२७ नयाँ उच्च अदालतका न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं – विभिन्न उच्च अदालतमा नियुक्त २७ जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष उनीहरूले शपथ लिएका हुन्।

न्याय परिषद्को साउन २२ गतेको बैठकले २७ जनालाई नियुक्ति र पदस्थापनको सिफारिस गरेको थियो। सिफारिस हुनेमा न्याय परिषद्का सचिव यमबहादुर बुढा, सर्वोच्च अदालतका सह–रजिस्ट्रार तथा प्रवक्ता अच्युत कुइँकेललगायत छन्।

जिल्ला न्यायाधीशबाट १६ जना उच्च अदालतमा बढुवा भएका छन्, कानुन व्यवसायीबाट ६ जनाले अवसर पाएका छन्, भने न्याय, सरकारी वकिल र कानुन अधिकृत समूहबाट ५ जना नियुक्त भएका छन्।

नियुक्त न्यायाधीशहरूले एक महिनाको तालिमपछि मात्र आफ्नो कार्यक्षेत्रमा जिम्मेवारी सम्हाल्नेछन्। तालिमको व्यवस्था राष्ट्रिय न्यायिक प्रतिष्ठानले गरिरहेको छ।

उपत्यकाको फोहोर व्यवस्थापन अघि बढाउन पाटन उच्च अदालतको आदेश

पाटन उच्च अदालतले करिब १५ वर्षदेखि अलपत्र परेको काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अघि बढाउन अनुमति दिएको छ। अदालतले काठमाडौं महानगरपालिका र अन्य सरोकारवालालाई परियोजना कार्यान्वयन गर्न आदेश जारी गरेको हो।

काठमाडौं महानगरपालिकाले प्रस्तावित कम्पनी नेप वेष्टसँगको सम्झौता एकतर्फी रोकेको थियो । यसलाई लिएर नेप वेष्टले दायर गरेको रिटमाथि बुधबार फैसला गर्दै अदालतले महानगरको निर्णय बदर गरी परियोजना अघि बढाउन निर्देशन दिएको छ।

आदेशअनुसार, परियोजना वैदेशिक लगानीबाट संचालन हुने भएकाले नेपाल सरकार, लगानी बोर्ड र स्थानीय निकायबीच आवश्यक समन्वय गरी सहजीकरण गर्नुपर्ने छ । अदालतले मुख्य सचिव र सम्बन्धित निकायहरूलाई पनि निर्देशन दिएको छ र कार्यान्वयनको प्रगति ३ महिनामा रिपोर्ट गर्न भनेको छ।

२०६६ सालदेखि शुरू भएको यो परियोजना काठमाडौं उपत्यकाका ३ प्याकेजमा विभाजित गरी सञ्चालन गर्न लागिएको हो । सार्वजनिक–निजी साझेदारीमा फोहोर व्यवस्थापन गर्ने योजना १५ वर्षदेखि अलपत्र परेको अवस्थामा अदालतले यसलाई पुनः सक्रिय बनाउन अनुमति दिएको हो।

नेप वेष्ट कम्पनीले महानगरपालिकाको नयाँ बोलपत्र प्रक्रियामा प्रतिस्पर्धा नगरेको र सम्झौतामा असर नपर्ने भएकाले नयाँ बोलपत्र बदर गर्नुपर्ने अवस्था नभएको पनि अदालतले स्पष्ट पारेको छ।

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्चमा जाने

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारले सर्वोच्च अदालतमा जाने तयारी गरेको छ।

महान्यायाधिवक्ता कार्यालयले च्च सरकारी वकिलको कार्यालय, पाटनलाई आदेशको अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार, दुर्गा प्रसाईंसम्बन्धी दुई फरक मुद्दामा जारी गरिएको धरौटीमा रिहा गर्ने आदेशहरू न्यायको मान्यता र वर्तमान कानुनी व्यवस्थासँग मेल नखाने निष्कर्ष निकालिएको छ।

“दुवै आदेशले कानूनी सिद्धान्तको उल्लंघन गरेका छन्, जसले विधिको शासनमा प्रतिकूल असर पुर्‍याउँछ,” प्रवक्ता पुडासैनीले भने, “त्यसैले हामी आदेश बदरको मागसहित सर्वोच्च अदालतमा निवेदन दिन लागिरहेका छौं।”

यसै सन्दर्भमा आवश्यक फाइल र आदेशको गहिरो अध्ययन गरी राय तयार गर्न उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको जनाइएको छ।

उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जसविरुद्ध अब सरकार न्यायिक पुनरावलोकनको प्रक्रियामा जाने भएको हो।