आजदेखि हिउँदे अधिवेशन सुरु

काठमाडौँ- आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ। अपराह्न ४ बजेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठकका लागि सम्भावित सात कार्यसूची तय भएको छ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय भएको छ। यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भएर सन्देशसहित प्राप्त विधुतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ टेबुल हुनेछ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० एवं कानुनमन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने कार्यसूची रहेको छ।

karyasuchi

सरकार संसदलाई द्वन्द्वतर्फ लैजाने तयारीमा छ : एमाले

श्रावण २४,काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले, सत्ता पक्षले संसदमा दादागिरी देखाएको र संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिएको र प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको घटनाप्रति आपत्ति जनाउंदै, सत्ता पक्षको यस्तो हर्कतले संसदलाई द्वन्दतर्फ लैजान खोजेको उनले बताएका छन्।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सांसद सूर्यबहादर थापाले पनि ,सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहेको कुरा स्पष्ट भएको बताएका छन्। एमाले सांसदहरुले, सरकारले सदन चलाउन नचाहेको र संसदमा द्वन्द्व सिर्जना गर्न खोजेको अभिव्यक्ति दिएका छन्।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले भने,‘सरकार यसमा जिम्मेवार बन्न सकेन। सम्माननीय सभामुखज्युले प्रतिपक्षको तर्फबाट हाम्रा माननीय सूर्यबहादुर थापालाई समय दिएर आफ्ना भनाइ राख्न दिँदा समेत सत्ता पक्षका साथीहरुले उठेर अवरोध गर्नुभयो। सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ। सरकार सदन चलाउन चाहँदैन। सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ।’

राष्ट्रिय सभा बैठक सोमबार एक बजेसम्मका लागि स्थगित

राष्ट्रिय सभाको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम भएको भन्दै आइतबार राष्ट्रिय सभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेको थियो ।

एमाले सांसदहरुको अवरोध नरोकिएपछि राष्ट्रिय सभाको आइतबारको बैठक २९ मिनेटका लागि रोकिएको थियो ।

बैठक सुरु हुने लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताएका थिए । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । त्यसैले भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरेका थिए ।

यो विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रुलिङ गरेका थिए ।