खसेकोभन्दा बढी मत फेला परेपछि बाजुरामा मतगणना स्थगित

मुचुल्कामा उल्लेख गरिएकोभन्दा बढी मत फेला परेपछि बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ।

प्रतिनिधिसभातर्फको मत गणनाका क्रममा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृतले बताउनुभएको छ ।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको बढी मत फेला परेको हो। एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर थापाले पत्रकार सम्मेलन गरी यस केन्द्रमा पुन: मतदान गर्नुपर्ने माग गरेका छन् ।सोहि विषयलाई लिएर अहिले राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल जारी छ।

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गरिने

निर्वाचन आयोगले चुनाव निष्पक्ष नभएको ठहर गर्दै बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचनको दिन मतदानस्थलमा भएको झडप, उम्मेदवार कुटपिट, मतदाता लखेटिएको र काँग्रेस र एमालेका कार्यकर्ताहरुले विभिन्न वडाका मतदान स्थलहरु नियन्त्रणमा लिएर एकछापे मत हालेको घटनालाई लिएर निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको हो।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।
आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन समेत सरकारलाई निर्देशन दिएको छ ।