कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा गरेका संवोधनको पूर्णपाठ

काठमाडौं – प्रधानमन्त्री ओलीलेले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताएका हुन् ।

संविधान संशोधन गर्दा दलहरूबीच संवाद र सहमति गर्ने कुरामा आफूहरू स्पष्ट रहेको,संविधान संशोधन गर्दा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गर्ने र संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा काँग्रेस स्पष्ट रहेको पनि उंले बताएका छन्।

देउवाले मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको र राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने भन्दै, १७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै एमाले पनि दृढ रहने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा गरेका संवोधनको पूर्णपाठ:

सम्माननीय सभामुख महोदय,

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ । आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो । हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ ।

वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।

वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने छ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने छ ।

भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो । संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने छ ।

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरुको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशिल बनाउँदै रोजगारीका थप अवसरहरुको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु ।

सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशिल र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु । तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने छ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने छ । साथै अन्य दलहरुलाई सम्माननीय प्र्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।

धन्यवाद !
जय नेपाल !

आज हरिशयनी एकादशी, तुलसी सार्ने दिन

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा‍. डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ ।

विष्णु मन्दिरमा घुइँचो

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिंडोलगायत फलाहार गर्ने गरिन्छ ।

चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन समेत गरिन्छ ।

ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले प्रधानमन्त्रीको सपथ लगत्तै पद तथा गोपनियताको शपथ लिएका छन् ।

ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषदमा मन्त्रीहरुको कार्यविभाजन यसप्रकार रहेको छ-

१‍. केपी शर्मा ओली, प्रधानमन्त्री

२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ

४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

५. रमेश लेखक, गृह

६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार

७. आरजु राणा देउवा, परराष्ट्र

८. नवलकिशोर साह सुडी, महिला बालबालिका

९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद

१३. प्रदीप यादव, खानेपानी

१४. प्रदीप पौडेल, स्वास्थ्य

१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

१६. बद्री प्रसाद पाण्डे, पर्यटन

१७. रामनाथ अधिकारी, कृषि

१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

१९. मानवीर राई, रक्षा

२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा

२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

युरो कप २०२४ को उपाधि स्पेनलाई

स्पेनको राष्ट्रिय फुटबल टोलीले बर्लिनमा भएको प्रतिष्ठित युरोपेली फुटबल प्रतियोगिताको फाइनल खेलमा टिम इङ्ल्यान्डलाई २-१ गोल ​​अन्तरले पराजित गर्दै २०२४ को युइएफए युरो कपको उपाधि जितेको छ ।

स्पेनका लागि निको विलियम्स (४७औं मिनेट) र मिकेल ओयार्जबालले ८६औं मिनेटमा गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा इंग्ल्याण्डका लागि कोल पाल्मरले गोल गरेका थिए ।

स्पेन अहिले युइएफए यूरो कपको सबैभन्दा धेरै उपाधि जित्ने राष्ट्रिय टोली बन्न पुगेको छ जसले सन् १९६४, २००८, २०१२ र २०२४ मा उपाधि जित्न सफल भएको हो । त्यसपछि जर्मनीले १९७२, १९८० र १९९६ मा युरो कप जितेको थियो। ।

युरो कपको फाइनलमा इंग्ल्याण्डको यो लगातार दोस्रो हार हो । अघिल्लो युरो कप २०२० मा इंग्ल्याण्ड पनि फाइनलमा पुगेको थियो, जहाँ इटालीसँग पेनाल्टी सुटआउटमा (१-१; २-३) पराजित भएको थियो। इंग्ल्यान्डको टोलीले अहिलेसम्म युइएफए युरो कप जित्न सकेको छैन ।

समूह बी मा रहेको स्पेनले क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० ले हराउँदै तीनवटै खेल जितेको थियो । प्लेअफ खेलमा टोलीले जर्जिया (४-१), जर्मनी (अतिरिक्त समयमा २-१) र फ्रान्सलाई (२-१) ले पराजित गर्दै विजयी यात्रा जारी राख्यो।

२०२४ को यूरो कप जुन १४ र जुलाई १४ को बीचमा जर्मनीमा खेलिएको थियो। खेलहरू जर्मन शहरहरू बर्लिन, डर्टमन्ड, म्युनिख, कोलोन, स्टटगार्ट, ह्याम्बर्ग, लाइपजिग, फ्रान्कफर्ट, गेल्सेनकिर्चेन र डसेलडोर्फमा आयोजित गरियो।