र संस्थामाथि आन्दोलनका नाममा क्ष्यति पुर्याउने काम निन्दनीय छ ।  उसै त देशमा गरिखाने वातावरण विस्तारै कम हुँदैछ , त्यसैमा पनि हरेक पटक हुने यी-यस्ता आन्दोलनमा ति व्यापारिक संस्थामा आक्रमण हुने हो भने भोलि भएका व्यावसाय त बन्द हुन्छन नै, अरु कसैले यो देशमा व्यापार व्यावसाय गर्ने आँट पनि गर्दैन।  अनि – अनि त्यो बेला हातमा पासपोर्ट बोकेर खाडी धाउनु बाहेक को विकल्प के त ? होला अलिकति हुने खाने युरोप-अमेरिका जालान, तर, त्यतिबेला  घर परिवार , आफन्त , चाडबाड सम्झेर फर्किने त यहि देशमा होला ? अनि आझ आगो झोस्दा बन्द हुन पुगेका उद्योग व्यावसायले देशमा पारेको असर त्यो बेला देखिनेछ।  तिनै उधोग र व्यावसायमा रोजीरोटी गरेर आफ्नो गुजारा चलाएका दुखि गरिब नेपालीको आँशुको श्राप लाग्ला-नलाग्ला म भन्न सक्दिन, तर देशको खस्किंदो आर्थिक अवस्थाले थोरै पश्चाताप भने पक्कै लाग्नेछ। देशमै केहि गर्न पाए, दुइ छाक मिठो मसिनो खाएर परिवारसंगै बस्न पाइन्थ्यो भन्ने चेत त्यतिबेला खुल्नेछ।  

 हो हिजोको आन्दोलनमा कति नेताका घर जले, त्यसमा मलाई रतीभर पनि दुख छैन, राज्यका धेरै सम्पति जले ,त्यो हिजो पनि तपाइँ हामीलेनै तिरेको करबाट बनेका हुन् , खरानी बाटै उठेर पनि भोलि फेरी ति संरचना खडा गरौँला , ठिकै छ।  तर यदि यसरि नै आगजनी र तोडफोड गरेर भएका उधोगी व्यापारीहरुलाई हामी खेद्दै जाने हो भने ,मैले अगाडी भनेजस्तै,भएका व्यावसाय त बन्द हुन्छन नै, अरु कसैले यो देशमा व्यापार व्यावसाय गर्ने आँट पनि गर्दैन।अनि भोलि हरेक नेपाली नागरिकले १८ वर्ष काटेपछि पासपोर्ट बोकेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्लेन चढेर उड्नु बाहेक अर्को विकल्प हामीसंग हुनेछैन। 

भाटभटेनीमा तोडफोड र आगजनी गरेपछि हजारौं नेपाली बेरोजगार हुने अवस्थामा पुगेका छन्।  अब उनीहरूको दशैं मात्र होइन, दैनिकी नै संकटमा पारिदिएको छ।

सामान्य मजदुरदेखि क्यासियर, सेल्स स्टाफ, गोदाम कामदारसम्म सबैलाई काम दिलाएर घरको चुलो बाल्ने आधार बनेको यो संस्थानमा भएको आगजनीले उनीहरूलाई अन्धकारमा धकेलेको छ।दशैंको मुखमा तलब र दशैँ भत्ताको आशा गरेका , महिनौं काम गरेर परिवारलाई नयाँ कपडा, मिठाई र चामल ल्याउने सपना देखिरहेका ती कर्मचारी अब निराश भएका छन्। परिवार पाल्न र छोराछोरीको खर्च धान्न कठिन हुने चिन्ता उनीहरूको अनुहारमा प्रष्टै देखिन्छ।

राज्यको अर्थतन्त्रमा योगदान पुर्याउँदै दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध गराउँदै आएको भाटभटेनीलाई पटक–पटक तोडफोड गर्नु केवल एक संस्थामाथि मात्र नभई हजारौं श्रमिकको जीवनमाथि प्रहार गर्नु हो भन्ने तथ्य यस घटनाले फेरि एकपटक प्रमाणित गरेको छ।

