२०७४ को स्थानिय चुनावमा नेपाली काँग्रेसले माओवादीसंग चुनावी तालमेल गरेर चितवनमा रेणु दाहाललाई समर्थन गर्दै माओवादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा मेयर उठायो। अन्त्यमा माओवादीले एमालेसंग बाम गठबन्धन गरेर संघिय चुनावमा काँग्रेसकै विरुद्द चुनाव लड्यो। यो बीचमा काँग्रेसले धेरै ठाउँमा आफ्ना कार्यकर्तालाई रुखमा भोट हाल्ने वातावरण बनाउन सकेन। चितवनकै सवालमा पनि चितवनका काँग्रेसहरुले पहिले हँसिया हथौडामा भोट हाले र माओवादी जिताए र प्रतिनिधि सभाको निर्वाचनमा हलोमा भोट हाले । कतिपय काँग्रेस भनेको मै हुँ भन्नेहरुले पनि, दिनभर विक्रम पाण्डेको झोला बोकेर हिंड्ने अनि रात परेपछि प्रचण्ड जिताउ अभियानमा हिंड्ने सुवर्ण मौका पाए। यो सुवर्ण अवसर पाएका केहि भाग्यमानि कांग्रेसीहरु त अहिलेको चितवन काँग्रेसमा पनि जिल्लाको चल्ति नेताहरुमा गनिन्छन्। अनि पार्टीको गलत कदमको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएर चुनावमा उठ्दा, मैले झन्डै डेढ दशक पुरानो क्रियाशील सदस्यता गुमाउनुपर्यो। पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीले मलाई कारवाही गर्यो।
जे होस् यी दुवै निर्वाचनमा काँग्रेसले नराम्रो पराजय भोग्नुपर्यो। काँग्रेसकै समर्थनमा गोरखाबाट चुनाव जितेका बाबुराम भट्टराईले त चुनाव जितेको महिना दिन नबित्दै एउटा कार्यक्रमको मञ्चबाट अब काँग्रेसलाई जरैदेखि ऊखेलेर फ्याँक्नुपर्छ सम्म भन्न भ्याए। यता प्रचण्डले पनि बाम गठबन्धन पछि काँग्रेस अब सिद्दियो भन्ने जाने हुन्छ भनेर सार्वजनिक मञ्चमै आफ्नो अभिव्यक्ति दिए। यी सब घटनाक्रमहरुका बाबजुद पांच वर्षपछि आज आएर फेरी इतिहासको त्यहि शृंखला दोहोरिंदैछ । नेपाली काँग्रेसले फेरी आफ्नो बाटो विराएको छ ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादका खातिर झण्डै आधा शताव्दी भन्दा बढी समयदेखि अनवरत रुपमा संघर्ष गर्दै आइरहेको पार्टिले चुनाव जस्तो प्रजातान्त्रिक अभ्यासमा एक्लै प्रतिस्पर्धा गर्न डराएर विचार र सिद्दान्त नै नमिल्नेहरुसंग गठबन्धन गरेर चुनाव लड्नु जस्तो लज्जास्पद अरु के हुन सक्छ ? यदि साँच्चिकै वि पी को विचार र पार्टीको विधान, आदर्श र सिद्दान्तको कुरा गर्ने हो भने, काँग्रेसले हार्दै गर्दा पनि हरेक स्थानिय तहमा आफ्नो उम्मेद्वार उठाउने हैसियत राख्न सक्नुपर्छ । हार नै सहि, तर आजको हारबाट पाठ सिकेर भोलिको दिनमा आफ्ना कमीकमम्जोरीहरुको समिक्षा गर्दै आफुलाई सुधार्ने प्रयास गरौँला । तर प्रचण्ड ओलीसंग मिलेर चुनाव लड्छन भन्ने डरले पार्टि सभापतिको मुटु काँपेको हो भने सभापति देउवाले वि पी को विचार होइन प्रचण्डको झोला बोकेर सो कल्ड प्रचण्डपथमा लाग्दा राम्रो तर देउवाको सति गएर पार्टीको सिद्दान्त र कार्यकर्ताको आस्थामा दागबत्ती दिन सकिन्न ।
