विदेशमा वार्षिक १०००भन्दा बढी नेपालीको मृत्यु: दैनिक ४–५ शव नेपाल ल्याइन्छ

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा विदेश गएका नेपालीहरूमध्ये पछिल्लो एक महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांकअनुसार साउन महिनामा मात्र १७४ जनाको शव नेपाल ल्याइएको हो। सरदरमा हरेक दिन ४ देखि ५ जनासम्मको शव नेपाल आउने गरेको कार्यालयले जनाएको छ।

भन्सारका तथ्यांकअनुसार कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायतका देशमा मृत्यु भएका नेपालीको शव ल्याइएको हो।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका एक हजार २५५ जनाको मृत्यु भएको थियो। यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र मृत्यु भएपछि बोर्डबाट आर्थिक सहायता प्राप्त गरेका परिवारको विवरणमा आधारित छ।

यस्तै प्रहरी तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५१७ जना नेपालीको विदेशमा मृत्यु भएको थियो भने, सोही अवधिमा एक हजार ४०१ जनाको शव नेपाल ल्याइएको थियो।

वैदेशिक रोजगारीमा गत एक वर्षमा १५१७ नेपालीले ज्यान गुमाए

१,४०१ जना नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं – आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १,४०१ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ।

मृतकहरूमा सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेर समूहका २३३ जना थिए। त्यसपछि २१–२५ वर्ष उमेर समूहका १७२ जना, ३१–३५ वर्षका २२६ जना, ३६–४० वर्षका २२५ जना, ४१–४५ वर्षका २१५ जना, ४६–५० वर्षका ११७ जना र ५१–५५ वर्षका ७१ जना रहेका छन्।

२० वर्ष मुनिका २९ जना, ५६–६० वर्षका २४ जना, ६१–६५ र ६६–७० वर्ष उमेर समूहमा समान १२ जना र ७० वर्षभन्दा माथिका ६ जना नेपालीको पनि मृत्यु भएको उल्लेख गरिएको छ।

वैदेशिक रोजगार विभागका अनुसार १,४०१ शवमध्ये ४८१ जनाको शव विभागमार्फत प्रत्यक्ष रूपमा र १,०८६ जनाको अन्य माध्यमबाट नेपाल ल्याइएका हुन्।

त्यसैगरी विभागले मृत्यु भएका १,५१७ मृतक नेपाली आप्रवासी कामदारका परिवारलाई आर्थिक सहायता स्वरूप कुल १ अर्ब २ करोड रुपैयाँ प्रदान गरेको छ। सरकारले हाल प्रत्येक मृतक नेपाली आप्रवासी कामदारको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।