अब प्रश्न के हो भने, भाटभटेनी जलाउँदा वा नष्ट गर्दा कसको फाइदा हुन्छ?उनीमाथि लागेको भ्रष्टाचार वा अन्य आरोप कानूनी तरिकाले छानबिन गर्न सकिन्छ, तर भाटभटेनीमा  गरिएको आगजनीले  श्रमिक मात्र रुवाउने अवस्था बनाएको छ।

दशैं आउनै लाग्दा हजारौं परिवारको चुलो निभाउने यस्तो घटनाले आन्दोलनको नाममा हुने आगजनी र तोडफोड अनि त्यसको नैतिकता र उद्देश्यप्रति गम्भीर प्रश्न खडा गरेको छ।आज भाटभटेनीमा भएको क्षति केवल एउटा कम्पनीको मात्र होइन, हजारौं परिवारको पीडा हो।भाटभटेनी त केवल एउटा उदाहरण मात्र हो। आन्दोलन र प्रदर्शनको नाममा राज्यको अर्थतन्त्र नै धाराशायी हुने गरि देशको कुनै पनि उधोगधन्दा र व्यावसायमाथि गरिने तोडफोड र आगजनी निन्दनीय छ।

नेपाली राजनीतिमा महिला: संघर्ष, योगदान र सम्भावनाहरूको चित्र

अब महिला केवल मतदाता होइनन्, नीति निर्माता र रणनीतिक नेतृका रूपमा अगाडि बढ्नुपर्छ….प्रतिनिधित्वमा मात्र महिलाको संख्या बढाएर महिला सशक्तिकरण सम्भव छैन, जबसम्म महिलालाई निर्णय प्रक्रियामा समान सहभागिता दिइँदैन।
प्रभा अधिकारी, स्वास्थ्यकर्मी

प्रभा अधिकारी
स्वास्थ्यकर्मी

नेपालको राजनीतिक इतिहासमा महिलाको भूमिका सदैव ओझेलमा पारिएको एउटा गम्भीर यथार्थ हो। तर, पछिल्ला राजनीतिक परिवर्तनहरूमा उनीहरूको उल्लेखनीय योगदान र साहसिक उपस्थितिले यो धारणा क्रमशः बदलिँदै गएको छ। एक नेपाली नागरिक महिला भएर हेर्दा आजको नेपाली राजनीतिक परिदृश्यमा महिलाको सहभागिता केवल अवसर होइन, लोकतान्त्रिक सन्तुलनका लागि अनिवार्य आवश्यकता हो भन्ने स्पष्ट देखिन्छ। महिलाको उपस्थिति अब वैकल्पिक विषय होइन, यो संवैधानिक अधिकार हो। सत्ता संरचना र राजनीतिक नेतृत्वमा महिलाको उचित समावेशीकरणले मात्र लोकतान्त्रिक मूल्य, पारदर्शिता र उत्तरदायित्वलाई बल पुर्‍याउन सक्छ।

२०४६ सालको जनआन्दोलन, जसले देशमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गर्‍यो, त्यो संघर्षमा महिलाको उत्साहजनक सहभागिता रह्यो। सडकमा नाराबाजी गर्ने, र्‍यालीमा सहभागी हुनेदेखि लिएर आन्दोलनलाई जीवन्त राख्न विभिन्न मोर्चाहरूमा अग्रसर महिला नेतृहरू थिए। त्यस्तै २०६२/०६३ को दोस्रो जनआन्दोलनमा महिलाले प्रदर्शनको अग्रपंक्तिमा उभिएर मात्र होइन, राजनीतिक दलका आन्तरिक मोर्चामा पनि उत्तिकै सक्रियता देखाए। शैलजा आचार्य, साहाना प्रधान, सुषिला कार्की जस्ता अग्रज महिलाहरूले यी आन्दोलनहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए।

