राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुनमा

उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने उद्देश्यसहित सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आगामी फागुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने भएको हो।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता डन्डुराज घिमिरेले उक्त दुई दिने सम्मेलनको तयारीबारे  जानकारी दिए। मुख्यतः श्रम कानुन र नीतिको समसामयिक सुधारमा केन्द्रीत श्रम तथा रोजगार सम्मेलनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको प्रवक्ता घिमिरेले बताए।
    
त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशकको संयोजकत्वमा तयारी समिति र मन्त्रालयका महाशाखा प्रमुख एवं मातहत कार्यालयका प्रमुखको संयोजकत्वमा सात वटा उपसमिति गठन गरी सम्मेलन तयारी अगाडि बढिरहेको जानकारी दिइएको छ।

आन्तरिक र वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको उद्देश्य रहेको सचिव मुकुन्द्रप्रसाद निरौलाले जानकारी दिए।     

वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिएको र आन्तरिक उत्पादन तथा उत्पादकत्व अभिवृद्धि नै आगामी कार्यदिशा हुनुपर्नेतर्फ मन्त्रालयले जोड रहेको उनको भनाइ छ।

उक्त सम्मेलनले श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह एवं अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने बताइएको छ।

‘सम्मेलनमार्फत श्रमिक, रोजगारदाता, अनुसन्धानकर्तालगायत यस क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबाट सरकारलाई प्राप्त हुने सुझावलाई मन्त्रालयले अवलम्बन गर्ने आगामी नीतिगत र कानुनी सुधारमा पृष्ठपोषणको रूपमा आन्तरिकीकरण गर्नेछ’, सचिव निरौलाले भने।

दुई दिने सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता/ विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी झण्डै पाँच सय जनाको सहभागिता रहने छ। सम्मेलनमा ‘भर्चुअल’ माध्यमबाट पनि सहभागी गराउने मन्त्रालयको तयारी छ।

सम्मेलनस्थलमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारको स्टलमार्फत् श्रम तथा रोजगार सम्मेलनसम्बन्धी सूचना तथा जानकारी दिइने जनाइएको छ। मन्त्रालयले २०५४ सालदेखि चार पटक श्रम तथा रोजगार सम्मेलन आयोजना गरिसकेको छ। चौथो सम्मेलन २०७६ मा सम्पन्न गरेको थियो। रासस

विवादका बीच श्रम मन्त्रालय छाडेका शरतसिंह भण्डारीको पुनः श्रम मन्त्रालयमा कम्ब्याक

काठमाडौं – अघिल्लो सरकारमा रहँदा विवादै विवादको कारण करिब ११ महिने कार्यकाल पछि श्रम मन्त्रालय छाडेका लोसपाका नेता शरतसिंह भण्डारीको पुनः श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन्।

सपथ ग्रहण गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । यधपी उनको विगतको क्रियाकलापले गर्दा उनको प्रतिबद्धतामा प्रश्न उठाउने र शंका गर्ने प्रशस्त आधारहरु देखिन्छ। पछिल्लो ११ महिने कार्यकालमा उनले श्रम मन्त्रि छँदा गरेका कतिपय निर्णयहरु त त्यसपछि बनेका मन्त्रिले खारेज नै गरिदिए।

यसअघी, उनले खाडी जाने श्रमिकले अनिवार्य अंग्रेजी भाषा परीक्षा दिनुपर्ने र न्युनतम् ५० अंक ल्याउनुपर्नेदेखि पूर्वाप्रस्थान अभिमुखिकरण तालिम शुल्कलाई ७०० बाट २८०० पुर्‍याउने निर्णय गरेका थिए ।

विदेशिने युवासँग भाषा परीक्षा लिने नाममा आफू निकटको एक विचौलिया समूहलाई प्रतिव्यक्ति ७०० रुपैयाँ शुल्क उठाउन दिने र फेल हुनेहरुसँग अपारदर्शी लेनदेन गर्दै पास गराउनेसम्मका योजनामा यस्तो निर्णय भएको निष्कर्ष यसअघिका श्रममन्त्री डोलप्रसाद आर्यालको टिमले निकालेको थियो ।

त्यसैगरी , वैदेशिक रोजगारी सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृतसम्बन्धी कार्यविधि २०८०’ जारी गर्दै १५ दिनभित्र सम्बन्धित दूतावास र नियोगले प्रमाणीकरण नगरेमा मन्त्रालयको एक समितिले उक्त माग पत्र प्रमाणीकरण गर्ने विवादास्पद व्यवस्था समेत गरेका थिए ।उक्त कार्यविधि ल्याएसँगै अवैध किसिमका भिसाहरु मन्त्रालयबाटै प्रमाणीकरण गराएर श्रमिक पठाउन चलखेल सुरु भएको थियो ।

श्रमिकलाई भार पार्ने र म्यानपावर व्यवसायीको पक्षमा एकपछि अर्काे विवादास्पद निर्णय गर्न थालेपछि तत्कालीन प्रधानमन्त्रीले प्रचण्डले उनको कार्यशैली र निर्णयमाथि प्रश्न गर्दै श्रम मन्त्रालयलाई १७ बुँदे निर्देशन सम्म दिएका थिए।

