नेपालले चीनको जीएसआईमा समर्थन गरेको भनी गरिएको प्रचार भ्रमपूर्ण : खतिवडा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको भन्ने दाबी गलत भएको स्पष्ट पारेका छन्।

सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनका क्रममा भदौ १४ गते चीनको थियानजिनमा भएको भेटवार्ताबारे स्पष्ट गर्दै उनले नेपाल कुनै पनि मुलुकको सुरक्षा रणनीतिमा सहभागी नहुने बताए। खतिवडाका अनुसार नेपाल आफ्नो संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ।

उनले दुई देशबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) अन्तर्गत भएका सहमति कार्यान्वयनलाई प्राथमिकता दिने सहमति भएको र स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, पूर्वाधार, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको जानकारी दिए।

ओली र सी जिनपिङबीच बीआरआई अन्तर्गत नेपाल–चीन सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुवै देशबीच आपसी हितमा आधारित सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति सीले नेपाललाई निरन्तर सहयोग दिने र पहिले सहमति भएका उच्च गुणस्तरका बीआरआई परियोजनाहरू छिटो कार्यान्वयन गर्ने आश्वासन दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल–चीन व्यापार, लगानी, कृषि, विज्ञान–प्रविधि, पर्यटन र जलवायु परिवर्तनजस्ता क्षेत्रहरूमा सहयोग विस्तारका लागि आग्रह गरेका थिए। उनले अवरुद्ध सीमा खोल्न र नेपाललाई भू–सञ्जालमा जोड्ने सहयोगको आवश्यकता पनि बताएका थिए।

वार्तामा राष्ट्रपति सीले बीआरआईमार्फत नेपाल–चीन जनताको नजिकिकरण र औद्योगिक, पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा सुरक्षा क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन्। दुवै नेताले रणनीतिक विश्वास बढाउँदै लाभदायक सहकार्यलाई थप सुदृढ गर्नेमा जोड दिएका छन्।