नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री: बिपी कोइरालाको जीवनयात्रा

नेपाली राजनीति, साहित्य र समाज सुधारका लागि अविस्मरणीय योगदान दिएका विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको नाम नेपालको इतिहासमा उच्च स्थानमा रहेको छ। बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भारतको बनारसमा भएको थियो। उनका पिता कृष्णप्रसाद कोइराला नेपाली राजनीतिक आन्दोलनका एक महत्त्वपूर्ण व्यक्तित्व थिए।

बिपी कोइरालाले प्रारम्भिक शिक्षा भारतमै प्राप्त गरे। उनले विज्ञान विषय अध्ययन गरे पनि पछि कानुनको अध्ययन पूरा गरी वकालत गर्न थाले। तर, नेपालमा लोकतान्त्रिक आन्दोलन उत्कर्षमा पुगेपछि उनी राजनीतिक यात्रामा सक्रिय बने।

राणा शासनविरुद्ध संघर्षरत रहँदा बिपी कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि नेपाली कांग्रेसका रूपमा स्थापित भयो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे। राजा त्रिभुवनको नेतृत्वमा राणा शासन अन्त्य भएपछि बिपी कोइराला नेपाल सरकारका गृहमन्त्री बने। २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा ठूलो जीत हात पार्दै उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने।

प्रधानमन्त्रीको रूपमा रहँदा बिपी कोइरालाले कृषि सुधार, शिक्षा सुधार, औद्योगिक विकास र सामाजिक न्याय प्रवर्द्धन गर्ने महत्त्वपूर्ण नीति अघि सारे। उनले नेपाली जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ औद्योगीकरण र कृषिमा आधुनिकीकरणलाई विशेष प्राथमिकता दिए। तर, २०१७ सालमा राजा महेन्द्रले सैनिक कू गर्दै उनलाई सत्ताच्युत गरे। त्यसपछि उनले लामो समय जेल जीवन बिताए र पछि निर्वासनमा बस्न बाध्य भए।

भारत निर्वासनका क्रममा उनले नेपाली जनताबीच मेलमिलापको नीति अघि सारे। २०२८ सालमा उनी पक्राउ परेर भारतको जेलमा परे। तर, अन्तर्राष्ट्रिय दबाबका कारण उनलाई रिहा गरिएको थियो।

नेपाल फर्किएपछि उनले २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति अघि सारे। नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको लागि उनले निरन्तर संघर्ष गरे। २०३४ सालमा उनलाई फेरि गिरफ्तार गरिएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि भारत लगियो। त्यहाँबाट उनलाई अमेरिकाको मेसाचुसेट्स जनरल हस्पिटलमा लगियो, जहाँ उनले क्यान्सरको उपचार गराए।

उनको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उनी नेपाल फर्किए। २०३९ सालमा क्यान्सर रोगका कारण उनको निधन भयो।

बिपी कोइराला बहुआयामी व्यक्तित्वका धनी थिए। राजनीतिज्ञ मात्र नभएर उनी साहित्यकार पनि थिए। उनका सुप्रसिद्ध कृतिहरूमा ‘सुम्निमा’, ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’ लगायतका रचनाहरू पर्दछन्। उनको साहित्यिक कृतिहरूले नेपाली समाजलाई नयाँ दृष्टिकोण दिएका छन्।

बिपी कोइरालाको वैवाहिक जीवन पनि विशेष रूपमा उल्लेखनीय छ। उनले सुशीला कोइरालासँग विवाह गरेका थिए। सुशीलाले बिपी कोइरालाको राजनीतिक यात्रामा निरन्तर साथ दिएकी थिइन्। जेल जीवनदेखि निर्वासनसम्म उनले बिपी कोइरालाको हौसला बढाइन्। उनी परिवारिक रूपमा पनि जिम्मेवार व्यक्ति थिए। राजनीतिक संघर्षका बाबजुद उनले आफ्नो परिवारलाई सधैं माया र सम्मान प्रदान गरे।

बीपी कोइरालाको जीवनका केही रोचक घटनाहरू:

