आज विजयादशमी…..

काठमाडौं — आज विजयादशमी, बडादशैंको मुख्य दिन, नेपालभर दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मान्यजनको आशिष र विभिन्न प्रकारका भोजन सहित यो पर्व मनाइन्छ । घरघरमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरिएको प्रसाद आज मान्यजनको हातबाट ग्रहण गर्ने प्रचलन छ।

आज टीका लगाउने शुभ साइत बिहान ११:५३ बजे रहेको छ भने टीका लगाउने व्यक्तिले पूर्व फर्कनु र लगाइदिनेले पश्चिम फर्कनु उपयुक्त मानिन्छ।

घटस्थापनादेखि जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीदेवताको विसर्जन साइत आज बिहान ९:२३ मा रहेको छ। दशैँमा टीकासँगै पहेंलो जमरा समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ।आयुर्वेद विज्ञहरूका अनुसार जमरा औषधीय गुणयुक्त हुन्छ।

विजयादशमी सत्यको असत्यमाथि र दैवीशक्तिको आसुरीशक्तिमाथि विजयको प्रतीकका रूपमा पनि मनाइन्छ। धार्मिक विश्वासअनुसार त्रेता युगमा आजकै दिन भगवान रामले रावणमाथि विजय प्राप्त गरेकाले यो दिनलाई “विजयादशमी” भनिएको हो।

यस दिन आमा–बुबा, हजुरबुबा–हजुरआमा तथा गुरु–पुरोहितको हातबाट टीका र जमरा थापी आयु, ऐश्वर्य, दीर्घायु, ज्ञान–विज्ञान र कीर्तिको आशीर्वाद लिने चलन छ। टीका लगाउँदा विशेष वैदिक मन्त्र उच्चारण गरी आशीर्वाद दिने प्रथा आज पनि प्रचलित छ।

विजयादशमीमा टीका लगाइदिँदा पुरुषका लागीआशीर्वाद स्वरुप भनिने मन्त्र:

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस्।

छोरी चेलीलाई आशिर्वाद दिने मन्त्र भने फरक रहेको छ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका–जमरा थाप्ने चलन रहने भए पनि कतिपय ठाउँमा परम्पराअनुसार आजै टीका–जमरा लगाएर देवी विसर्जन गर्ने परम्परा छ।

नेपालभर आज बिहानैदेखि मान्यजनबाट टीका–जमरा ग्रहण गर्न जानेहरूको भीड देखिन्छ। यसरी विजयादशमी नेपाली समाजमा हर्षोल्लास, आशीर्वाद र धार्मिक आस्थासहित मनाइँदैछ।

दशैँमा मासु सेवन : परम्परा, स्वास्थ्य र सन्तुलन

काठमाडौं – दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड हो। यसलाई परिवार, उत्सव र मिलनको पर्वका रूपमा मनाइन्छ। चाड आउनासाथ बजारमा चहलपहल बढ्छ, मानिसहरू नयाँ कपडा किन्ने, घर सरसफाइ गर्ने मात्र होइन, खानपानको तयारीमा पनि रमाउने गर्छन्। दशैँमा विभिन्न परिकारहरू पाक्दै गर्दा सबैभन्दा धेरै खाइनेमा मासु पर्ने गर्छ ।खसी- बोकाको मासु, कुखुराको मासु, भेडा वा च्याङ्ग्राको मासु र कहिलेकाहीँ माछासमेत यसमा पर्छ । पूजाआजाका क्रममा बलि दिने प्रथा भएकाले बलि दिइएको जनावरको मासु घरमा ल्याएर खाने परम्परा रहिआएको छ।

तर स्वास्थ्यविद्हरूका अनुसार दशैँमा आवश्यकता भन्दा बढी मासु सेवन गर्ने प्रवृत्ति स्वास्थ्यका हिसाबले हानिकारक हुन्छ। पेटको समस्या, उच्च रक्तचाप, मधुमेह र मुटुरोग जस्ता दीर्घरोग भएका व्यक्तिहरूलाई यो अझ बढी जोखिमपूर्ण हुने गर्दछ। मासु खानु नराम्रो होइन तर यसको मात्रा, पकाउने तरिका र सँगै खाने अन्य खानेकुरामा ध्यान दिन जरुरी हुन्छ।

मासुमा प्रोटिन, फलाम, भिटामिन बि -१२, जिंक, फस्फोरस र आवश्यक एमिनो एसिड पाइने भएकाले यसलाई पौष्टिक आहार मानिन्छ। खसी-बोकाको मासु फलाम र प्रोटिनयुक्त हुन्छ भने कुखुराको मासु कम बोसोयुक्त र सजिलै पच्ने हुन्छ। माछामा ओमेगा-३ फ्याटी एसिड हुने भएकाले मुटु र मस्तिष्क स्वास्थ्यका लागि लाभदायी मानिन्छ। तर यी सबै गुण फाइदाजनक हुनका लागि मासु सन्तुलित मात्रामा र स्वास्थ्यप्रद तरिकाले सेवन गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

दशैँमा अत्यधिक मासु खाँदा अपच, पेट फुल्ने, कब्जियत, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि, मधुमेह र मोटोपनाको समस्या देखिने गरेको पाइएको छ। विशेषज्ञहरूका अनुसार वयस्क व्यक्तिले एक दिनमा करिब ७५ देखि १०० ग्राम मात्र मासु सेवन गर्नु उपयुक्त हुन्छ। बिहान हल्का खाना र दिउँसो वा बेलुकी थोरै मात्रामा मासु खान सकिन्छ।

