भरतपुर महानगरको बजेट ५ अर्व ७४ करोड ४२ लाख

भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजार रकम बराबरको बजेट विनियोजन गरेको छ ।

महानगरले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ़बाट १ अर्व ५० करोड, वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार संकलन गर्ने अनुमान गरेको छ। त्यसैगरी बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड र जनसहभागिताबाट ३७ करोड संकलन गर्ने अनुमान गरिएको छ।

महानगरले २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन गरेको छ।

बजेटको पूर्णपाठ :

भरतपुर महानगरमा फराकिलो बन्दै मतान्तर

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले जारी मतगणनामा निकटतम प्रतिद्वन्द्वी एमालेको मेयर पदका उम्मेदवार विजय सुबेदी सँगको मतान्तर फराकिलो बनाएकी छिन् ।

वडा नम्बर ६ मा अहिले मतगणना जारी रहंदा दाहालले १६१७ मतको अन्तर कायम राख्न सफल भएकी छिन् । भरतपुर महानगरपालिकामा भएको २७०२६ मतगणनामा दाहालले ९८०१ मतको साथ अग्रता लिएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ८१८४ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११७४० मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमाला गुरुङले ६६६८ मत ल्याएकी छिन।

प्रचण्डको अभिव्यक्ति रेणु दाहाललाई चुनौती

पुष्पकम दाहाल प्रचण्ड प्राय आफ्नो अभिव्यक्तिहरुका कारण विवादमा आइरहन्छन्।  त्यसो त उनले एकपटक आँफैले भनेका थिए,”म कहिलेकाहीं अलि बढी नै भावुक, अलि बढिनै  उत्तेजित हुन्छु र फ्याट्ट बोलिहाल्छु, अनि सबैले त्यसलाई गलत बुझेर आफु अनुकुल व्याख्या गरिदिन्छन”। 

पछिल्लो समय स्थानिय निर्वाचन नजिकिंदै जाँदा प्रचण्डले चितवनमा बोलेका २ वटा कुराहरुले प्रचण्ड फेरी विवादमा तानिएका छन्।  त्यति मात्रै नभएर उनले दिएको अभिव्यक्तिले रेणु दाहालको चुनावी अभियान र प्रचण्डको आफ्नै राजनीतिलाई पनि निकै ठुलो धक्का पुराएको छ। 

स्थानिय निर्वाचनको लागि गठबन्धनले मेयरको रुपमा भरतपुरबाट रेणु दाहाललाई साझा उम्मेदवार बनाउने विषय चितवनको राजनीतिमा सुरुदेखि नै चर्चाको विषय बन्यो। मेयरमा रेणु दाहालको चर्चा चलिरहेकै बेला चितवन काँग्रेसले यस पटक मेयर काँग्रेसले पाउनुपर्ने र मेयरमा पटक पटक रेणु दाहाललाई समथन गर्न नसकिने बतायो।  यहीबीच चितवन पुगेका प्रचण्डले गठबन्धनको निर्णय केन्द्रले गर्ने हो।  चितवनको मेयरको विषयमा चितवन काँग्रेसले भनेर केहि हुँदैन भन्ने अभिव्यक्ति दिए।  प्रचण्डको यो अभिव्यक्तिले चितवन काँग्रेसका तल्लो तहका नेता कार्यकर्ताहरु निकै नै आक्रोशित बने।  उनीहरुले प्रचण्डको अभिव्यक्तिलाई कटाक्ष गर्दै भने,”चितवन काँग्रेसले भनेर नहुने भए, अबको चुनावमा देउवालाई भन्न लगाएर डडेल्धुराबाट मान्छे लेराएर भोट हाल्न लगाउनु”। प्रचण्डले केन्द्रको दवावमा चितवन काँग्रेसका शिर्ष नेताहरुलाई जवर्जस्ती भने पनि आफ्नो पक्षमा ल्याउन सफल भए, तर तल्लो तहका नेता कार्यकर्ताहरुको आक्रोशलाई भने उनले वेवास्ता गरिदिए । पालो आउँछ अनि देखाइदिन्छौँ भनेर बसेका ति तल्लो तहका कार्यकर्ताहरुले प्रचण्डकै अभिव्यक्तिकै कारण आगामी स्थानिय तहको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई समर्थन गर्न नसक्ने माहोल बढ्दै गएको देखिन्छ। यदि यसो हुन गएमा यसको नैतिक जिम्मेवार प्रचण्ड आँफै हुनेछन्। आखिर भोट हाल्ने त तल्लो तहकै कार्यकर्ताहरुले हो भन्ने कुरा बिर्सेर २-४ जना जिल्लाका नेताहरुलाई मात्र काखी च्यापेर हिंड्नु र काँग्रेसका तल्लो तहका कार्यकर्ताहरुलाई समेट्न नसक्नु प्रचण्डको ठूलो भुल हुनेछ। 