कोरियामा ई-७ भिसा (दक्ष श्रमिक भिसा) मा जाने श्रमिकलाई म्यानपावर कम्पनीबाट पठाउने गरी कार्यविधि जारी गरेको, जापानमा सरकारी तवरबाट श्रमिक पठाउने गरी भएको सहकार्यको समझदारी विपरीत अर्को कार्यविधि जारि गरेर श्रमिक भर्ना र आपूर्ति पनि म्यानपावरमार्फत नै गर्ने निर्णय गरेको, रुस र युक्रेनमा जान अपरादर्शी ढंगले श्रम स्वीकृति समेत खुला गरेको, फ्रि भिसा र टिकट’को नीति उल्ट्याउने प्रयास गरेको, वैदेशिक रोजगार कल्याणकारी कोषको रकमको दुरुपयोग गरेको लगायत थुप्रै विवादास्पद निर्णय रा कामहरु गरेको उनीमाथि आरोप लागेको छ। उनले गरेका धेरै निर्णयहरु बदर समेत अरिएको थियो।

नेपाली राजनीतिमा अवसरवादी मनत्रीका रुपमा चिनिएका र पटक-पटक पार्टी बदल्दै १७ पटकमन्त्री बन्दासमेत उनले प्रभावकारी काम गरेको रेकर्ड भने छैन । उनले यसपटक श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रतिबद्धता दोहोर्‍याएका त छन् , यधपी उनको कार्यशैली प्रति प्रश्न गर्ने र शंका गर्ने ठाउँ भने प्रशस्त रहेको छ।

श्रम मन्त्रालयद्वारा व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हक कार्यान्वयन गरी मर्यादित श्रम प्रवर्द्धन गर्न व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले व्यवसाय तथा मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गदर्शक सिद्धान्त कार्यान्वयनका लागि कार्ययोजना तयार भइसकेको र मार्गदर्शक सिद्धान्तका विषयलाई मुख्यगरी कार्ययोजनामा समावेश गरिएको बताउनुभयो ।

विद्यमान संवैधानिक तथा कानुनी प्रणालीमा समेटिएका विषय, दीर्घकालीन तथा आवधिक योजना, नेपालबाट स्वीकृत मानवअधिकार महासन्धि, अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि, नेपाल सरकारका राष्ट्रिय तथा क्षेत्रीय नीति, मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाका विषयहरू , दिगो विकास लक्ष्यहरू र विकासशील देशहरूमा स्तरोन्नति। कार्ययोजनामा सम्बन्धित गतिविधि समेटिएको छ,’ उनले भने ।

कार्ययोजनाले मानवअधिकारको पालना, मानवअधिकारमा पर्ने व्यापारिक गतिविधिको प्रभावको रोकथाम सम्बन्धी गतिविधिहरू समावेश गर्दछ। पर्याप्त जीवनस्तरको अधिकार, स्वच्छ र अनुकूल कामको अवस्था, खानेपानी तथा सरसफाइको अधिकार, शिक्षाको अधिकार, सूचनामा पहुँचको अधिकार, विकासको अधिकार, श्रमिकको अधिकार, उपभोक्ताको अधिकार, महिला तथा बालबालिकाको अधिकार, वैदेशिक श्रमिकको अधिकार, वातावरणीय तथा आदिवासी जनजातिको अधिकार, लैङ्गिक समानता र जातीय विभेदविरुद्धको अधिकार र अल्पसंख्यक समुदायका अधिकारलाई समेत कार्ययोजनामा समेटिएको उनले बताए ।

विश्वका पाँच दर्जनभन्दा बढी देशहरूले जिम्मेवार र जवाफदेही व्यवसायको अवधारणालाई अपनाएका छन् र संयुक्त राष्ट्रसंघको व्यवसाय तथा मानव अधिकारसम्बन्धी मार्गदर्शक सिद्धान्तहरूको कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा र कार्यान्वयन गरेका छन्।

कार्ययोजना कार्यान्वयन गर्न तीनै तहमा अनुगमन समिति गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

विदेशीक रोजगारीको लागि सरकारले ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जर्मनी, रोमानिया, इराक लगायतका विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिएको छ।

श्रममन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न र श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउनमन्त्रालय कटिबद्ध रहेको पनि बताएका छन्।

मन्त्री भण्डारीले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने समेत बताएका छन्।

नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका मुलुकमा वैदेशिक रोजगारका लागि श्रमिक पठाउने विषयमा अध्ययन र गृहकार्य गर्न सम्बन्धित देशमा रहेका दूतावास र निगमलाई पहल र प्रयत्न गर्न सुझाव दिइएको पनि उनले बताएका छन्।

दुईवर्षे श्रम स्वीकृतिको अन्त्य : दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिने

वैदेशिक रोजगारमा जाने नेपालीका लागि दुई वर्ष मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई सरकारले अन्त्य गरेको छ ।सरकारले विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थासमेत गरेको छ ।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपालीको लागि यसअघि व्यवस्था गरेको दुईवर्षे करारपत्रको अन्त्य गर्दै, विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था समेत लागु गरेको छ।

श्रम स्वीकृतिको म्याद समाप्त हुँदा कल्याणकारी कोषबाट राहत पाउन कठिनाइ भएकाले रोजगारदाता र कामदारबीच हुने करारपत्रअनुसार नै श्रम स्वीकृति दिने नीति लिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेको छ । अब कामदारले बिमा र कल्याणकारी कोषको रकम तिरेपछि दूतावासबाट नै पुनः श्रम स्वीकृति लिन पाउने बाटो खुलेको छ।