अघिल्लो पांच बर्ष र यो बीचको पांच बर्षमा काँग्रेस भएरै पनि रुखमा भोट हाल्न नपाएकाहरुले के कसरि चित्त बुझाउलान थाहा छैन तर सिंगो एउटा दशकमा यसले पार्टीलाई ठुलो क्षति पुर्याउनेछ। बर्षौं भरि पार्टीलाई संगठित गर्दै हिंड्यो अनि अन्त्यमा आएर कहिले हँसिया हथौडा त कहिले हलोमा भोट हाल्नुपर्ने नियति काँग्रेस कार्यकर्ताले कहिलेसम्म झेल्नुपर्ने ? हँसिया हथौडामा भोट हालेर काँग्रेस जिताउ भन्दै हिड्नुपर्ने काँग्रेसको सिद्दान्त के बदलिएकै हो त ? २-२ पटकको निर्वाचनमा पनि रुखमा भोट हाल्न नपाएकाहरुलाई पार्टी भित्र संगठित गरेर समेटेर कसरि राख्ने ? उनीहरुमा आउन सक्ने सैदान्तिक विचलनको जिम्मा कसले लिन्छ ? सबै अट्ने देश र सबैलाई जोड्ने काँग्रेसको नारामा आज वि पी को विचार नअटाउनु र सबैलाई जोड्ने बहानामा काँग्रेस प्रति आस्था राख्नेहरुनै पार्टीबाट छुट्दै जानु विडम्बनापुर्ण छ। भुँइको टिप्न खोज्दा पोल्टाको पोखिएको थाहा नपाउने पार्टीका शिर्ष नेताहरु निदाएका छन् कि निदाए जस्तो गर्दैछन ? हँसिया हथौडामा भोट हालेर काँग्रेस जिताउँ भन्दै हिंड्नुपर्ने हो भने, भोलि सिला खोजेजसरि काँग्रेस खोज्नु पर्ने दिन नआउला भन्न सकिन्न। अनि त्यो बेला के काँग्रेस खोज्न हामि डडेलधुरा जानुपर्ने हो ?
सभापतिज्यु,कुनै एउटा अमुक व्यक्ति हार्दै गर्दा पार्टी नहारोस तर पार्टी हार्दै गर्दा पनि मेरो देश नहारोस भन्ने वि पी र काँग्रेसको आदर्शलाई लत्याएर पदकै निम्ति तपाइले पार्टी फ़ुटाएको इतिहास पनि हामिले विर्सेको छैनौं। काँग्रेस भएकै कारण हिजो माओवादीले खेदेर घर छोड्न बाध्य भएकाहरु, अनि तिनको कुटाइले घाइते भएकाहरुलाई तपाई कुन नैतिकताले हँसिया हथौडामा भोट हाल नत्र कारवाही गर्छु भनेर धम्क्याउनुहुन्छ ? नेपाली काँग्रेस बुढानिलकण्ठ दरबारको विरासत होइन। त्यसैले पार्टीको विधान र सिद्दान्तलाई अङ्गीकार गरेर अगाढि बढ्ने सामर्थ्य तपाईमा छैन भने, पार्टी सभापतिबाट राजिनामा दिनुहोस। पार्टीलाई सुदृढ बनाएर सहि नेतृत्व दिन सक्ने सक्षम व्यक्तिहरु काँग्रेस भित्र अझै पनि जीवित छन्। टाउकाको मुल्य तोकेकाहरुसंग टाउको जोडेर अगाडी बढ्न तपाइलाई कुन स्वार्थले अभिप्रेरित गरेको छ ? अन्य कुनै अमुक राजनीतिक दलसंग तपाइको निजि विचार मिल्छ भने तपाइलाई हँसिया हथौडा बोकेर हिंड्ने छुट छ, तर पार्टीको विचार र सिद्दान्तै नमिल्नेहरुसंग कुम जोडेर हिंड्दै गर्दा चार ताराको झण्डामुनि बसेर नेपाली काँग्रेसको राजनीति गर्ने छुट तपाइलाई छैन। पार्टीको विधान र सिद्दान्त अनि कार्यकर्ताको आस्थाको धज्जी उडाएर प्रधानमन्त्रीको कुर्सिमा बसिरहनकै निम्ति काँग्रेसको बलि चढाउने छुट तपाइलाई छैन। जय नेपाल !
प्रवेश अधिकारी
प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र न.३, स्वतन्त्र उम्मेद्वार(नेपाली काँग्रेस)
तस्विर : माई रिपब्लिका, नागरिक नेटवर्क
आफ्नो प्रतिक्रिया दिनुहोस्