गाजा नरसंहार: शरणार्थी शिविरमा भएको मिसाइल आक्रमणमा १७ जनाको मृत्यु

गाजाका अधिकारीहरूका अनुसार प्यालेस्टिन लक्षित इजरायली मिसाइलहरूले नुसेरात शरणार्थी शिविरमा विस्थापित मानिसहरूका लागि एउटा विद्यालयमा आश्रय लिइरहेका १७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।

यसअघि पनि इजरायलले अल-मावासी शिविरमा आश्रय लिइरहेका ९० जनाको ज्यान जानेगरि आक्रमण गरेको थियो।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले गाजामा “अन्तहीन नरसंहार” को निन्दा गर्दै तथाकथित “सुरक्षित क्षेत्रहरू” मा इजरायलको “लगातार आक्रमण” को निन्दा गरेका छन्।

इजरायली पक्षले युद्धविरामको लागी हमासले वार्ता अस्विकार गरेको आरोप लगाइरहेको बेला, हमासको राजनीतिक कार्यालयका सदस्य इज्जत अल-रिशेकले भने युद्धविराम वार्ता अस्विकार गरेको कुरा इजरायलको गलत प्रचार भएको बताएको छ।

अक्टोबर ७ देखि गाजामा इजरायलको युद्धमा कम्तिमा ३८,४४३ व्यक्तिको मृत्यु भएको छ भने ८८,४८१ घाइते भएका छन्। अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा मर्नेको संख्या १,१३९ रहेको अनुमान गरिएको छ, र दर्जनौं व्यक्ति अझै पनि गाजामा बन्दी छन्।

युद्दग्रस्त सुडानबाट कूटनीतिज्ञ र विदेशी नागरिकहरूलाई सुरक्षित निकालियो

सुडानको राजधानी खार्तुममा भिषण लडाई जारी रहँदा कैयौं देशले कूटनीतिज्ञ र आफ्ना नागरिकलाई बाहिर निकालेका छन्।

संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना कूटनीतिज्ञहरूलाई देशबाट बाहिर निकालेका छन्।फ्रान्स, जर्मनी, इटाली र स्पेनले पनि आइतवारदेखि आफ्ना नागरिक र कूटनीतिज्ञहरूलाई देशबाट बाहिर निकालेका छन्।

अमेरिकी अधिकारीहरूले आइतबार बिहान तीन चिनूक हेलिकप्टरबाट करिब १०० व्यक्तिहरूलाई एयरलिफ्ट गरेको र खार्तुममा रहेको अमेरिकी दूतावास बन्द रहेको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि आइतवार फ्रान्सेली नागरिक र अन्य केही डच नागरिकहरूलाई लिएर विमान उडेको बताएका छन्। त्यसैगरी क्यानडा,जर्मनी,इटाली र स्पेनले पनि आफ्ना नागरिकहरूलाई सुडानबाट निकालेका छन् ।

यसअघि नै साउदी अरेबिया इजिप्ट, पाकिस्तान र अन्य खाडी देशका नागरिकहरु भने समुद्री र हवाई मार्गबाट बाहिरिएका थिए।

सुडानमा नियमित सेना र शक्तिशाली अर्धसैनिक बल बीचको शक्ति संघर्षले अहिले देशभर हिंसा निम्त्याएको छ। सत्ता संघर्षको कारण राजधानी खार्तुममा भारी बमबारी भएको छ भने , सयौंको मृत्यु र हजारौं घाइते भएका छन्।