आज कोजाग्रत पूर्णिमा: बडादशैँ पर्व समापन


काठमाडौं । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । 

अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।
    
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । 

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल बताउँछन् । 

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि असोज २१ गते मंगलबारदेखि सुरु हुने जनाइएको छ । आकाशदीपदान पनि मंगलबार साँझदेखि नै सुरु गरिँदै छ । रासस

सुनसान काठमाडौँ……

WhatsApp Image 2022 10 03 at 11.28.04 1

घरबाट टाढा रहेको एउटा घर हो काठमाडौँ। रोजगारी, उच्च शिक्षा वा अन्य विभिन्न शिलशिलामा काठमाडौँमा बसोबास गर्दै आइरहेका तर काठमाडौँमा घर नभएका देशका सबै नेपालीहरुको आफ्नो घर पछिको घर हो काठमाडौँ। तर दशैँ लागेसँगै यतिबेला नेपालीहरु आ-आफ्नो गाउँघर फर्किएका छन्। अझ भनौँ कर्मथलो छोडेर जन्मथलो फर्किएका छन्। घटस्थापनादेखि नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् ।

सँधै कोलाहाल र व्यस्त देखिन काठमाडौँ यतिबेला सुनसान बनेको छ। सडकमा फाट्ट-फुट्ट निजि सवारी ,भाडाका ट्याक्सिहरु र केहि सफा टेम्पो र माइक्रोको आवत-जावत देखिन्छ। अधिकांश पसलका सटरहरू बन्द भइसके । आन्दोलन र प्रदर्शनको प्रतिक जस्तै बनेको माइतिघर पनि यतिबेला शान्त छ। यस्तो लाग्छ ,आवाज बिहिनहरुको आवाज बनेर सिङ्गो समाज र सरकार विरुद्ध विद्रोहको चर्को-चर्को नारा गुञ्जिरहने माइतीघर पनि , चरम युद्धको नेतृत्व गरेर थाकेको सिपाही जस्तो, अहिले विश्रामको अवस्थामा छ। रातको ३-४ बजेसम्म गुनगुनाउने काठमाडौँकै केन्द्र बनेको ठमेल पनि अहिले त सम्साँझैँ सुते जस्तो भान हुन्छ। यस्तो लाग्छ अहिले सिङ्गो काठमाडौँ मस्त निन्द्रामा छ।

WhatsApp Image 2022 10 03 at 11.27.03
WhatsApp Image 2022 10 03 at 11.28.11
WhatsApp Image 2022 10 03 at 11.28.58 1
WhatsApp Image 2022 10 03 at 11.29.42


दशैँमा मासु सेवन : परम्परा, स्वास्थ्य र सन्तुलन

काठमाडौं – दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड हो। यसलाई परिवार, उत्सव र मिलनको पर्वका रूपमा मनाइन्छ। चाड आउनासाथ बजारमा चहलपहल बढ्छ, मानिसहरू नयाँ कपडा किन्ने, घर सरसफाइ गर्ने मात्र होइन, खानपानको तयारीमा पनि रमाउने गर्छन्। दशैँमा विभिन्न परिकारहरू पाक्दै गर्दा सबैभन्दा धेरै खाइनेमा मासु पर्ने गर्छ ।खसी- बोकाको मासु, कुखुराको मासु, भेडा वा च्याङ्ग्राको मासु र कहिलेकाहीँ माछासमेत यसमा पर्छ । पूजाआजाका क्रममा बलि दिने प्रथा भएकाले बलि दिइएको जनावरको मासु घरमा ल्याएर खाने परम्परा रहिआएको छ।

तर स्वास्थ्यविद्हरूका अनुसार दशैँमा आवश्यकता भन्दा बढी मासु सेवन गर्ने प्रवृत्ति स्वास्थ्यका हिसाबले हानिकारक हुन्छ। पेटको समस्या, उच्च रक्तचाप, मधुमेह र मुटुरोग जस्ता दीर्घरोग भएका व्यक्तिहरूलाई यो अझ बढी जोखिमपूर्ण हुने गर्दछ। मासु खानु नराम्रो होइन तर यसको मात्रा, पकाउने तरिका र सँगै खाने अन्य खानेकुरामा ध्यान दिन जरुरी हुन्छ।