१. कारागारको अध्ययन
बीपी कोइरालाले आफ्नो जीवनको लामो समय जेलमा बिताए। उनले जेलमै बसेर अध्ययन गरे र विभिन्न साहित्यिक कृतिहरू लेखे । भारतको हजारीबाग जेलमा रहँदा उहाँले “जेल जर्नल” लेख्नुभयो, जसमा उहाँको राजनीतिक विचार, सपना र संघर्षको वर्णन छ। जेलमै रहँदा उहाँले रुसी साहित्य र समाजवादी सिद्धान्तको अध्ययन पनि गर्नुभएको थियो।

२. राजासँगको ऐतिहासिक भेटघाट
पञ्चायती शासनकालमा राजासँग वार्ता गर्न बीपी कोइराला स्वदेश फर्कनुभयो। उहाँले राजा वीरेन्द्रसँग भेटेर प्रजातन्त्र पुनःस्थापनाको माग गर्नुभयो। धेरैले उहाँलाई राजासँग सम्झौता गर्न गएकाे आरोप लगाए तर उहाँले स्पष्ट भन्नुभयो, “म प्रजातन्त्रको सौदाबाजी गर्न आएको होइन, जनताको अधिकारको वकालत गर्न आएको हुँ।”

३. शिक्षक बनेका बीपी
राजनीतिमा सक्रिय हुनुअघि बीपी कोइरालाले शिक्षकको रूपमा पनि काम गर्नुभएको थियो। भारतमा पढ्दादेखि नै उहाँले विद्यार्थीहरूलाई पढाउनुहुन्थ्यो। राजनीतिक सक्रियतासँगै साहित्य र शिक्षालाई पनि उत्तिकै महत्त्व दिने बीपी कोइराला आफ्नो भाषणहरूमा साहित्यिक सन्दर्भहरू जोड्न खुबै मन पराउनुहुन्थ्यो।

४. भारतबाट गुप्त रूपमा नेपाल प्रवेश
राणा शासनको विरोध गर्दै भारतमा निर्वासनको जीवन बिताइरहेका बीपी कोइराला नेपाल प्रवेश गर्न चाहन्थे। सन् १९५० मा उहाँ भारतीय नेता र नेपालका क्रान्तिकारीहरूसँग मिलेर योजनाबद्ध रूपमा गुप्त रूपमा नेपाल भित्रिनुभयो। उहाँकै नेतृत्वमा राणा शासनविरुद्धको क्रान्ति सफल भयो र नेपालमा प्रजातन्त्रको स्थापना भयो।

५. नाटकीय बचाउ र जेल यात्रा
सन् १९६० मा राजा महेन्द्रले बीपी कोइरालालाई गिरप्तार गरी सुन्दरीजल जेलमा राखे। जेलमा रहँदा उहाँलाई मानसिक र शारीरिक यातना दिइयो, तर उहाँ दृढ रहनुभयो। जेल जीवनको समयमा उहाँलाई क्यान्सर भएको थाहा भयो। त्यसपछि सरकारले उहाँलाई उपचारका लागि भारत पठायो, जुन घटनालाई धेरैले राजनीतिक रूपमा हेरेका थिए।

बिपी कोइरालाको योगदान नेपाली राजनीतिमा मात्र सीमित छैन। उनले नेपालमा समाजवाद, प्रजातन्त्र र मानव अधिकारको जग बसाले। उनको योगदानको सम्मानस्वरूप आज पनि नेपालमा उनको नाम उच्च सम्मानका साथ लिइन्छ। बीपी कोइरालाको जीवन संघर्ष, प्रेम, दर्शन र राजनीति सबैको अद्भुत मिश्रण थियो। उहाँले नेपाली राजनीतिमा मात्र नभई साहित्यमा पनि गहिरो प्रभाव छोड्नुभयो। नेपाली प्रजातान्त्रिक आन्दोलनका नायकका रूपमा उहाँको भूमिका कहिल्यै मेटिन सक्दैन।

आज ४३औं बीपी स्मृति दिवस

काठमाडौं – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरणमा आज ४३औं बीपी स्मृति दिवस मनाइँदैछ ।

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएको थियो।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