यी ऐतिहासिक आन्दोलनहरूको उपलब्धिले नेपालको संविधान २०७२ मा महिलालाई राजनीतिक, सामाजिक र आर्थिक अधिकारको सुनिश्चितता गरायो। संविधानले संघ, प्रदेश र स्थानीय तीनै तहमा महिला सहभागिता अनिवार्य गर्‍यो। यही संवैधानिक प्रावधानका कारण आज संघीय संसद्को प्रतिनिधि सभामा ९२ जना महिला सांसद छन्, जुन झण्डै ३३.४५ प्रतिशत हो। त्यस्तै, पछिल्लो स्थानीय तह निर्वाचनमा करिब १४,४०२ महिला जनप्रतिनिधि निर्वाचित भएका छन्, जुन समग्र स्थानीय प्रतिनिधिको ४१ प्रतिशत बराबर हो।

यद्यपि यी आँकडा सङ्ख्यात्मक रुपमा उत्साहजनक देखिए पनि वास्तविक नेतृत्वमा महिलाको पहुँच भने अझै सन्तोषजनक छैन। राजनीतिक दलका शीर्ष तह, मन्त्रिपरिषद्, संसदीय समिति र नीति निर्माण तहमा महिला प्रतिनिधित्व न्यून छ। राष्ट्रपति र प्रधानन्यायाधीशजस्ता गरिमायुक्त ओहोदामा महिला पुगेका उदाहरणहरू छन्—जसमा विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बनेर दुई कार्यकालसम्म रहीन्। पूर्वप्रधानन्यायाधीश सुषिला कार्कीले पनि आफ्नो कार्यकालमा कानुनी अधिकार र विधिको शासनप्रति निर्भिक दृष्टिकोण प्रस्तुत गरिन्। तर यस्ता उदाहरण औंलामा गन्न सकिने मात्र छन्। यी अपवाद हुन्, नियम होइनन्।

राजनीतिक दलहरू चुनावको बेला घोषणापत्रमा महिला सहभागितालाई उच्च प्राथमिकतामा राख्छन्, तर चुनाव सकिएलगत्तै ती प्रतिबद्धता सेलाउँछन्। महिलाको सहभागिता नीति निर्माण तहमा सुनिश्चित हुन नसक्नु राजनीतिक इच्छाशक्तिको कमी मात्र नभई, गहिरा सामाजिक पूर्वाग्रहको प्रतिबिम्ब हो। शक्ति संरचनामा गहिरो लैङ्गिक असमानता अझै विद्यमान छ। महिलालाई नेतृत्वरूपी भूमिकामा आउन सामाजिक दबाब, पारिवारिक जिम्मेवारी, शिक्षा, आर्थिक पहुँच र राजनीतिक सञ्जालको अभावजस्ता विविध कारणहरूले बाधा पुर्‍याइरहेका छन्। धेरै महिलाहरूले नेतृ बन्ने सपना बोके पनि स्रोत, अवसर र दलभित्रको संरचनागत अवरोधका कारण सक्रिय भूमिकामा आउन सक्दैनन्।

नेपालको राजनीतिक इतिहासमा महिलाले लिएको भूमिका केवल सहभागी मात्र होइन, निर्णायक पनि देखिन्छ। २०४६ को आन्दोलनदेखि २०६३ को जनआन्दोलनसम्म महिलाहरू नारा लगाउने भीड मात्र होइनन्, आन्दोलनको रणनीति तय गर्ने, प्रेस विज्ञप्ति लेख्ने र अन्तरसंवाद गर्ने भूमिकामा समेत सक्रिय थिए। उदाहरणका लागि शैलजा आचार्य नेपाली काँग्रेसको केन्द्रिय नेतृका रुपमा क्रान्तिकारी आन्दोलनदेखि शान्ति प्रक्रियासम्म सक्रिय रहिन्। यस्तै, साहाना प्रधानले कम्युनिष्ट आन्दोलनमा महिलाको नेतृत्वदायी भूमिका निर्वाह गर्दै पटक-पटक मन्त्रिपरिषद् सम्मको नेतृत्व गरेकी थिइन्।