मासुमा प्रोटिन, फलाम, भिटामिन बि -१२, जिंक, फस्फोरस र आवश्यक एमिनो एसिड पाइने भएकाले यसलाई पौष्टिक आहार मानिन्छ। खसी-बोकाको मासु फलाम र प्रोटिनयुक्त हुन्छ भने कुखुराको मासु कम बोसोयुक्त र सजिलै पच्ने हुन्छ। माछामा ओमेगा-३ फ्याटी एसिड हुने भएकाले मुटु र मस्तिष्क स्वास्थ्यका लागि लाभदायी मानिन्छ। तर यी सबै गुण फाइदाजनक हुनका लागि मासु सन्तुलित मात्रामा र स्वास्थ्यप्रद तरिकाले सेवन गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

दशैँमा अत्यधिक मासु खाँदा अपच, पेट फुल्ने, कब्जियत, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि, मधुमेह र मोटोपनाको समस्या देखिने गरेको पाइएको छ। विशेषज्ञहरूका अनुसार वयस्क व्यक्तिले एक दिनमा करिब ७५ देखि १०० ग्राम मात्र मासु सेवन गर्नु उपयुक्त हुन्छ। बिहान हल्का खाना र दिउँसो वा बेलुकी थोरै मात्रामा मासु खान सकिन्छ।

मासु पकाउने तरिका पनि स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। भुटेर वा तेलमा डुबाएर खाने भन्दा उमालेर, सेकाएर खाँदा शरीरलाई फाइदा हुन्छ। पकाउँदा धेरै तेल, घ्यु, नुन र मसला प्रयोग नगरी हल्का हरियो सागसब्जीसंग मिसाएर पकाउन सकिन्छ । बोसोयुक्त भाग हटाएर पकाउँदा अझ राम्रो हुन्छ।

मासु मात्र खाँदा शरीरमा फाइबरको कमी हुन्छ जसले पाचन समस्याहरू ल्याउँछ। त्यसैले मासुसँगै हरियो तरकारी, सलाद, फलफूल, दाल र अन्नको सन्तुलन मिलाउन आवश्यक हुन्छ। फलफूलले भिटामिन सी प्रदान गर्ने भएकाले मासुमा पाइने फलाम शरीरले सजिलै अवशोषण गर्न सक्छ। प्रशस्त पानी पिउनु पनि उतिकै जरुरी हुन्छ।

यस्तो समयमा स्वास्थ्य समस्या भएका व्यक्तिहरूले अझ बढी सावधानी अपनाउनुपर्ने हुन्छ । उच्च रक्तचाप, मुटुरोग, मधुमेह भएका बिरामी, वृद्ध र बालबालिकाले चिकित्सकको सल्लाहअनुसार मात्र मासु खानु उपयुक्त हुन्छ। यस्तै दशैँमा रमाइलो गर्ने क्रममा मदिरा सेवनको मात्रा पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकहरूको सुझाव छ, किनकि मासुसँग मदिरा धेरै सेवन गर्दा पेट र कलेजोमा गम्भीर असर पर्न सक्छ।

त्यसैले अरुबेला भन्दा पनि दशैमा मासुको प्रयोग धेरै हुने हुँदा दशैँमा सन्तुलित खानपान अपनाउनुपर्ने हुन्छ । मासु सीमित मात्रामा खानु, तरकारी र फलफूललाई अनिवार्य समावेश गर्नु , प्राकृतिक मसला प्रयोग गरी पकाउनु, दिनमा दुई पटकभन्दा बढी मासु नखानु र नियमित व्यायाम वा पैदल हिँड्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायी हुने मानिन्छ।