बिपीको आदर्श र काँग्रेसको सिद्दान्त बिर्सिएर मनाइएको बिपी जयन्ती

नेपाली कांग्रेसले शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी १०९औँ बिपी जयन्ती मनायो । बिपी जयन्तीका अवसरमा कांग्रेस नेताहरुले बिपीको शालिकमा माल्यार्पण गर्दै बीपीका विचार र सिद्दान्तहरुको बारेमा प्रवचन दिए। उनीहरुले दिएको प्रवचन सुन्दै गर्दा यस्तो लाग्थ्यो कि आज पनि उनीहरु रत्तिभर विचलित नभईकन बिपीले देखाएको बाटो हिंडीरहेछन्।  

तर वास्तविकता र आजको परिप्रेक्ष काँग्रेसका नेताहरुले गरेको भाषण र प्रवचन भन्दा  निकै भिन्न बनेको छ।  बीपीको आदर्शको जगमा जन्मिएको नेपाली काँग्रेस र त्यसले आत्मसाथ गर्दै आइरहेको काँग्रेसको सिद्दान्त आज आफ्नै पार्टीको विधानसँग मेल नखाने भैसकेको छ। 

एउटा सानो घर होस्,खेति गरेर खाने एउटा जमिन होस् र बाँझो जोत्ने एक हल गोरु  होस् भनेर बीपीले हिजो भन्ने गरेको समाजवाद,खेति गर्ने जग्गा प्लाटिंग गरेर बेच्ने र एक हल गोरुको सट्टा एउटा गाडी किनेर बस्ने आजको समाजमा समय सान्दर्भिक नहोला। समयानुकुलको परिवर्तनलाई आत्मसाथ गर्दै जाँदा भएको निरन्तर विकास संग-संगै प्रविधिमा आएको परिवर्तनले जीवन शैली फेरिँदै गर्दा एक हल गोरुलाई ट्रयाक्टरले विस्थापित गर्नु कुनै नौलो कुरा होइन। तर, उनको भनाइको मर्म अझै पनि उत्तिकै अर्थपूर्ण र जिवन्त रहेको छ।  हरेक नेपालीले बाँच्न पाउने अधिकार र गाँस,बास,कपास,शिक्षा र स्वास्थको सुनिश्चतता नै बीपीको समाजवाद, उनको आदर्श हो, जुन नेपाली काँग्रेसको स्थापनासँगै नेपाली काँग्रेसको सिद्दान्त बन्यो। 

तर, देश प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दै गर्दा बीपीको आदर्श केवल पार्टीको  विधानमा सिमित बनेको छ।  नेताहरुमा देखिएको राजनीतिक र सैद्दान्तिक विचलनले यतिखेर नेपाली काँग्रेसको सिद्दान्त जगैदेखि धर्मराएको छ।  पार्टीको विधान अनुसार भन्ने र गर्ने हो भने,पार्टीको क्रियाशील सदस्य समेत हुने आचरण र योग्यता नराख्नेहरुले पार्टीको बागडोर सम्हालिरहेका छन्। 

सभापति शेरबहादुर देउवाले बिपी जयन्तीको दिनमा गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने र गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो भन्ने दाबी गरे।  हुन त बिपीको आदर्श र काँग्रेसको सिद्दान्तलाई लत्याएर पदकै निम्ति पार्टी फ़ुटाएका देउवाले त्यसो भन्नु कुनै आश्चार्य होइन।  होइन भने त काँग्रेस पार्टीको सभापतिले बुझ्नुपर्ने कुरा के हो भने,नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट भन्ने पार्टी अस्तित्वमा नआउँदा नै स्थापना भएर आफैं एक्लै खडा भएको पार्टी आज गठबन्धन बिना कम्जोर कसरि हुन्छ ? उनको यो अभिव्यक्तिले नेपाली काँग्रेसको हैसियत र अस्तित्वमाथि नै प्रश्न उठेको छ। नेपाली काँग्रेस हुँ भनेर भन्दै गर्दा, रुखमा भोट हाल्न पाउनुपर्छ भन्नु कसरि पार्टीलाई सिध्याउने षड्यन्त्र हुनसक्छ ?