त्यसै गरि भरतपुरको केन्द्रिय बस टर्मिनलमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले दिएको अर्को अभिव्यक्तिले उनि दोश्रो पटक फेरी विवादमा तानिए। भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने,” तपाइँ चितवनवासी  जनताले अनावश्यक दवाव दिनुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ।  हालींदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ”।

निर्वाचन आचारसंहिता नै उल्लंघन हुनेगरि आएको प्रचण्डको सो अभिव्यक्तिले चितवन काँग्रेसलाई आक्रोशीत त बनायो नै, तर यसले देश भरिनै एक खाले तरङ्ग पैदा गरिदियो।  सामाजिक संजाल भरिनै प्रचण्डको सो अभिव्यक्तिको चर्को आलोचना भयो। प्रचण्डले भने जस्तै, प्रचण्डको सो अभिव्यक्तिलाई सबैले आ-आफ्नै अनुकुल व्याख्या गरे।  तर चितवनका काँग्रेस कार्यकर्ताहरुले प्रचण्डको सो अभिव्यक्तिलाई  खुल्लम खुल्ला धम्कि दिएको भनेर त्यसको कडा प्रतिवाद गरे। उनको अभिव्यक्ति प्रति टिप्पणी गर्दै चितवन काँग्रेसका एक पुराना नेताले फेसबुकमा “छोरीले मेयरमा नजिते देशनै दुर्घटनामा जान सक्ने भनेर तर्साउँदैमा भोट हाल्छन् भन्ने सोचेका होलान् , अब त हातै काट्छु भने पनि हालिन्न भोट,”लेख्दै आफ्नो आक्रोश प्रकट गरेका छन्। 

प्रचण्डको अभिव्यक्तिप्रति सबैको आ-आफ्नै बुझाई र विश्लेषण हुनु स्वाभाविक नै हो।  तर निर्वाचनको मुखैमा आएर उनको अभिव्यक्तिप्रति चितवन काँग्रेसका कार्यकर्ताहरुले आक्रोश पोख्दै गर्दा यस बाट आउन सक्ने चुनावी परिणामको जिम्मेवार भने स्वयं  प्रचण्ड आँफै हुनेछन्। 

जगन्नाथको उम्मेदवारीले हल्लिएको गठबन्धनको जग

सत्ता गठबन्धनले माओवादी केन्द्रको तर्फबाट रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरको साझा उम्मेदवारको रुपमा खडा गरेपछि आक्रोशित बनेका चितवन काँग्रेसको एउटा तप्काको प्रतिनिधित्व गर्दै चितवन काँग्रेसका प्रभावशाली नेता जगन्नाथ पौडेलले गठबन्धनको उम्मेदवारकै विरुद्धमा मेयर पदको लागि स्वतन्त्र उम्मेद्वारी दिए। पौडेललाई फकाउन र उनको उम्मेद्वारी फिर्ता गराउन सिंगो राज्य संयन्त्रनै लागि पर्दा पनि पौडेल आफ्नो अडानबाट पछि नहटेपछि उनको उम्मेदवारीले गठबन्धनभित्र झनै ठुलो तरङ्ग पैदा गरिदियो। 

जगन्नाथको उम्मेद्वारीले गठबन्धनलाई धक्का पुग्ने देखेपछि, गठबन्धनको पक्षमा माहोल बनाउन  सत्ता गठबन्धन दलका सबै शिर्ष नेताहरुनै चितवन आउने कार्यक्रम तय भयो।  यहीबीच भरतपुरको केन्द्रिय बस टर्मिनल परिसरमा पाँच दलिय सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी सभाको आयोजना गर्यो।  सत्ता गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई कुनै पनि हालतमा जिताउनुपर्ने बताए। सम्बोधनकै क्रममा उनले भने,”गठबन्धन टुटाउने ठूलो षड्यन्त्र भइरहेको छ, यसमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ ‘कुनै हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुनै सक्दैन, हुँदै हुँदैन। यो कुरामा तपाईँहरु स्पष्ट हुनुस्”।

त्यसैगरी प्रचण्डले पनि सम्बोधन गर्ने क्रममा आफुहरु यो गठबन्धनलाई अझै १०/१५/२० बर्ष अगाढी बढाउने योजना रहेको बताए।  तर संगसंगै उनले २०७४ को स्थानिय निर्वाचनप्रति संकेत गर्दै गठबन्धनबाट हँसिया हथौडामा भोट आएन भने गठबन्धन टुट्न पनि सक्ने भन्ने आशयको अभिव्यक्ति दिए।  नेकपा एमालेका केहि साथीहरु अझै पनि मिल्ने सहमति लिएर आएको तर अहिले आफुले यहि गठबन्धनलाई अगाडी बढाउने प्रतिवद्दता गरेको बताए।

