संसदबाट भूमि विधेयक बहुमतले पारित

काठमाडौँ — प्रतिनिधिसभाले शुक्रबार भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८२ लाई बहुमतले पारित गरेको छ। सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरेका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो। मन्त्री अधिकारीले विधेयकको उद्देश्य भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित रूपमा बसोबास गर्न जग्गा उपलब्ध गराउनु रहेको बताए। उनका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई पालिकासँग समन्वय गरी एकीकृत बस्तीमा पुनर्स्थापना गर्ने व्यवस्था गरिएको छ।

तर, केही सांसदहरूले विधेयकको आलोचना गरेका छन्। जसपाका राजकिशोर यादवले अपेक्षित वर्गले लाभ नपाउने दाबी गरे भने सांसद प्रकाश अधिकारीले विधेयकमा संवैधानिक विश्लेषण नभएको र भूमाफियालाई फाइदा पुग्नेगरी आएको आरोप लगाएका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकका कतिपय व्यवस्था व्यवहारिक नभएको बताएका छन् ।

भूमि विधेयकमा कांग्रेसको पाँचबुँदे संशोधन प्रस्ताव

काठमाडौं- भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेसले पाँचबुँदे संशोधन प्रस्ताव राखेको छ ।

विधेयकमाथिको दफावार छलफलका क्रममा कांग्रेसले विधेयकमा सुधारका लागि भन्दै संशोधन प्रस्ताव राखेको हो । जसमा संवैधानिक व्यवस्था, सर्वोच्च अदालतका व्याख्या/फैसलालाई हेर्नुपर्ने र सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोबासीलाई एकै ठाउँमा राख्न नहुने विषय समावेश छ ।

पहिलो : हदबन्दी छुट जुन प्रयोजनको लागि लिइएको हो त्यो भन्दा फरक प्रयोजनमा प्रयोग गर्न पाउने गरी कानुनी बाटो खोल्नु हुँदैन ।

दोस्रो : भूमि र वनको विषय प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारसँग समेत सम्बन्धित छ । यसकारण समन्वय आवश्यक छ ।

तेस्रो : सुकुमवासी, भूमिहीन र अव्यवस्थितलाई एकै ठाउँमा रोखेर हेर्नुहुँदैन ।

चौथो : भूमि विधेयक ऐनमा रुपान्तरित भए जंगल फडानी हुन्छ भन्नेहरूको आशंका चिर्नुपर्छ ।

पाँचौं : निर्देशिका वा कार्यविधि बनाउने अधिरकार सरकारलाई नदिऔं ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकले तीन वटा ऐन संशोधन गर्न खोजेको छ । जसमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ रहेका छन् ।