काँग्रेस बचाउन सभापति देउवालाई कारवाही गर्नुपर्छ 

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ बैशाख २०७९, शुक्रबार ०५:४५
Sher bahadur deuba 1599401439

स्थानिय निर्वाचनको माहोलमा यतिबेला चितवनको भरतपुर महानगरपालिका राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ।  सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा मेयरमा माओवादी केन्द्रको तर्फबाट रेणु दाहाललाई समर्थन गरेपछि,काँग्रेस चितवनका प्रभावशाली नेता जगन्नाथ पौडेलले गठबन्धनको उम्मेदवारकै विरुद्धमा मेयर पदका लागि आफ्नो स्वतन्त्र उम्मेद्वारी दर्ता गराए। 

पौडेलको उम्मेदवारीले गठबन्धनको जगनै हल्लाइदियो।  पौडेललाई फकाउन र उनको उम्मेद्वारी फिर्ता गर्न गठबन्धन सरकारले राज्य संयन्त्र नै परिचालन गर्यो, तर नेता पौडेल आफ्नो अडानबाट पछि हट्न तयार भएनन्।  अन्तत पौडेल सहित उनका  प्रस्तावक काँग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थक  मिना खरेललाई पार्टीले साधारण सदस्य समेत नरहने गरि कारवाहीको घोषणा गर्दै, आफ्नो पार्टीको विधान २०१७ (संशोधन सहित )को धारा ४ (१३) ग बमोजिम पार्टीबाट स्वत: निष्काशित हुने व्यहोरा सहितको प्रेश विज्ञप्ति सार्वजनिक गर्यो। 

वि पी को विचार र नेपाली काँग्रेसको सिद्दान्त र विधानको विपरित कार्य गर्ने र गराउने काँग्रेस भन्नेहरु जो कोहीलाई कारवाही गरिनुपर्छ।  एउटा व्यक्तिको पछि लागेर पार्टीको आदर्श र सिद्धान्तको बलि चढाउन सकिन्न।  तर यसो भन्दै गर्दा, नेपाली काँग्रेस भएर पार्टीको विधान र वि पी को विचारको कदर हुनुपर्छ भन्नेहरुलाइनै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्न उत्कट पार्टीको केन्द्रिय कमिटि र पार्टी सभापतिको नैतिकतामाथि भने प्रश्न चिन्ह खडा गरेको छ। नेपाली काँग्रेस भएर रुखमा भोट हाल्न पाउनुपर्छ भन्नु कसरी  नेपाली काँग्रेसको सिद्दान्त विपरित हुन्छ ? के नेपाली  काँग्रेसको विधानमा तिम्रो पार्टीको सभापतिले प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्छन भने कार्यकर्ताले रुख बाहेक अन्य चुनाब चिन्हमा पनि भोट हाल्न तयार हुनुपर्छ भनेर लेखेको छ ? पार्टीको विचार सिद्दान्त र आदर्शनै नमिल्नेहरुसंग यदि घांटी जोडेर एकै हुनुपर्ने हो भने नेपाली काँग्रेसको आफ्नो विचार, सिद्दान्त र आदर्शको अस्तित्व के ? पार्टीभित्र मौलाएको खराब प्रवृतिको विरोध गरेर पार्टीको अस्तित्वको खातिर आवाज  उठाउनेलाई  कारवाही गर्नुपर्छ भन्ने शिर्ष नेताहरुले कस्तो र कसको सिद्दान्तको झोला बोकेर हिंडेका छन?  देशकै पुरानो र ठुलो पार्टीले चुनाव जस्तो प्रजातान्त्रिक प्रक्रियामा हारिन्छ भन्ने डरले विचार र सिद्दान्त नै नमिल्नेहरुसंग गरेको गठबन्धन कसको लागि ? के स्वार्थको लागि ? हँसिया हथौडामा भोट हालेर माओवादी जिताउँदै गर्दा लोकतन्त्रको रक्षा र प्रजातन्त्र संस्थागत हुने र पार्टीको अस्तित्व धरापमा पर्दैन भनेर भाषण गर्दै हिंड्ने सभापतिले के आफ्नो पार्टीको सिद्दान्त र आदर्श बिर्सिएकै हो त ?

रुखमा भोट हाल्न पाउनुपर्छ भन्नेलाई कारवाही गर्ने हो कि, रुखमा भोट नहाल, हालिस भने तँलाई कारवाही गर्छु भन्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्नुपर्ने हो ? यदि यसो हो भने पार्टीको सिद्दान्त र विधान विपरित क्रियाकलाप गरेको कसुरमा सभापति शेर बहादुर देउवालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेर सभापति पदबाट बर्खास्त गरिनुपर्छ।

नेपाली  काँग्रेसको विधानको परिच्छेद-७ धारा २५ (५ )(पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने तथा पार्टीलाई सबल र सक्षम संगठनका रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने ) अनुरुप सभापतिले आफ्नो काम कर्तव्य र अधिकार अनुसार काम गर्न नसकेको आधारमा सभापति देउवालाई कारवाही किन नगर्ने ?

निर्वाचन जस्तो प्रजातान्त्रिक प्रक्रियामा आफ्नो उम्मेदवार खडा गरेर प्रतिस्पर्धा गर्न नसक्ने,आफ्नै पार्टीको तर्फबाट उम्मेद्वारी दिन बन्देज लगाएर सत्ता र स्वार्थकै निम्ति पार्टीको विधान विपरित विचार र सिद्दान्तनै नमिल्नेहरुसंग गठबन्धनको नाममा पार्टीको अस्तित्वलाई बन्दकी बनाउने सभापतिलाई कारवाही किन नगर्ने ?

यदि साँच्चिकै पार्टीको आदर्श, पार्टीको सिद्दान्त र विधानको कुरा गर्ने हो भने वर्तमान पार्टी सभापति देउवामा पार्टीको साधारण सदस्य हुने सम्मको योग्यता पनि नरहेको देखिन्छ। पार्टीको साधारण सदस्य समेत हुने हैसियत नराख्ने सभापतिलाई पो पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने हो कि ?

नेपाली  काँग्रेसको विधानको परिच्छेद-२ धारा ४को १  (क) २ अन्तर्गत (नेपाली कांग्रेसको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको) अनुरुप पार्टीको साधारण सदस्यता समेत प्राप्त गर्ने योग्यता समेत नभएको देखिने सभापतिलाई कारवाही किन नगर्ने ?

माओवादीको उम्मेदवार जिताउन निर्वाचन आचारसंहिता नै उल्लंघन गर्दै मरिहत्ते गरेर लाग्नुको सट्टा आफ्नै उम्मेदवार खडा गरेर जिताउन लागिपर्न नसक्ने सभापतिलाई कारवाही किन नगर्ने ?

प्रवेश अधिकारी
प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र न.३, स्वतन्त्र उम्मेद्वार(नेपाली काँग्रेस)

https://nepalrastriyadainik.com/%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8/
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५