गठबन्धन दलका शिर्ष नेताहरुको अभिव्यक्तिले स्पष्ट रुपमै भरतपुरको मेयरमा रेणु दाहालले नजितेको खण्डमा गठबन्धन टुट्ने संकेत गरेका छन्।  प्रचण्ड चितवनमा आफ्नो पकड कायम गर्न चाहन्छन।  २०७४ को स्थानिय तह निर्वाचनमा आएको चुनावी नतिजा पछि एकाएक एमालेसंग पार्टी एकता गरेर प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो जित सुनिश्चित गरेका प्रचण्डको लागि  यो स्थानिय निर्वाचन अग्निपरिक्षा बनेको छ।  यदि गठबन्धन गर्दै गर्दा पनि मेयरमा रेणु दाहालको जित सम्भव भएन भने प्रतिनिधि सभाको चुनावमा आफ्नो सिट सुरक्षित गर्न प्रचण्डले आफ्नो सेफ ल्याण्डिङ्ग खोज्नै पर्ने हुन्छ।  केन्द्रमा पाँच दलिय गठबन्धन भएपनि अन्य गठबन्धनभित्रका दलहरुको वर्चस्व कम रहेको चितवनमा गठबन्धन भनेको काँग्रेस र माओवादी केन्द्र मात्रै हो।  यो अवस्थामा काँग्रेसबाटै अन्तर्घात हुँदै गर्दा प्रचण्डले निश्चय नै आफ्नो सेफ ल्याण्डिङ्ग खोज्नेछन र त्यतिबेला उनको अर्को विकल्प भनेको एमाले नै हो। 

यी सब कुराहरुकोबीच अब रहयो रेणु दाहाललाई आउने काँग्रेसको भोट।  माओवादी एक्लैको भोटले चुनाव जित्न रेणु दाहाललाई सम्भव कत्ति पनि छैन।  यो अवस्थामा गठबन्धन दलभित्रैको काँग्रेसले आफ्नो भोट हँसिया हथौडामा हाल्नुपर्नेछ। तर पछिल्लो  समय चितवन काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा मेयरको उम्मेदवारीको विषयलाई लिएर बढेको असन्तुष्टि प्रति देउवा र प्रचण्डले सम्बोधन गर्न नसक्दा काँग्रेसको सबै भोट हँसिया हथौडामा खस्छ भनेर भन्न सकिने अवस्था भने छैन।  त्यसमा पनि चितवन काँग्रेसको एउटा तप्का जगन्नाथ पौडेलको कित्तामा उभिएको अवस्थामा काँग्रेसको भोट बांडिने देखिन्छ।  यदि मतदानको दिनसम्म अवस्था यहि रह्यो भने काँग्रेसको भोट रेणु दाहाल र जगन्नाथ पौडेलकोबीच विभाजन हुने निश्चित छ। साथै ३० गते निर्वाचनको दिन कसको पक्षमा कति मत खस्छ र चुनावी नतिजा कसको पक्षमा जानेछ भन्ने कुरालेनै गठबन्धनको भविष्य निर्धारण गर्नेछ। 

भरतपुरको मेयरमा पौडेलको उम्मेद्वारी कायमै

भरतपुर महानगर यतिखेर चर्चाको केन्द्रविन्दु बनेको छ। कारण हो गठबन्धनबाट भरतपुरको मेयरका लागि साझा उम्मेदवारको रुपमा खडा गरिएको रेणु दाहालको विरुद्धमा परेको काँग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेद्वारी।

जगन्नाथ पौडेल पुर्व सांसद र चितवन काँग्रेसका वरिष्ठ नेता हुन् । काँग्रेस केन्द्रीय समितिले गरेको निर्णयको विरोध गर्दै चितवनमा काँग्रेस बचाउनको निम्ति स्वतन्त्र उम्मेद्वारी दिएको नेता पौडेल र उनका प्रस्तावक चितवन काँग्रेसका पुर्व पार्टी सभापति कृष्णलाल सापकोटाले बताउँदै आउनुभएको छ। त्यसो त पौडेलको उम्मेद्वारीलाई धेरैले पार्टीको निर्णय विपरितको बागी उम्मेद्वारी भनेर भन्दै गर्दा, पौडेल स्वयम् भने आफ्नो उम्मेद्वारी पार्टी विरुद्धको बागी उम्मेद्वारी नभएर स्वतन्त्र उम्मेद्वारी भएको बताउनुहुन्छ। आफ्नो उम्मेद्वारी नेपाली काँग्रेस पार्टीकै कुनै सदस्य विरुद्ध वा रुख चिन्हको विरुद्ध हुन्थ्यो भने आफुलाई बागी उम्मेदवार भन्न मिल्ने तर आफु काँग्रेस पार्टीकै कुनै उम्मेदवारको विरुद्ध नभएको र आफ्नो उम्मेद्वारी हँसिया हथौडा र अन्य दलको विरुद्ध भएकोले आफु बागी नभइ स्वतन्त्र उम्मेदवार भएको उनको दावी छ।