दशैँ परिवारसँगै रमाउने र उत्सव मनाउने समय हो। स्वादिलो खानेकुरा खाएर रमाइलो गर्नु परम्पराको हिस्सा भए पनि स्वास्थ्यलाई बेवास्ता गर्नु उचित हुँदैन। परम्परा जोगाउँदै मासु सेवनमा सन्तुलन अपनाउन सकियो भने दशैँ अझै रमाइलो, सुरक्षित र अर्थपूर्ण हुनेछ।

नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं – आज आश्विन शुक्ल नवमीका दिन नवरात्रको अन्तिम दिनका रूपमा सिद्धिदात्री देवीको विशेष पूजा आराधना गरिन्छ । नवदुर्गामध्ये नवौँ स्वरूप मानिने देवीको आराधना गर्दा मोक्ष प्राप्त गरिने विश्वाश भएकाले ‘सिद्धिदात्री’ भनिन्छ।

घटस्थापनादेखि सुरु भएको नवरात्रमा प्रत्येक दिन फरक–फरक देवीको आह्वान गरी पूजा आराधना गर्ने वैदिक परम्परा छ। यसक्रममा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरीको पूजा सम्पन्न भइसकेको छ। आज अन्तिम दिन सिद्धिदात्री देवीलाई विशेष विधिअनुसार आराधना गरिँदैछ।

धर्मशास्त्रका अनुसार नौ दुर्गाको स्मरण मात्रले पनि दुःख कष्ट हट्ने र मनोकामना पूरा हुने विश्वास छ। यसै कारण आज देशभरका शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। घरघरमा पनि विशेष पूजा, बलिप्रथा र प्रसाद चढाउने प्रचलन छ।

यसवर्ष विजयादशमीमा बिहान ११ः५३ बजे टीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नवरात्रमा चढाइएका प्रसादलाई विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा रहिआएको छ।

नवरात्रिको सातौँ दिन: घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ -आज नवरात्रिको सातौँ दिन,आश्विन शुक्ल सप्तमी, देवी कालरात्रि स्वरुपा दुर्गा भवानीको विशेष पूजा अर्चना गरि घर–घरमा फूलपाती भित्र्याउने गरिन्छ ।

बडा दशैंको सातौँ दिन आज दुर्गा भवानीको सातौँ स्वरूप कालरात्रिको विधिवत अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी पूजा गर्ने गरिन्छ । शास्त्रीय विधिअनुसार आज घर–घरमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याएर मनाइन्छ । शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष फूलपातीको रुपमा भित्र्याउने गरिन्छ ।

काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा आज बाजागाजा सहित गोर्खा दरबारबाट ल्याइएको फूलपाती भित्र्याइन्छ। गोरखा दरबारस्थित दशैं घरबाट आज शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाइन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायाण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि, हरेक वर्ष गोरखा दरबारको दशैं घरबाट ल्याइएको फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा भित्र्याउने प्रचलन रहँदै आएको छ ।

आज घटस्थापना: नवरात्रिको प्रारम्भ

आज घटस्थापना अर्थात् जमरा राख्ने दिन। आजको दिनबाट विधिवत रुपमा दशैँ सुरु भएको मानिन्छ। आजको दिनबाट नवरात्रिको प्रारम्भ भएको पनि मानिन्छ।आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

दशैंको पहिलो दिन घटस्थापनाको शुभ साइत आज बिहान ९ बजेर १३ मिनेटमा रहेको छ। चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्ने गरिन्छ। चित्रा र वैधृति योग परेका वेला, त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि रहिआएको छ ।आज सबैले आ-आफ्नो घरमा साइतको समयमा जमरा राख्ने गर्दछन्। आज घरको पूजा कक्ष वा घरभित्रको कुनै सफा ठाउँमा दियो,कलश र गणेश स्थापना गरेर जमरा राख्ने र नवरात्रिको अन्तिम दिन सम्म हरेक बिहान जमराको पुजा गर्ने गरिन्छ।