मासु पकाउने तरिका पनि स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। भुटेर वा तेलमा डुबाएर खाने भन्दा उमालेर, सेकाएर खाँदा शरीरलाई फाइदा हुन्छ। पकाउँदा धेरै तेल, घ्यु, नुन र मसला प्रयोग नगरी हल्का हरियो सागसब्जीसंग मिसाएर पकाउन सकिन्छ । बोसोयुक्त भाग हटाएर पकाउँदा अझ राम्रो हुन्छ।

मासु मात्र खाँदा शरीरमा फाइबरको कमी हुन्छ जसले पाचन समस्याहरू ल्याउँछ। त्यसैले मासुसँगै हरियो तरकारी, सलाद, फलफूल, दाल र अन्नको सन्तुलन मिलाउन आवश्यक हुन्छ। फलफूलले भिटामिन सी प्रदान गर्ने भएकाले मासुमा पाइने फलाम शरीरले सजिलै अवशोषण गर्न सक्छ। प्रशस्त पानी पिउनु पनि उतिकै जरुरी हुन्छ।

यस्तो समयमा स्वास्थ्य समस्या भएका व्यक्तिहरूले अझ बढी सावधानी अपनाउनुपर्ने हुन्छ । उच्च रक्तचाप, मुटुरोग, मधुमेह भएका बिरामी, वृद्ध र बालबालिकाले चिकित्सकको सल्लाहअनुसार मात्र मासु खानु उपयुक्त हुन्छ। यस्तै दशैँमा रमाइलो गर्ने क्रममा मदिरा सेवनको मात्रा पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकहरूको सुझाव छ, किनकि मासुसँग मदिरा धेरै सेवन गर्दा पेट र कलेजोमा गम्भीर असर पर्न सक्छ।

त्यसैले अरुबेला भन्दा पनि दशैमा मासुको प्रयोग धेरै हुने हुँदा दशैँमा सन्तुलित खानपान अपनाउनुपर्ने हुन्छ । मासु सीमित मात्रामा खानु, तरकारी र फलफूललाई अनिवार्य समावेश गर्नु , प्राकृतिक मसला प्रयोग गरी पकाउनु, दिनमा दुई पटकभन्दा बढी मासु नखानु र नियमित व्यायाम वा पैदल हिँड्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायी हुने मानिन्छ।

दशैँ परिवारसँगै रमाउने र उत्सव मनाउने समय हो। स्वादिलो खानेकुरा खाएर रमाइलो गर्नु परम्पराको हिस्सा भए पनि स्वास्थ्यलाई बेवास्ता गर्नु उचित हुँदैन। परम्परा जोगाउँदै मासु सेवनमा सन्तुलन अपनाउन सकियो भने दशैँ अझै रमाइलो, सुरक्षित र अर्थपूर्ण हुनेछ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौं – दशैंको नवौं दिन अर्थात् महानवमीका अवसरमा आज हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। बिहानैदेखि भक्तजनहरू दर्शन र पूजा गर्न लामबद्ध भएका छन्।

नेवार समुदायको इष्टदेवीका रूपमा पूजिने तलेजु भवानीलाई मातृशक्ति र दैवीशक्तिको प्रतीकका रूपमा पनि मानिन्छ। नवरात्रको सातौं दिन फूलपातीकै अवसरमा देवीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याइने परम्परा छ भने विजयादशमीको दिन बिहान पुनः मूल मन्दिरमा फर्काइन्छ।

महाअष्टमीको राति मूलचोकमा विधिपूर्वक कालरात्रि पूजा सम्पन्न गरिन्छ। यस क्रममा ५४ वटा राँगा र ५४ वटा बोका बलि दिने चलन छ। यो परम्परा राज्य संचालनमा बल र शक्ति प्राप्त होस् भन्ने विश्वासमा आधारित छ।

महानवमीका दिन काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरहरूमा विशेष पूजा, बलि तथा दुर्गासप्तशती, देवीभागवत र अन्य स्तोत्रको पाठ गरिन्छ।

आज महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

काठमाडौँ- बडादशैँ एवं नवरात्रको नवौँ दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ।

सोही अनुसार आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रिको सातौँ दिन: घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ -आज नवरात्रिको सातौँ दिन,आश्विन शुक्ल सप्तमी, देवी कालरात्रि स्वरुपा दुर्गा भवानीको विशेष पूजा अर्चना गरि घर–घरमा फूलपाती भित्र्याउने गरिन्छ ।

बडा दशैंको सातौँ दिन आज दुर्गा भवानीको सातौँ स्वरूप कालरात्रिको विधिवत अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी पूजा गर्ने गरिन्छ । शास्त्रीय विधिअनुसार आज घर–घरमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याएर मनाइन्छ । शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष फूलपातीको रुपमा भित्र्याउने गरिन्छ ।

काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा आज बाजागाजा सहित गोर्खा दरबारबाट ल्याइएको फूलपाती भित्र्याइन्छ। गोरखा दरबारस्थित दशैं घरबाट आज शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाइन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायाण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि, हरेक वर्ष गोरखा दरबारको दशैं घरबाट ल्याइएको फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा भित्र्याउने प्रचलन रहँदै आएको छ ।