नेपाली सेनाको कामु प्रधानसेनापतिमा अशोकराज सिग्देल

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल सकिने लाग्दा वरिष्ठ रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा सकिंदैछ । कार्यकाल सकिन एक महिनाअघि विदा बस्ने सैनिक परम्परा रहिआएकोले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । पाँच दिने नेपाल भ्रमणमा रहेका पाण्डेले आज जङ्गीअड्डामा प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस प्रकारको भेटले दुई देशका सेनाबीचको आपसी सम्बन्धलाई मजबुत बनाउने बताइएको छ । सो अवसरमा पाण्डेले जङ्गी अड्डाको मुख्य भवन परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको हैसियतले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

भारतीय सेना प्रमुख जनरल पाण्डे काठमाडौंमा

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । पाण्डेको नेतृत्वमा रहेको भारतीय सैनिक मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो ।

पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार प्रत्येक देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको हैसियत दिइनेछ ।

मंगलबार भारतीय सेना प्रमुख पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवाबिच शिष्टाचार भेट हुने बताइएको छ ।

पाँच सदस्यीय टोली लिएर काठमाडौं आइपुगेका पाण्डेले सैनिकमञ्च टुँडिखेलमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने, सैनिक शिविरको निरीक्षण गर्ने र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने पनि बताइएको छ।

नेपाल प्रहरीबाट लामा र सशस्त्र प्रहरीबाट पौडेल एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्त लामा र सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।

बढुवा भएका लामाले उमेर हदका कारण केही दिनमै अवकाश लिनेछन् भने अर्कातर्फ वर्तमान महानिरीक्षक राजु अर्यालपछि पौडेल सशस्त्र प्रहरी बलको नेतृत्व गर्ने एक्लो दावेदार बनेका छन् । सशस्त्र प्रहरी बलमा दुई एआईजी पद रहेपनि सरकारले पौडेललाई मात्रै बढुवा दिएको छ ।

यसैबीच नेपाल प्रहरीको एआईजीमा बढुवा भएका लामालाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।