सन् २०२२ सम्म नेपालमा एडीबीको लगानी ४ खर्ब २० अर्ब

वैशाख ९- काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ सम्ममा नेपालको ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा करिब ४ खर्ब २० अर्ब (३.२ बिलियन अमेरिकी डलर) रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ ।

नेपालमा सञ्चालित परियोजनाका क्षेत्रमा एसियाली विकास बैंकले ठुलो परिमाणमा लगानी गर्दै आइरहेको तर एसियाली विकास बैंकको परियोजना कार्यान्वयन सुधार र समस्यालाई सक्रिय रूपमा सम्बोधन गर्नुपर्ने र त्यस विषयमा विशेष ध्यान दिनुपर्ने एडीबीका महानिर्देशक केनिची योकोयामाले बताएका छन्  ।

नेपालमा सञ्चालित परियोजनाका क्षेत्र तथा कार्यसम्पादनसम्बन्धी बैठक (कन्ट्री पोर्टफोलियो) बारे जानकारी दिन आयोजित दुईदिने छलफलमा, एसियाली विकास बैंकको परियोजना कार्यान्वयन र वितरणसम्बन्धी चुनौतीको निरुपण गर्न र विकासप्रति जनताको चाहनालाई सम्बोधन गर्न पुँजीगत खर्चमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन्  ।कार्यक्रममा एडीबीको सहयोगमा सञ्चालित सहरी खानेपानी तथा सरसफाइ आयोजना, वाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतका आयोजनाहरुलाई पुरस्कृत समेत गरिएको थियो।

नेपालले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण लिँदै

सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर सहुलियत ऋण लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।कार्कीका अनुसार यातायात तथा व्यापार सम्बन्ध अभिवृद्धि कार्यक्रमका लागि यो ऋण स्वीकृत गरिएको हो ।

महिला संरक्षण कार्यक्रमको सुदृढीकरण र महिला सशक्तिकरणका परियोजनाको लागि पनि एसियाली विकास बैंकबाट एक करोड २० लाख अमेरिकी डलर अनुदान प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको कार्कीले जानकारी दिनुभएको छ ।