अर्थ मन्त्रालय मातहतका निकायमा समस्या परे वा कसैले घुस मागे सीधै मन्त्रीलाई गुनासो गर्न सकिने

काठमाडौँ — अर्थ मन्त्रालय अन्तर्गतका संस्थान र निकायमा कर्मचारीले काममा ढिलासुस्ती गर्ने, अनुचित दबाब दिने वा घुस–रिसवत मागेमा अब सीधै अर्थमन्त्री रामेश्वर खनाललाई इमेल वा हटलाइनमार्फत गुनासो गर्न सकिने भएको छ।

मन्त्रालयले गुनासो व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको जनाएको छ। सूचनामा भनिएको छ, “अर्थ मन्त्रालय मातहतका नियामक निकाय, विभाग, कार्यालय तथा बैंक–वित्तीय संस्थाबाट उपलब्ध हुने सेवामा ढिलासुस्ती, अनुचित कार्य वा घुसको माग भएमा सीधै अर्थमन्त्रीको इमेल वा मन्त्रालयको गुनासो इमेलमा उजुरी दिन सकिन्छ।”

यसका साथै, टोलफ्री हटलाइन नम्बर १८१०५०००४१० मा पनि सीधै फोन गरेर गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

टुक्रे आयोजना कटौती गर्ने अर्थमन्त्री खनालको पहिलो निर्णय

अर्थमन्त्री रामेश्वर खनालले तलब, आवास, सवारीलगायत कुनै सेवा सुविधा नलिने घोषणा गरिसकेका छन्।

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेपछि मन्त्रालयमा कार्यभार सम्हाल्दै टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्।

युवाको माग सम्बोधन र निर्वाचन गर्नुपर्ने भएकाले तयारी नगरिएका र टुक्रे योजना कार्यान्वन नगरेर खर्च कटौती गरिने उनले बताएका छन् ।उनले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन् । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्नेछ ।

यो कामचलाउ सरकार मात्र भएकाले नयाँ सवारी साधन खरिद नगर्न र कवाडी भएको बिक्री गरी पुनःनिर्माण तत्कालै सुरु गर्न उनले निर्देशन दिएका छन्। उनले गाडी, र पीएसओ लगायतका सुविधा पनि नलिने बताएका छन।

नव नियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियाताको सपथ

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी तिन मन्त्रीहरुले आज राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

नव नियुक्त गृह र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालले पद तथा गोपनियताको सपथ लिएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आज साढे ११ बजे

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आज करिब साढे ११ बजेको समयमा हुने भएको छ।

नव नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा विधुत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङ, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री,पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री र ओमप्रकाश अर्याल गृह र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त भएका छन्।

पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्रालयको जिम्मेवारी

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञ सामेल गराउने प्रक्रिया सुरु गरेसंगै अर्थमन्त्रालयको जिम्मा पूर्व अर्थसचिव रामेश्वर खनाललाई दिइएको छ।

अर्थमन्त्री बन्न लागेका खनाल अर्थ प्रशासनका विज्ञ मानिन्छन् ।जीवनको अधिकांश समय अर्थ मन्त्रालयमा बिताएका खनालले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको रुपमा काम गरेका थिए । त्यसअघि २३ साउन २०६३ देखि उनले मन्त्रालयको राजस्व सचिवका रुपमा काम गरेका थिए ।

सचिवका रुपमा खनालले डा. रामशरण महत, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा भरतमोहन अधिकारीलगायत मन्त्रीहरूसँग काम गरेका थिए । भरतमोहन अधिकारी मन्त्री भएका बखत बजेट निर्माणको काम मन्त्रालयबाहिर भइरहेको थाहा पाएपछि खनालले सचिवबाट राजीनामा दिएका थिए ।

मन्त्रालयको सहसचिव रहँदा खनालले बजेट तथा कार्यक्रम महाशाखा तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुखलगायत जिम्मेवारी सम्हालेका थिए ।

अर्थ मन्त्रालयबाट निवृत्त भएपछि खनालले अध्ययन, अनुसन्धान, परामर्श, प्राध्यापनलगायतका भूमिका निर्वाह गरिरहेका छन् ।