तीज: नेपाली सांस्कृतिक पर्वको परम्परा, आधुनिकता र चुनौती
नेपाल राष्ट्रिय दैनिक
August 26, 2025
आधुनिकता र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै तीज पर्वलाई मौलिकता, आध्यात्मिकता र सामाजिक मूल्यसहित मनाउनु अहिलेको आवश्यकता बनेको छ।
प्रभा अधिकारी स्वास्थ्यकर्मी
नेपालमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू धर्मावलम्बी महिलाहरूले मनाउने हरितालिका तीज धार्मिक, सांस्कृतिक, सामाजिक र पारिवारिक जीवनसँग जोडिएको महत्वपूर्ण पर्व हो। यो पर्व विशेषगरी महिलाहरूको जीवनमा आध्यात्मिकता, सहकार्य, पारिवारिक सम्बन्ध र सामाजिक पहिचानको प्रतीक मानिन्छ। तीज पर्वले नेपाली समाजमा नारीहरूको धार्मिक सशक्तिकरण, सांस्कृतिक चेतना र सामाजिक अनि पारिवारिक सम्बन्धको संवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
तीजको ऐतिहासिक र धार्मिक पृष्ठभूमि परम्पराअनुसार, तीजको व्रत भगवान शिव र देवी पार्वतीको कथा सँग जोडिएको छ। मान्यताअनुसार, हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पति देवको रूपमा प्राप्त गर्न निराहार र निर्जला व्रत बसेकी थिइन्। त्यसै कथाबाट उत्पन्न हुँदै नेपाली महिला दिदी–बहिनीहरूले आफ्नो पति वा भावी पतिसँग दीर्घायु, पारिवारिक सुख–शान्ति र दाम्पत्य जीवनको सफलताको कामना गर्दै व्रत बस्ने परम्परा विकसित भएको हो। अविवाहित महिलाहरूले पनि भगवान शिवजस्तो पति प्राप्त होस् भन्ने आशाका साथ व्रत बस्छन्।
तीजको दिन महिलाहरू विशेष गरी रातो पहिरन लगाउने, हातमा मेहेन्दी लगाउने र नृत्य–गीतको माध्यमबाट रमाइलो गर्ने चलन छ। रातो रंग सौभाग्य, प्रेम र समृद्धिको प्रतीक मानिन्छ। यस पर्वका दिन शिवालय र मन्दिरहरू दर्शनार्थीले भरिन्छन्, र भक्तजनले सामूहिक पूजा, आरती, हवन र गीत–नृत्य गरेर पर्वलाई आध्यात्मिक र सामाजिक रूपमा जगेर्ना गर्दै आएका छन्।
तीजको सांस्कृतिक र सामाजिक मूल्य परम्परागत रूपमा, तीज पर्वले महिलाहरूबीच आपसी सम्बन्ध बलियो बनाउने र सामाजिक सहकार्य बढाउने कार्य गर्दै आएको पाइन्छ । तीजको अघिल्लो दिन ‘दर’ खाने चलन रहेको छ। यसमा ब्रतको अघिल्लो दिन अबेर राती खाइने विभिन्न परिकार, मिठा र खानपिनका वस्तुहरू समावेश गरिन्छ । दर खाने क्रममा महिलाहरू नाचगान गर्दै रमाइलो गर्ने र भोलिपल्टको निराहार–निर्जला व्रत बस्ने गर्दछन।
पुराना समयमा छोरी–चेली, बुहारीहरूले सामाजिक र पारिवारिक दबाब र पीडाको अनुभव गीतको माध्यमबाट व्यक्त गर्ने चलन थियो। माइत जाने अवसर, परिवारसँग भेटघाट र गीत–नृत्यले उनीहरूको पीडा कम गर्न र मानसिक सन्तुलन कायम गर्न सहयोग गर्थ्यो। यसरी तीज केवल धार्मिक पर्व मात्र नभई महिलाहरूको मानसिक र सामाजिक स्वास्थ्यसँग पनि प्रत्यक्ष जोडिएको थियो।
तीजले विशेषगरी महिलाहरूलाई आफ्नो स्वतन्त्रता र शक्ति अनुभव गर्ने अवसर दिन्थ्यो। पर्वले पितृसत्तात्मक संरचनाभित्र महिलाहरूको आवाज सुनिने, अनुभव साझा गर्ने र सामूहिक सहकार्यमा रमाइलो गर्ने वातावरण सिर्जना गर्थ्यो। यसले सामाजिक एकता, सांस्कृतिक पहिचान र आध्यात्मिक चेतनालाई समेत बलियो बनाएको थियो ।
आधुनिक प्रवृत्ति र परम्परामा आएको परिवर्तन