थोरै बालुवा मिसिएको माटोमा जौ छरेर त्यसमा उज्यालो नछिर्ने गरि उमारिन्छ र यसरी १० दिनसम्म अंकुराएको यिनै अन्नका अंकुरणहरुलाई दशैंको टिकाको दिनमा जमराको रुपमा प्रयोग गरिन्छ। त्यसो त पछिल्लो समय जमरा उमार्ने क्रममा जौ सँगै धान, मकै र गहुँको पनि प्रयोग गरिने गरेको पाइएको छ।

नवरात्रमा दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक आह्वान गरी पूजा–आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पुज्ने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ र चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न दुर्गाले लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष आराधना गर्ने गरिन्छ ।

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा–आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । त्यसैले, दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना गरिन्छा।सनातन वैदिक धर्मावलम्बी हिन्दुहरूको महान् पर्व, दसैँको टिकाको दिन शिरमा जमरा लगाउने संस्कृति दशैंको एउटा महत्वपूर्ण पाटो मानिन्छ।

दशैंको टिकाको उत्तम साइत बिहान ११ : ५१ बजे

बडा दशैं २०७९ को टिका तथा प्रसाद ग्रहणका लागि ११ : ५१ बजेको साइत उत्तम रहेको छ।

दशमी अर्थात टिकाको दिन दुर्गा विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । देवी विसर्जनको साइत बिहान १० : ३४ बजे उत्तम रहेको छ भने टिका तथा प्रसाद ग्रहणका लागि ११ : ५१ बजेको साइत उत्तम रहेको छ।

टिकाको दिन मान्यजन र आफन्तको हातबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । दशैंको टिका दशमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने शास्त्रीय मान्यता रहेको छ । तर केहि मानिसहरुले भने दशमीको एक दिन मात्र दशैं को टिका लगाउने गरेको पनि पाइन्छ।

rajan sir

राजन भुजेल, काठमाडौँ
नेपाल राष्ट्रिय दैनिक

दशैँ दशा नबनोस…..

यतिबेला सिङ्गो देश दशैँमय बनेको छ। घर भन्दा पर रहेका नेपालीहरु पनि दशैं मनाउन आ-आफ्नो गाउँघर फर्किएका छन्। हरेक नेपालीको घरमा दशैँको रौनक छाएको छ। दशैँ भन्ने वित्तिकै मलाई पनि खसीको कान पोलेर खाएको त्यो बालापनको याद आउँछ। हाम्रो नेपाली समाजमा दशैँ र खसी एक-अर्काको पर्याय जस्तै बनेको छ।त्यसमाथी पनि पछिल्लो समय जमघट वा रमाइलो गर्ने वा कुनै पर्व या उत्सव मनाउने भन्ने वित्तिकै मदिरा र मासु अपरिहार्य जस्तै बनेको छ। कहिलेकहिँ त अब साँच्चिकै रमाइलोको शाब्दिक अर्थ नै परिवर्तन गर्नुपर्ने हो कि भन्ने जस्तो पनि लाग्छ। यस्तो लाग्छ, कि सायद हामीले मदिरा र मासु बिना त रमाइलो गर्न नै बिर्सिसक्यौं।

त्यसमाथी पनि दशैँ भनेपछि आजकल प्राय हरेकको घरमा खसी काट्ने प्रचलन छ। म सानो-सानै छँदाको कुरा हो, त्यतिबेला, गच्छे अनुसारको चाडपर्व मनाउँ भन्ने कुरा रेडियो, टिभीमा पनि व्यापक सुन्न र हेर्न पाइन्थ्यो। त्यस्तै सन्देश दिने खालको मह जोडीको सिरियल पनि आउंथ्यो। सायद अहिले सबैको गच्छे बढेर होकी न कतै त्यस्तो सन्देश सुनिन्छ न त्यस्तो सिरियल नै देख्न पाइन्छ। त्यसैले पनि होला आजकल प्राय सबैको घरमा दशैँमा खसी काट्ने गरेको देखिन्छ। नेपालीको जिवनस्तर सुधार हुँदै जानु र जीवनयापन गर्ने शैलीमा विकास हुनु समाजको एउटा निकै सुन्दर पक्ष मान्छु म। दशैंमा खसी काट्ने कुरा पनि कहिंकतै दशैँकै एउटा पाटो मान्न सकिन्छ। तर दशैंमा हरेक घरमा खसी काट्ने कुरा परम्पराकै शैलीमा अघि बढ्दै गर्दा भोलि कहिंकतै(श्राद्धमा बिरालो बाँध्ने भनेजस्तै ) हाम्रो संस्कृतिको नाममा कुरीति सृजना नहोस ।