संविधानले महिलालाई समान राजनीतिक अधिकार सुनिश्चित गरे तापनि व्यवहारमा त्यो अधिकार उपयोग गर्न सहज छैन। महिलाको लागि राजनीति अझै पनि अपारदर्शी, खर्चिलो, समयखपत र अनिश्चित भविष्य भएको क्षेत्र हो। दलका निर्णय तहमा महत्त्वपूर्ण छलफलहरू गर्दा महिलालाई प्राथमिकतामा राखिन्न। प्रतिनिधित्वमा मात्र महिलाको संख्या बढाएर महिला सशक्तिकरण सम्भव छैन, जबसम्म महिलालाई निर्णय प्रक्रियामा समान सहभागिता दिइँदैन।

अझै पनि थुप्रै महिला नेतृहरूलाई दलभित्र “क्याडर भर्ना गर्ने” वा “महिला कार्यक्रम सन्चालन गर्ने” जिम्मेवारी दिइन्छ, तर रणनीतिक विषयमा बोल्न दिने वातावरण बनाइँदैन। केही महिलाहरूले नेतृत्व तहमा स्थान बनाए पनि त्यो दलको आन्तरिक शक्ति सन्तुलनका लागि ‘कोटा पूरा’ गर्न गरिएको देखिन्छ। यो प्रवृत्ति महिलाको क्षमता र अनुभवको उपेक्षा मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थाको अपमान पनि हो।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक र भूराजनीतिक रूपले संवेदनशील मुलुकमा राजनीतिक स्थायित्वको लागि समावेशी नेतृत्व अपरिहार्य हुन्छ, र २१औं शताब्दीको नेपालमा जब हामी समावेशी लोकतन्त्रको परिकल्पना गर्छौं, त्यो समावेशिताको केन्द्रमा महिलाको बराबरी उपस्थिति अनिवार्य हुन्छ। महिलालाई सशक्त बनाउने संवैधानिक, कानुनी र संस्थागत संरचना तयार भएतापनि व्यवहारमा ती संरचनाहरूले महिलालाई समान नेतृत्वमा पुर्‍याउन नसकेको देखिन्छ। राजनीतिक तहमा महिलाको बराबरी सहभागिता सुनिश्चित नगरी न सामाजिक न्याय सम्भव छ, न दिगो विकास। सरकार, राजनीतिक दल, नागरिक समाज, मिडिया र आमनागरिकको संयुक्त प्रयास बिना यो सम्भव हुने छैन।

आजको यथार्थमा हामीले राजनीतिक परिवर्तन, लोकतन्त्र र संविधानको जति चर्चा गरिरहेका छौं, त्यसको मर्म र मूल्यलाई संस्थागत गर्न महिला सहभागिता निर्णायक बन्नेछ। एक सामान्य महिला नागरिकको हैसियतले म यो स्पष्ट भन्न चाहन्छु—अब महिला केवल मतदाता होइनन्, नीति निर्माता र रणनीतिक नेतृका रूपमा अगाडि बढ्नुपर्छ। राजनीतिक परिवर्तनका आन्दोलनमा महिलाले दिएको योगदान अब नेतृत्वको जिम्मेवारीमा रूपान्तरित हुनुपर्छ। महिलाको उपस्थिति अब मात्र उपस्थितिको लागि होइन, निर्णायक भूमिकाको लागि हुनुपर्छ।यही बाटोले मात्र समतामूलक, न्यायपूर्ण र दिगो लोकतन्त्रको आधार निर्माण हुन्छ। यो केवल महिलाको लडाइँ होइन, लोकतन्त्रको आधारभूत शर्त हो।