दशैँ दशा नबनोस…..

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ आश्विन २०७९, सोमबार ०९:२१
dashain bijaya dashami

यतिबेला सिङ्गो देश दशैँमय बनेको छ। घर भन्दा पर रहेका नेपालीहरु पनि दशैं मनाउन आ-आफ्नो गाउँघर फर्किएका छन्। हरेक नेपालीको घरमा दशैँको रौनक छाएको छ। दशैँ भन्ने वित्तिकै मलाई पनि खसीको कान पोलेर खाएको त्यो बालापनको याद आउँछ। हाम्रो नेपाली समाजमा दशैँ र खसी एक-अर्काको पर्याय जस्तै बनेको छ।त्यसमाथी पनि पछिल्लो समय जमघट वा रमाइलो गर्ने वा कुनै पर्व या उत्सव मनाउने भन्ने वित्तिकै मदिरा र मासु अपरिहार्य जस्तै बनेको छ। कहिलेकहिँ त अब साँच्चिकै रमाइलोको शाब्दिक अर्थ नै परिवर्तन गर्नुपर्ने हो कि भन्ने जस्तो पनि लाग्छ। यस्तो लाग्छ, कि सायद हामीले मदिरा र मासु बिना त रमाइलो गर्न नै बिर्सिसक्यौं।

त्यसमाथी पनि दशैँ भनेपछि आजकल प्राय हरेकको घरमा खसी काट्ने प्रचलन छ। म सानो-सानै छँदाको कुरा हो, त्यतिबेला, गच्छे अनुसारको चाडपर्व मनाउँ भन्ने कुरा रेडियो, टिभीमा पनि व्यापक सुन्न र हेर्न पाइन्थ्यो। त्यस्तै सन्देश दिने खालको मह जोडीको सिरियल पनि आउंथ्यो। सायद अहिले सबैको गच्छे बढेर होकी न कतै त्यस्तो सन्देश सुनिन्छ न त्यस्तो सिरियल नै देख्न पाइन्छ। त्यसैले पनि होला आजकल प्राय सबैको घरमा दशैँमा खसी काट्ने गरेको देखिन्छ। नेपालीको जिवनस्तर सुधार हुँदै जानु र जीवनयापन गर्ने शैलीमा विकास हुनु समाजको एउटा निकै सुन्दर पक्ष मान्छु म। दशैंमा खसी काट्ने कुरा पनि कहिंकतै दशैँकै एउटा पाटो मान्न सकिन्छ। तर दशैंमा हरेक घरमा खसी काट्ने कुरा परम्पराकै शैलीमा अघि बढ्दै गर्दा भोलि कहिंकतै(श्राद्धमा बिरालो बाँध्ने भनेजस्तै ) हाम्रो संस्कृतिको नाममा कुरीति सृजना नहोस ।

संस्कृति र परम्परा आफ्नो ठाउँमा ठिकै होलान। तर सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो स्वास्थ्य हो। चाडपर्व , उत्सव र भोज भन्ने वित्तिकै हामीकहाँ विभिन्न परिकार बन्ने गर्छ। अनि हामीलाई चाख्न मात्र भएपनि थोरै-थोरै पाकेको जति सबै खानेकुरा खानुपर्छ। त्यसमा पनि दशैँको बेला मासुको परिकार धेरै हुने गर्दछ। तसर्थ हामीले हाम्रो स्वास्थ्यको निकै ख्याल गर्नुपर्दछ। अझ खासगरी बच्चाबच्ची, बुढाबुढी र दीर्घ रोगी मानिसहरुले यो बेला खानेकुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ। हामी आज दशैँ भएर त हो, भोलीबाट कसले खान्छ र भनेर अलि बेसि र शरीरलाई फाइदा नगर्ने चिज पनि खाइरहेका हुन्छौँ। कहिले मदिरा सेवन नगर्नेले पनि दशैँमा त खानुपर्छ भनेर परिवार र साथीभाइको लह-लहैमा मदिरा सेवन गर्छौं। यस्तो बेला सँधै खाइरहनेलाई भन्दा झन् त्यो नखाइरहनेलाई धेरै असर गर्छ। किनकी हाम्रो शरीरले ति चिजहरुलाई पहिला फेस गरेकै हुँदैन र शरीरलाई ति चिजहरुसंग एकैपटक एड्जस्ट गर्न गाह्रो हुन्छ। अरुबेला खाइरहनेहरुले पनि दशैँ त हो नि , रमाइलो गर्नुपर्छ भन्ने हिसाबमा आफ्नो शरीरले धान्ने भन्दा बढी खानु भने हुँदैन,चाहे त्यो मासु होस् या मदिरा। त्यसमाथी पनि मदिरा सेवन गरेर सवारी चलाउने र रमाइलोको नाममा घुम्न निस्किने, अझ भनौँ एकछिन हावा खान निस्किने भन्ने तपाइँ हाम्रो बानीले दुर्घटना निम्त्याउन सक्छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउंदा दशैँ दशा बन्न सक्छ, यसबारे पनि हामि सचेत हुनु जरुरि छ।