संस्कृति र परम्परा आफ्नो ठाउँमा ठिकै होलान। तर सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो स्वास्थ्य हो। चाडपर्व , उत्सव र भोज भन्ने वित्तिकै हामीकहाँ विभिन्न परिकार बन्ने गर्छ। अनि हामीलाई चाख्न मात्र भएपनि थोरै-थोरै पाकेको जति सबै खानेकुरा खानुपर्छ। त्यसमा पनि दशैँको बेला मासुको परिकार धेरै हुने गर्दछ। तसर्थ हामीले हाम्रो स्वास्थ्यको निकै ख्याल गर्नुपर्दछ। अझ खासगरी बच्चाबच्ची, बुढाबुढी र दीर्घ रोगी मानिसहरुले यो बेला खानेकुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ। हामी आज दशैँ भएर त हो, भोलीबाट कसले खान्छ र भनेर अलि बेसि र शरीरलाई फाइदा नगर्ने चिज पनि खाइरहेका हुन्छौँ। कहिले मदिरा सेवन नगर्नेले पनि दशैँमा त खानुपर्छ भनेर परिवार र साथीभाइको लह-लहैमा मदिरा सेवन गर्छौं। यस्तो बेला सँधै खाइरहनेलाई भन्दा झन् त्यो नखाइरहनेलाई धेरै असर गर्छ। किनकी हाम्रो शरीरले ति चिजहरुलाई पहिला फेस गरेकै हुँदैन र शरीरलाई ति चिजहरुसंग एकैपटक एड्जस्ट गर्न गाह्रो हुन्छ। अरुबेला खाइरहनेहरुले पनि दशैँ त हो नि , रमाइलो गर्नुपर्छ भन्ने हिसाबमा आफ्नो शरीरले धान्ने भन्दा बढी खानु भने हुँदैन,चाहे त्यो मासु होस् या मदिरा। त्यसमाथी पनि मदिरा सेवन गरेर सवारी चलाउने र रमाइलोको नाममा घुम्न निस्किने, अझ भनौँ एकछिन हावा खान निस्किने भन्ने तपाइँ हाम्रो बानीले दुर्घटना निम्त्याउन सक्छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउंदा दशैँ दशा बन्न सक्छ, यसबारे पनि हामि सचेत हुनु जरुरि छ।

त्यस्तै अर्को कुरा, हामि दशैँमा माछा मासु पकाउँदा मिठो बनाउने र पक्कु लगाउने भनेर धेरै थरिका मसला प्रयोग गर्ने गर्छौं, धेरै तेल हालेर मासु तार्छौं। अत्याधिक मसला र चिल्लो भएका खानेकुरा खाँदा त मिठै होला तर यसले शरीरमा निकै खराब असर पुर्‍याउँदछ। त्यसैले सकभर कम मसला र कम तेलको प्रयोग गरेर खानेकुरा बनाउँ। अझ अहिले साथीभाइ जम्मा भएर बार्बीक्युको नाममा मासु पोलेर खाने जुन गरिन्छ त्यो झन् स्वाथ्यको लागि सबैभन्दा घातक हुन्छ। अर्को महत्वपूर्ण कुरा भनेको, चाख्ने भन्दै खसि, कुखुराको मासु र माछा १-२ पिस गरेर एकैपटकमा सबै प्रकारको मासु खानु पनि स्वास्थ्यको लागि घातक हुन्छ । त्यसमाथी पनि मुटु रोग ,उच्च रक्तचाप, मधुमेह र युरिक एसिड जस्ता रोग लागेका मानिसहरुले मासु सेवन गर्दा अझ विशेष ख्याल गर्नुपर्ने हुन्छ। दशैंको बेला प्राय मासु एकैपटक बनाएर फ्रिज गरेर राख्ने र पटक-पटक तताउँदै खाने गरिन्छ। यसले मासुलाई झनै विषाक्त बनाउँछ। त्यस्तो मासु खाँदा एकातर्फ खानाको पौष्टिक तत्व नष्ट हुने र अर्कोतर्फ फुड पोइजन समेत हुन सक्छ। त्यसको सट्टा बरु काँचो मासु नै फ्रिज गरेर राख्ने र आवश्यकता अनुसार मात्र थोरै-थोरै पकाउने गर्नुपर्दछ। मासु सँगै हरियो सागसब्जी र अन्य तरकारी पनि पकाएर, मासु र सागसब्जी व्यालेन्स मिलाएर खाएमा केहि हदसम्म त्यसले निकै राम्रो फाइदा गर्छ। मासुको तुलनामा सागसब्जीको पाचन प्रक्रिया छिट्टो हुने हुँदा मासुसंगै सागसब्जी मिलाएर खाँदा पाचन प्रक्रिया छिट्टो हुन्छ।