पार्टीभित्र मौलाएको खराब प्रवृतिको विरोध गरेर पार्टीको अस्तित्वको खातिर आवाज उठाउनेलाई कारवाही गर्नुपर्छ भन्ने शिर्ष नेताहरुले कस्तो र कसको सिद्दान्तको झोला बोकेर हिंडेका छन? देशकै पुरानो र ठुलो पार्टीले चुनाव जस्तो प्रजातान्त्रिक प्रक्रियामा हारिन्छ भन्ने डरले विचार र सिद्दान्त नै नमिल्नेहरुसंग गरेको गठबन्धन कसको लागि ? के स्वार्थको लागि ? हँसिया हथौडामा भोट हालेर माओवादी जिताउँदै गर्दा लोकतन्त्रको रक्षा र प्रजातन्त्र संस्थागत हुने र पार्टीको अस्तित्व धरापमा पर्दैन भनेर भाषण गर्दै हिंड्ने सभापतिलाई बिपीको सालिकमा माला र खादा लगाएर उनको आदर्शको कुरा गर्दा लाज लाग्छ कि लाग्दैन होला ?

आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी पाएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि  बिपी जयन्तीको  दिन  सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर, घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमले स्थान नपाउने , विगतका कमजोरीको पहिचान र बद्लिएको समयको अपेक्षालाई सम्बोधन गर्ने र पचास लाखभन्दा बढीको संख्यामा विदेशमा रहेको नेपालीको भावना समेट्ने गरि व्यवहारिक घोषणापत्र तयार गर्ने बताए ।

तर, यी सबै कुराहरु समेटेर घोषणापत्र तयार गर्दै गर्दा १६५ निर्वाचन क्षेत्रबाट चुनाव लड्नुपर्ने काँग्रेसले गठबन्धनको नाममा कति सिटमा सिमित हुनुपर्ने हो त्यो पनि पक्कै उल्लेख गर्नुहोला।  विदेशमा रहेका ५० लाखभन्दा बढी नेपालीको भावना समेट्दै गर्दा  देशभित्रै रहेका काँग्रेसप्रति आस्था राख्नेहरुको भावना समेटिन्छ कि समेटिदैन त्यो पनि बताइदिनुहोला। बिपीले परिकल्पना गर्नुभएको भावनालाई एकाकार गरेर व्यक्ति या दलको मात्र होइन, काँग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने भनेर भन्दै गर्दा सिंगो काँग्रेस ओझेलमा नपरोस्। विगतका कमजोरीलाई पहिचान गरेर तिनलाई सम्बोधन हुनेगरि घोषणापत्र लेख्दै गर्दा र आगामी चुनावमा काँग्रेसलाई बलियो र पहिलो पार्टी बनाउन कार्यकर्तालाई रुख बाहेकका अन्य चिन्हमा भोट हाल्न दबाब दिएर पार्टीको विधान, आदर्श र सिद्दान्तमाथि निर्मम प्रहार गर्दै गर्दा, अझै पनि काँग्रेस हुँ भन्न लाज लाग्छ कि लाग्दैन त्यो पनि भनिदिनु होला। 

गठबन्धन गर्नुहुँदैन भन्दै आएका बिपी पुत्र शशांक कोइराला पनि पछिल्लो समय,  अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जान बाध्य भएको बताउन थालेका छन्।  तर चुनाव जित्न र पद अनि सत्ताकै निम्ति सिर्जित यो बाध्यताकाबीच एउटा आदर्श पिताको विरासत लत्याएर, विचार र सिद्दान्त नै नमिल्नेहरुसंग कुम जोडेर हिँड्दै गर्दा उनलाई आत्मग्लानी हुन्छ कि हुँदैन होला ?

दमौलीमा  १०९ औं बीपी जयन्ती मनाइरहँदा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अझै पनि बीपीको बाटो नछोडेको र बीपीले देखाएको बाटोमै हिँडिरहेको दाबी गरे।  तर, यी सब कुराहरु गरिरहँदा पौडेलले बिपीको बाटो बिर्सिएर आफु देउवाको बाटोमा हिंडिरहेको पत्तै पाएनन्।  होइन भने यति बुझौँ, उनले झुट बोले।  किनकि उनलाई पनि देउवाको हो-मा-हो मिलाएर जसरि पनि चुनाव जित्नुछ।  नभए पार्टीको वरिष्ठ नेता मानिएका व्यक्तिले पार्टीको बिधान अनुरुप, पार्टीको सिद्दान्त र आचारसंहिता भन्दा बाहिर गएर, फरक धार र विचार बोकेको पार्टीहरुसंग एक भएर चुनाब लड्नु नै बिपीले देखाएको बाटो हो भनेर भन्नु र पौडेल जस्ता नेतालाई पार्टीको वरिष्ठ नेता मान्न पर्नु नेपाली काँग्रेसको लागि अभिशाप हो । 