त्यस्तै अर्को कुरा, हामि दशैँमा माछा मासु पकाउँदा मिठो बनाउने र पक्कु लगाउने भनेर धेरै थरिका मसला प्रयोग गर्ने गर्छौं, धेरै तेल हालेर मासु तार्छौं। अत्याधिक मसला र चिल्लो भएका खानेकुरा खाँदा त मिठै होला तर यसले शरीरमा निकै खराब असर पुर्‍याउँदछ। त्यसैले सकभर कम मसला र कम तेलको प्रयोग गरेर खानेकुरा बनाउँ। अझ अहिले साथीभाइ जम्मा भएर बार्बीक्युको नाममा मासु पोलेर खाने जुन गरिन्छ त्यो झन् स्वाथ्यको लागि सबैभन्दा घातक हुन्छ। अर्को महत्वपूर्ण कुरा भनेको, चाख्ने भन्दै खसि, कुखुराको मासु र माछा १-२ पिस गरेर एकैपटकमा सबै प्रकारको मासु खानु पनि स्वास्थ्यको लागि घातक हुन्छ । त्यसमाथी पनि मुटु रोग ,उच्च रक्तचाप, मधुमेह र युरिक एसिड जस्ता रोग लागेका मानिसहरुले मासु सेवन गर्दा अझ विशेष ख्याल गर्नुपर्ने हुन्छ। दशैंको बेला प्राय मासु एकैपटक बनाएर फ्रिज गरेर राख्ने र पटक-पटक तताउँदै खाने गरिन्छ। यसले मासुलाई झनै विषाक्त बनाउँछ। त्यस्तो मासु खाँदा एकातर्फ खानाको पौष्टिक तत्व नष्ट हुने र अर्कोतर्फ फुड पोइजन समेत हुन सक्छ। त्यसको सट्टा बरु काँचो मासु नै फ्रिज गरेर राख्ने र आवश्यकता अनुसार मात्र थोरै-थोरै पकाउने गर्नुपर्दछ। मासु सँगै हरियो सागसब्जी र अन्य तरकारी पनि पकाएर, मासु र सागसब्जी व्यालेन्स मिलाएर खाएमा केहि हदसम्म त्यसले निकै राम्रो फाइदा गर्छ। मासुको तुलनामा सागसब्जीको पाचन प्रक्रिया छिट्टो हुने हुँदा मासुसंगै सागसब्जी मिलाएर खाँदा पाचन प्रक्रिया छिट्टो हुन्छ।

तसर्थ, दशैँ त हो नि भनेर आफ्नो शरीरलाई नै अपाच्य हुने गरि मासु र मदिराको प्रयोग नगरौँ। सकभर मासु र मदिराको प्रयोग निकै न्यून मात्रामा गरौँ। फलानोको घरमा खसी काटेको छ रे भनेर , देखाउनकै निम्ति ऋण धन गरेर होइन, आफ्नो गच्छे अनुसार रमाइलो गरेर दशैँ मनाउँ। दशैँ, दशैँ जस्तै रहोस, कसैको दशा नबनोस्। दुर्गा भवानीको कृपा र आशिर्वादले यो दशैँ सुखद र हर्षोल्लासका साथ् बितोस। तपाइको जीवन सुखी र खुसी रहोस्। विजया दशमीको शुभकामना !

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५