तसर्थ, दशैँ त हो नि भनेर आफ्नो शरीरलाई नै अपाच्य हुने गरि मासु र मदिराको प्रयोग नगरौँ। सकभर मासु र मदिराको प्रयोग निकै न्यून मात्रामा गरौँ। फलानोको घरमा खसी काटेको छ रे भनेर , देखाउनकै निम्ति ऋण धन गरेर होइन, आफ्नो गच्छे अनुसार रमाइलो गरेर दशैँ मनाउँ। दशैँ, दशैँ जस्तै रहोस, कसैको दशा नबनोस्। दुर्गा भवानीको कृपा र आशिर्वादले यो दशैँ सुखद र हर्षोल्लासका साथ् बितोस। तपाइको जीवन सुखी र खुसी रहोस्। विजया दशमीको शुभकामना !

आज घटस्थापना: नवरात्रिको प्रारम्भ

आज घटस्थापना अर्थात् जमरा राख्ने दिन। आजको दिनबाट विधिवत रुपमा दशैँ सुरु भएको मानिन्छ। आजको दिनबाट नवरात्रिको प्रारम्भ भएको पनि मानिन्छ।आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।  

दशैंको पहिलो दिन घटस्थापनाको शुभ साइत आज बिहान १०:२३ बजे रहेको छ। चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्ने गरिन्छ। चित्रा र वैधृति योग परेका वेला, त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि रहिआएको छ ।आज सबैले आ-आफ्नो घरमा साइतको समयमा जमरा राख्ने गर्दछन्। आज घरको पूजा कक्ष वा घरभित्रको कुनै सफा ठाउँमा दियो,कलश र गणेश स्थापना गरेर जमरा राख्ने र नवरात्रिको अन्तिम दिन सम्म हरेक बिहान जमराको पुजा गर्ने गरिन्छ।

थोरै बालुवा मिसिएको माटोमा जौ छरेर त्यसमा उज्यालो नछिर्ने गरि उमारिन्छ र यसरी १० दिनसम्म अंकुराएको यिनै अन्नका अंकुरणहरुलाई दशैंको टिकाको दिनमा जमराको रुपमा प्रयोग गरिन्छ। त्यसो त पछिल्लो समय जमरा उमार्ने क्रममा जौ सँगै धान, मकै र गहुँको पनि प्रयोग गरिने गरेको पाइएको छ।

नवरात्रमा दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक आह्वान गरी पूजा–आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पुज्ने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ र चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न दुर्गाले लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष आराधना गर्ने गरिन्छ ।

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा–आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । त्यसैले, दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना गरिन्छा।सनातन वैदिक धर्मावलम्बी हिन्दुहरूको महान् पर्व, दसैँको टिकाको दिन शिरमा जमरा लगाउने संस्कृति दशैंको एउटा महत्वपूर्ण पाटो मानिन्छ।