जब बिपीको विचार र आदर्शको व्याबहारिक रुपमा कदर नै गर्न सकिंदैन भने,  उनको जन्मजयन्ती मनाउनु बिपीको नाम भजाएर काँग्रेसको राजनीतिक दोहन गर्नु शिवाय अरु के हुन सक्छ? काँग्रेसको विचार र सिद्दान्तको धज्जी उडाएर हरेक वर्ष यसरी बिपी जन्मजयन्ती मनाइरहनुको अर्थ के ?

https://nepalrastriyadainik.com/%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8/
https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%9a%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%a6%e0%a5%87/

काँग्रेस बचाउन सभापति देउवालाई कारवाही गर्नुपर्छ 

स्थानिय निर्वाचनको माहोलमा यतिबेला चितवनको भरतपुर महानगरपालिका राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ।  सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा मेयरमा माओवादी केन्द्रको तर्फबाट रेणु दाहाललाई समर्थन गरेपछि,काँग्रेस चितवनका प्रभावशाली नेता जगन्नाथ पौडेलले गठबन्धनको उम्मेदवारकै विरुद्धमा मेयर पदका लागि आफ्नो स्वतन्त्र उम्मेद्वारी दर्ता गराए। 

पौडेलको उम्मेदवारीले गठबन्धनको जगनै हल्लाइदियो।  पौडेललाई फकाउन र उनको उम्मेद्वारी फिर्ता गर्न गठबन्धन सरकारले राज्य संयन्त्र नै परिचालन गर्यो, तर नेता पौडेल आफ्नो अडानबाट पछि हट्न तयार भएनन्।  अन्तत पौडेल सहित उनका  प्रस्तावक काँग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थक  मिना खरेललाई पार्टीले साधारण सदस्य समेत नरहने गरि कारवाहीको घोषणा गर्दै, आफ्नो पार्टीको विधान २०१७ (संशोधन सहित )को धारा ४ (१३) ग बमोजिम पार्टीबाट स्वत: निष्काशित हुने व्यहोरा सहितको प्रेश विज्ञप्ति सार्वजनिक गर्यो। 

वि पी को विचार र नेपाली काँग्रेसको सिद्दान्त र विधानको विपरित कार्य गर्ने र गराउने काँग्रेस भन्नेहरु जो कोहीलाई कारवाही गरिनुपर्छ।  एउटा व्यक्तिको पछि लागेर पार्टीको आदर्श र सिद्धान्तको बलि चढाउन सकिन्न।  तर यसो भन्दै गर्दा, नेपाली काँग्रेस भएर पार्टीको विधान र वि पी को विचारको कदर हुनुपर्छ भन्नेहरुलाइनै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्न उत्कट पार्टीको केन्द्रिय कमिटि र पार्टी सभापतिको नैतिकतामाथि भने प्रश्न चिन्ह खडा गरेको छ। नेपाली काँग्रेस भएर रुखमा भोट हाल्न पाउनुपर्छ भन्नु कसरी  नेपाली काँग्रेसको सिद्दान्त विपरित हुन्छ ? के नेपाली  काँग्रेसको विधानमा तिम्रो पार्टीको सभापतिले प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्छन भने कार्यकर्ताले रुख बाहेक अन्य चुनाब चिन्हमा पनि भोट हाल्न तयार हुनुपर्छ भनेर लेखेको छ ? पार्टीको विचार सिद्दान्त र आदर्शनै नमिल्नेहरुसंग यदि घांटी जोडेर एकै हुनुपर्ने हो भने नेपाली काँग्रेसको आफ्नो विचार, सिद्दान्त र आदर्शको अस्तित्व के ? पार्टीभित्र मौलाएको खराब प्रवृतिको विरोध गरेर पार्टीको अस्तित्वको खातिर आवाज  उठाउनेलाई  कारवाही गर्नुपर्छ भन्ने शिर्ष नेताहरुले कस्तो र कसको सिद्दान्तको झोला बोकेर हिंडेका छन?  देशकै पुरानो र ठुलो पार्टीले चुनाव जस्तो प्रजातान्त्रिक प्रक्रियामा हारिन्छ भन्ने डरले विचार र सिद्दान्त नै नमिल्नेहरुसंग गरेको गठबन्धन कसको लागि ? के स्वार्थको लागि ? हँसिया हथौडामा भोट हालेर माओवादी जिताउँदै गर्दा लोकतन्त्रको रक्षा र प्रजातन्त्र संस्थागत हुने र पार्टीको अस्तित्व धरापमा पर्दैन भनेर भाषण गर्दै हिंड्ने सभापतिले के आफ्नो पार्टीको सिद्दान्त र आदर्श बिर्सिएकै हो त ?