तर पछिल्लो समय तीज मनाउने शैलीमा परिवर्तन आएको छ। अहिलेको युवा पुस्ताले ‘दर’ खाने परम्परालाई नयाँ अर्थ दिन थालेको छ। पुरानो दरमा खाना, मिठाइ र पारिवारिक भेटघाटको महत्व थियो भने अहिले क्लब, पब र सार्वजनिक स्थलमा रातभर मदिरा सेवन गर्दै पार्टी गर्ने चलन बढेको छ।साथै, गीत र नृत्यमा पनि परम्परागत धार्मिक र सामाजिक भाव भन्दा मनोरञ्जन, फेसन र छाडापन प्रधान हुने क्रम देखिएको छ। पहिले जहाँ महिलाहरूको गीतमा जीवनको पीडा, सामाजिक असमानता र पारिवारिक सम्बन्धको व्यथा व्यक्त हुन्थ्यो, आज त्यही गीतहरू केवल मनोरञ्जन र पार्टीका साधनका रूपमा प्रयोग भइरहेका छन्। आजकलको तीजको “दर” अब केवल खानपिनको अवसर नभई महिना दिनअघि देखि सुरु हुने मदिरा र पार्टीको फेसन मात्र बनेको छ। युवा पुस्ताले समाजिक सञ्जाल , फेसन र मनोरञ्जनसँग जोड्दै तीजलाई मौलिक परम्परागत संरचना भन्दा बाहिर लैजान थालेका छन्। यसले हाम्रो सांस्कृतिक र आध्यात्मिक परम्परामा चुनौती उत्पन्न गरेको छ।यस प्रवृत्तिले तीजको आध्यात्मिकता, सामाजिक मूल्य र सांस्कृतिक धरोहरलाई कमजोर पार्ने खतरा सिर्जना गरेको छ।
तीज र महिला सशक्तिकरण
यद्यपि आधुनिक प्रवृत्तिले केही सकारात्मक पक्ष पनि ल्याएको छ। महिला अब सार्वजनिक रूपमा सहभागिता जनाउन र आफ्नो स्वतन्त्रता व्यक्त गर्न सक्षम भएका छन्। तीज पर्वले अब महिला सशक्तिकरणको प्रतीकको रूपमा समेत अर्थ पाएको छ। महिलाहरूले आफ्नो निर्णय क्षमता, स्वतन्त्रता र सामाजिक भूमिकालाई अझ खुल्ला रूपमा प्रदर्शन गर्ने अवसर पाएका छन्। तर महिला सशक्तिकरण र व्यक्तिगत स्वतन्त्रता भनेको परम्परागत मूल्य, सांस्कृतिक अर्थ र धार्मिक अभ्यासलाई विस्थापित गर्नु होइन। आधुनिकता र फेमिनिज्मको बहानामा परम्परागत सांस्कृतिक संरचनामा चुनौती दिनुले , पर्वको मौलिकता र आध्यात्मिक पक्षलाई कमजोर बनाउने खतरा उत्पन्न गर्दछ।
सांस्कृतिक संरक्षणको आवश्यकता हाम्रो समाजमा सांस्कृतिक पर्व केवल रमाइलो वा सामाजिक भेटघाटको माध्यम मात्र होइन, सामाजिक, धार्मिक र पारिवारिक संरचनाको अभिन्न अंग हुन्। तीज पर्वले महिलाहरूको आध्यात्मिक अनुभव, पारिवारिक सम्बन्ध र सामाजिक पहिचानको संवर्द्धन गर्ने काम गर्छ। आजको पुस्ताले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा बढी ध्यान दिएकोले, तीजको मूल स्वरूपमा असर परेको जस्तो भान हुन्छ । त्यसो भन्दैमा धर्म र संस्कृतिको नाममा सकी-नसकी निराहार र निर्जला व्रत बस्नुपर्छ , पतिको खुट्टा धोएको पानि खाएर पतिव्रता भइन्छ भन्ने होइन। तर आधुनिकता र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम राख्दै मौलिक परम्परा, आध्यात्मिकता, पारिवारिक सम्बन्ध र सामाजिक मूल्यलाई जोगाउँदै महिला सशक्तिकरण र व्यक्तिगत स्वतन्त्रताको सन्देशलाई पनि समेट्न सके मात्र तीज पर्व हाम्रो समाजमा जीवन्त रहिरहनेछ।त्यसैले आधुनिकता र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै तीज पर्वलाई मौलिकता, आध्यात्मिकता र सामाजिक मूल्यसहित मनाउनु अहिलेको आवश्यकता बनेको छ।
बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]
आफ्नो प्रतिक्रिया दिनुहोस्