नेता पौडेलले मेयरमा उम्मेद्वारी दिनुभन्दा अघि पनि काठमाडौँ पुगेर पार्टी सभापति लगायत केन्द्रीय समितिका नेताहरुलाई काँग्रेसले भरतपुरको मेयर कुनै पनि हालतमा नछोड्ने भन्दै जिल्ला सभापति सहितको प्रतिनिधिमण्डल गएर ध्यानाकर्षण पत्र बुझाएको थियो। आफुहरुले अग्रिम रुपमा सचेत गराउँदा गराउंदै पनि पार्टीलाई र चितवन काँग्रेसलाई नै कम्जोर पार्ने गरि केन्द्रले जबर्जस्ति निर्णय गरेपछि पौडेलले भरतपुरका अधिकांश वडा सभापति र जिल्ला तहका नेताहरुको सल्लाहमै मेयरको लागि उम्मेद्वारी दिएका हुन्।
पौडेलको उम्मेद्वारीकै विषयलाई लिएर चितवन काँग्रेस यतिखेर सैद्दन्तिक र राजनीतिक विवादमा फसेको छ। त्यसो त पार्टीको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बन्दै गर्दा अब चितवन काँग्रेसलाई रुखमै भोट हाल्ने वातावरण बनाउँछु भनेर सभापति बनेका राजेश्वर खनाल पनि काठमाडौँमा सभापति देउवालाई भेटेर आएपछि हँसिया हथौडामा भोट माग्न र भोट हाल्न तयार भएको देखिन्छन्। त्यति मात्रै नभएर उनले पार्टीको निर्देशन नमानेर स्वतन्त्र वा बागी उठे पार्टीले कारवाहि गर्ने भनेर निर्देशन समेत जारि गरे। जिल्ला सभापतिको कारवाही गर्ने धम्किले पनि केहि नलागेपछि पार्टी सभापति देउवाको दुत बनेर गृहमन्त्री खांड र राज्यमन्त्री उमेश श्रेष्ठ आएर पौडेललाई फकाउने प्रयास गरे। यो बीचमा काँग्रेस केन्द्रिय समितिले बागी उम्मेदवारलाई पार्टीको विधान अनुसार साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने भनेर विज्ञप्ति समेत जारि गर्यो। तर पौडेल आफ्नो अडानबाट कत्ति पनि विचलित भएनन्। उनले पार्टीले आफुलाई कारवाही गरेर आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने छुट पार्टीलाई छ तर आफुले चितवन काँग्रेसको पार्टीप्रतिको आस्था र भरोसालाई टुट्न नदिने र मेयरमा आफ्नो उम्मेद्वारी कायम रहने बताए। सभापति देउवाको दुत बनेर उनलाई फकाउन आएका गृहमन्त्री र राज्यमन्त्री श्रेष्ठ आजै मात्र फर्किएर काठमाडौँ पुगे, तर नेता पौडेलले उम्मेद्वारी फिर्ता गर्न नसकिने आफ्नो अडान कायमै राखे।

निर्वाचन आयोगले तोकेको उम्मेद्वारी फिर्ताको समय साँझ पांच बजेसम्म रहेकाले,यो बीचमा सबैलाई आजको पांच कतिबेला बज्ला भन्ने जस्तो भयो ? के पौडेलले आफ्नो उम्मेद्वारी साँझ सम्म फिर्ता गर्लान त भन्ने धेरै अड्कलबाजीहरु भए। कतिले राज्य संयन्त्र र पदको दुरुपयोग गर्दै आयोगले उम्मेद्वारी फिर्ताको समय बढाउन सक्ने पनि बताए। तर साँझको पांच पनि बज्यो। न त कसैले अड्कल गरेजस्तो आयोगले उम्मेद्वारी फिर्ताको समय थप गर्यो न त पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता नै गरे। हारजित आफ्नो ठाउँमा छ, तर पौडेलको उम्मेद्वारी र उनको अडानले चितवन काँग्रेसका कार्यकर्ताहरुलाई भने उत्साहित बनाएको छ।