रुखमा भोट हाल्न पाउनुपर्छ भन्नेलाई कारवाही गर्ने हो कि, रुखमा भोट नहाल, हालिस भने तँलाई कारवाही गर्छु भन्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्नुपर्ने हो ? यदि यसो हो भने पार्टीको सिद्दान्त र विधान विपरित क्रियाकलाप गरेको कसुरमा सभापति शेर बहादुर देउवालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेर सभापति पदबाट बर्खास्त गरिनुपर्छ।

नेपाली  काँग्रेसको विधानको परिच्छेद-७ धारा २५ (५ )(पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने तथा पार्टीलाई सबल र सक्षम संगठनका रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने ) अनुरुप सभापतिले आफ्नो काम कर्तव्य र अधिकार अनुसार काम गर्न नसकेको आधारमा सभापति देउवालाई कारवाही किन नगर्ने ?

निर्वाचन जस्तो प्रजातान्त्रिक प्रक्रियामा आफ्नो उम्मेदवार खडा गरेर प्रतिस्पर्धा गर्न नसक्ने,आफ्नै पार्टीको तर्फबाट उम्मेद्वारी दिन बन्देज लगाएर सत्ता र स्वार्थकै निम्ति पार्टीको विधान विपरित विचार र सिद्दान्तनै नमिल्नेहरुसंग गठबन्धनको नाममा पार्टीको अस्तित्वलाई बन्दकी बनाउने सभापतिलाई कारवाही किन नगर्ने ?

यदि साँच्चिकै पार्टीको आदर्श, पार्टीको सिद्दान्त र विधानको कुरा गर्ने हो भने वर्तमान पार्टी सभापति देउवामा पार्टीको साधारण सदस्य हुने सम्मको योग्यता पनि नरहेको देखिन्छ। पार्टीको साधारण सदस्य समेत हुने हैसियत नराख्ने सभापतिलाई पो पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने हो कि ?

नेपाली  काँग्रेसको विधानको परिच्छेद-२ धारा ४को १  (क) २ अन्तर्गत (नेपाली कांग्रेसको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको) अनुरुप पार्टीको साधारण सदस्यता समेत प्राप्त गर्ने योग्यता समेत नभएको देखिने सभापतिलाई कारवाही किन नगर्ने ?

माओवादीको उम्मेदवार जिताउन निर्वाचन आचारसंहिता नै उल्लंघन गर्दै मरिहत्ते गरेर लाग्नुको सट्टा आफ्नै उम्मेदवार खडा गरेर जिताउन लागिपर्न नसक्ने सभापतिलाई कारवाही किन नगर्ने ?

प्रवेश अधिकारी
प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र न.३, स्वतन्त्र उम्मेद्वार(नेपाली काँग्रेस)

https://nepalrastriyadainik.com/%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8/

