काठमाडौं – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने सुविधा दिलाउन सरकारले गृहकार्य थालेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयमा कदम अघि बढाएका हुन्।
भण्डारीले भने, “विदेशमा रहेका नागरिकको मतदान अधिकारबारे छलफल भयो। अहिलेको ऐनले केही अवरोध गरेको छ, तर त्यसलाई कसरी हल गर्ने भन्नेबारे विचार भइरहेको छ।”
मन्त्री अर्यालले भने, “कम्तीमा समानुपातिकतर्फ भए पनि मतदान अधिकार सुनिश्चित गर्नुपर्छ। सर्वोच्च अदालतले पनि यसबारे आदेश गरिसकेको छ। आयोगले अवरोध पहिचान गर्नेछ र सरकारले आवश्यक ऐन बनाएर अघि बढाउनेछ।”
उनले सम्बन्धित देशका नेपाली दूतावासमार्फत मतदानको व्यवस्था मिलाउने गरी सरकार अघि बढिरहेको बताएका छन् ।
EN


