गठबन्धन बाहिर जसपा :एमालेसंग चुनावी तालमेल

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच छलफल चलिरहेको बेला जसपाले भने एमालेसँग चुनावी सहमतिको छलफल अगाडी बढाएको छ। गठबन्धनको बैठक छोडेर यतिबेला जसपा अध्यक्ष यादव बालकोट छलफलमा व्यस्त रहेका छन् । गठबन्धनभित्र आफु अनुकुल निर्णय नहुने र सम्मानजनकरुपमा सिट बाँडफाँट नहुने देखेपछि, अघिल्लो साता नै जसपाले सबै दलहरुसँग चुनावी तालमेल गर्नका लागि मार्ग खुला गर्ने निर्णय गरेको थियो।

गठबन्धनमा रहेर मधेसमा १६ सहित २४ सीटको दावी गर्दै आएको जसपाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका र एमालेसंग करिब २० देखि २२ सिटसम्म सहकार्य गर्ने गरि चुनावी तालमेलको गृहकार्य अगाडी बढाएको छ।

गठबन्धनबाहिर समानान्तर रुपमा चुनावी तालमेलको रणनीति लिएर अन्य दलसंग छलफल र सहकार्यको मार्ग खुल्ला राखेको जसपाले लोसपासंग पनि सहकार्य गरेर चुनावी तालमेल अगाडी बढाउने बुझिएको छ। अन्तिम समयमा आएर उपेन्द्र यादवले लिएको युटर्नले यतिबेला गठबन्धनका बाँकी दलहरुलाई भने अप्ठेरोमा पारेको देखिन्छ। यता गठबन्धनका नेताहरु यादवलाई फकाउने कसरतमा लागेका छन् भने अर्कोतर्फ यादव आफैँ गठबन्धन बाहिरको समानान्तर सहकार्यमा नयाँ चुनावी तालमेलको रणनीतिमा अघि बढिसकेका छन्।

संविधान संशोधन नभएसम्म हाम्रो विरोध जारी रहन्छ:लोसपा

पार्टी केन्द्रीय कार्यकारिणी बैठकको निर्णय सार्वजनिक गर्दै,संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनाएको छ।

वर्तमान संविधानमा पूर्ण सहमति नभएकोले संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने लोसपा ले बताएको हो। लोसपाद्वारा जारी विज्ञप्तिमा,संविधानको पूर्णताको निम्ति हामीले उठाएका मागहरू समेटी संविधान संशोधन नहुञ्जेलसम्म हाम्रो विरोध रहिरहनेछ भन्ने कुरा उल्लेख गरिएको छ।

साथै, नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह समेत गरेको छ।

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकीकरणको सहमति

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय एकता पार्टीबीच पार्टी एकीकरणको सहमति भएको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमदिप थाम्सुहाङले संयुक्त रुपमा पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेर पार्टी एकीकरणमा सहमति जनाएका छन् । लोसपाको नाम, झण्डा र छाप स्विकार्ने गरि राष्ट्रिय एकता पार्टीले गरेको सहमति अनुसार राष्ट्रिय एकता पार्टी लोसपामा विलय भएको छ। सहमति अनुसार राष्ट्रिय एकता पार्टीका सबै संगठनहरुलाई लोसपामा समायोजन गरिनेछ।

राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेम कुमार थाम्सुहाङलाई लोसपाको केन्द्रिय कार्यकारिणी सदस्यमा समायोजन गरिने र प्रदेश १ को जिम्मेवारी दिने सहमति भएको छ।

मधेस प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

मधेस प्रदेशकी पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।

उहांको आज बिहान काठमाडौंको रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो ।उहांको करिब डेढ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । झा प्रजातान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता तथा पूर्वमन्त्री अनिलकुमार झाकी पत्नी हुन्।
झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत रहनुभएको थियो ।

पारिवारिक सदस्यका अनुसार अन्तिम श्रद्धाञ्जलीका लागि झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा लैजाने तयारी गरिएको छ।