गठबन्धन : नेपाली काँग्रेसको अवसान

२०७४ को स्थानिय चुनावमा नेपाली  काँग्रेसले माओवादीसंग चुनावी तालमेल गरेर चितवनमा रेणु दाहाललाई समर्थन गर्दै माओवादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा मेयर उठायो। अन्त्यमा माओवादीले एमालेसंग बाम गठबन्धन गरेर संघिय चुनावमा काँग्रेसकै विरुद्द चुनाव लड्यो।  यो बीचमा काँग्रेसले धेरै  ठाउँमा आफ्ना कार्यकर्तालाई रुखमा भोट हाल्ने वातावरण बनाउन सकेन।  चितवनकै सवालमा पनि चितवनका काँग्रेसहरुले पहिले हँसिया हथौडामा भोट हाले र माओवादी जिताए  र प्रतिनिधि सभाको निर्वाचनमा हलोमा भोट हाले ।  कतिपय काँग्रेस भनेको मै हुँ भन्नेहरुले पनि, दिनभर विक्रम पाण्डेको झोला बोकेर हिंड्ने अनि रात परेपछि प्रचण्ड जिताउ अभियानमा हिंड्ने सुवर्ण मौका पाए। यो सुवर्ण अवसर पाएका केहि भाग्यमानि कांग्रेसीहरु त अहिलेको चितवन काँग्रेसमा पनि जिल्लाको चल्ति नेताहरुमा गनिन्छन्। अनि पार्टीको गलत कदमको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएर चुनावमा उठ्दा, मैले झन्डै डेढ दशक पुरानो क्रियाशील सदस्यता गुमाउनुपर्यो। पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीले मलाई कारवाही गर्यो। 

 जे होस् यी दुवै निर्वाचनमा काँग्रेसले नराम्रो पराजय भोग्नुपर्यो। काँग्रेसकै समर्थनमा गोरखाबाट चुनाव जितेका बाबुराम भट्टराईले त चुनाव जितेको महिना दिन नबित्दै एउटा कार्यक्रमको मञ्चबाट अब काँग्रेसलाई जरैदेखि ऊखेलेर फ्याँक्नुपर्छ सम्म भन्न भ्याए।  यता प्रचण्डले पनि बाम गठबन्धन पछि काँग्रेस अब सिद्दियो भन्ने जाने हुन्छ भनेर सार्वजनिक मञ्चमै आफ्नो अभिव्यक्ति दिए। यी सब घटनाक्रमहरुका बाबजुद पांच वर्षपछि आज आएर फेरी इतिहासको त्यहि शृंखला दोहोरिंदैछ ।  नेपाली काँग्रेसले फेरी आफ्नो बाटो विराएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादका खातिर झण्डै आधा शताव्दी भन्दा बढी  समयदेखि अनवरत रुपमा  संघर्ष  गर्दै आइरहेको पार्टिले चुनाव जस्तो प्रजातान्त्रिक अभ्यासमा एक्लै प्रतिस्पर्धा गर्न डराएर विचार र सिद्दान्त नै नमिल्नेहरुसंग गठबन्धन गरेर चुनाव लड्नु  जस्तो लज्जास्पद अरु के हुन सक्छ ? यदि साँच्चिकै वि पी को विचार र पार्टीको विधान, आदर्श र सिद्दान्तको कुरा गर्ने हो भने, काँग्रेसले हार्दै गर्दा पनि हरेक स्थानिय तहमा आफ्नो उम्मेद्वार उठाउने हैसियत राख्न सक्नुपर्छ । हार नै सहि, तर आजको हारबाट पाठ सिकेर भोलिको दिनमा आफ्ना कमीकमम्जोरीहरुको समिक्षा  गर्दै आफुलाई सुधार्ने प्रयास गरौँला । तर प्रचण्ड ओलीसंग मिलेर चुनाव लड्छन भन्ने डरले पार्टि सभापतिको मुटु काँपेको हो भने सभापति देउवाले  वि पी को विचार होइन प्रचण्डको झोला बोकेर सो कल्ड प्रचण्डपथमा लाग्दा राम्रो तर देउवाको सति गएर पार्टीको सिद्दान्त र कार्यकर्ताको आस्थामा दागबत्ती दिन सकिन्न ।

 अघिल्लो पांच बर्ष र यो बीचको पांच बर्षमा काँग्रेस भएरै पनि रुखमा भोट हाल्न नपाएकाहरुले के कसरि चित्त बुझाउलान थाहा छैन तर सिंगो एउटा दशकमा यसले पार्टीलाई ठुलो क्षति पुर्याउनेछ।  बर्षौं भरि पार्टीलाई संगठित गर्दै हिंड्यो अनि अन्त्यमा  आएर कहिले हँसिया हथौडा त कहिले हलोमा भोट हाल्नुपर्ने नियति काँग्रेस कार्यकर्ताले कहिलेसम्म झेल्नुपर्ने ? हँसिया हथौडामा भोट हालेर काँग्रेस जिताउ भन्दै हिड्नुपर्ने काँग्रेसको सिद्दान्त के बदलिएकै हो त ? २-२ पटकको निर्वाचनमा पनि रुखमा भोट हाल्न नपाएकाहरुलाई पार्टी भित्र संगठित गरेर समेटेर कसरि राख्ने ? उनीहरुमा आउन सक्ने सैदान्तिक विचलनको जिम्मा कसले लिन्छ ? सबै अट्ने देश र सबैलाई जोड्ने काँग्रेसको नारामा आज वि पी को विचार  नअटाउनु  र सबैलाई जोड्ने बहानामा  काँग्रेस प्रति आस्था राख्नेहरुनै पार्टीबाट  छुट्दै जानु विडम्बनापुर्ण छ।  भुँइको टिप्न खोज्दा पोल्टाको पोखिएको थाहा नपाउने पार्टीका शिर्ष नेताहरु निदाएका छन् कि निदाए जस्तो गर्दैछन ?   हँसिया हथौडामा भोट हालेर काँग्रेस जिताउँ भन्दै हिंड्नुपर्ने हो भने, भोलि सिला खोजेजसरि काँग्रेस खोज्नु पर्ने दिन नआउला भन्न सकिन्न।  अनि त्यो बेला के काँग्रेस खोज्न हामि डडेलधुरा जानुपर्ने हो ? 

सभापतिज्यु,कुनै एउटा अमुक व्यक्ति हार्दै गर्दा पार्टी  नहारोस तर पार्टी हार्दै गर्दा पनि मेरो देश नहारोस भन्ने वि पी र काँग्रेसको आदर्शलाई लत्याएर पदकै निम्ति तपाइले पार्टी फ़ुटाएको इतिहास पनि हामिले विर्सेको छैनौं। काँग्रेस भएकै कारण हिजो माओवादीले खेदेर घर छोड्न बाध्य भएकाहरु, अनि तिनको कुटाइले घाइते भएकाहरुलाई  तपाई कुन नैतिकताले  हँसिया हथौडामा भोट हाल नत्र कारवाही गर्छु भनेर धम्क्याउनुहुन्छ ? नेपाली  काँग्रेस बुढानिलकण्ठ दरबारको  विरासत होइन।   त्यसैले पार्टीको विधान र सिद्दान्तलाई अङ्गीकार गरेर अगाढि बढ्ने सामर्थ्य तपाईमा छैन भने, पार्टी सभापतिबाट राजिनामा दिनुहोस।  पार्टीलाई सुदृढ बनाएर सहि नेतृत्व दिन सक्ने सक्षम व्यक्तिहरु काँग्रेस भित्र अझै  पनि जीवित छन्। टाउकाको मुल्य तोकेकाहरुसंग टाउको जोडेर अगाडी बढ्न तपाइलाई कुन स्वार्थले अभिप्रेरित गरेको छ ?  अन्य कुनै अमुक राजनीतिक दलसंग तपाइको निजि विचार मिल्छ भने तपाइलाई हँसिया हथौडा बोकेर हिंड्ने छुट छ, तर पार्टीको विचार र सिद्दान्तै नमिल्नेहरुसंग कुम जोडेर हिंड्दै गर्दा चार ताराको झण्डामुनि बसेर नेपाली काँग्रेसको राजनीति गर्ने छुट तपाइलाई छैन। पार्टीको विधान र सिद्दान्त अनि कार्यकर्ताको आस्थाको धज्जी उडाएर प्रधानमन्त्रीको कुर्सिमा बसिरहनकै निम्ति काँग्रेसको बलि चढाउने छुट तपाइलाई छैन। जय नेपाल !

प्रवेश अधिकारी
प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र न.३, स्वतन्त्र उम्मेद्वार(नेपाली काँग्रेस)

तस्विर : माई रिपब्लिका, नागरिक नेटवर्क