भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीमाथि अन्तिम सुनुवाइ सुरु

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली कागजातमार्फत भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भनिएका पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आजदेखि जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ।

यो प्रकरणमा किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधलगायत पाँच अभियोगमा मुद्दा दायर भएको थियो । करिब साढे दुई वर्षपछि अदालतले निरन्तर सुनुवाइ गरेर अन्तिम टुंगोमा पुर्‍याउने तयारी गरेको हो ।जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अब निरन्तर सुनुवाइ गरेर मुद्दालाई अन्तिम किनारा लगाइनेछ।

२०७८ जेठ १० मा दायर मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। पछि थप आरोपपत्रमार्फत केशव दुलाल, बेचन झा लगायत अन्य व्यक्तिलाई समेत प्रतिवादी बनाइएको थियो।

अदालतले यसअघि केही अभियुक्तलाई धरौटीमा रिहा गरेको छ भने धेरैजना अझै थुनामै छन्। केही फरार अभियुक्तलाई पक्राउ गरिएको भए पनि अझै केही पक्राउ हुन बाँकी छन्।

नक्सा पास बिनाको काठमाडौँ जिल्ला अदालत भवनको पार्किङ स्थलमा क्यान्टिन

असार २५ , काठमाडौं – बबरमहलस्थित काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आक्रोशीत भएका छन् ।

कानून व्यवसायीहरुले अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न दिनुपर्ने मागसहित ज्ञापनपत्र समेत बुझाएका छन् ।

अधिवक्ता यज्ञमणि न्यौपानेले, अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेको र पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताएका छन्। उनले, नक्सा पास बिनाको भवन बनाएर गैर कानूनी काम गरेको पनि उल्लेख गरेका छन् ।

अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको र पार्किङस्थललाई क्यान्टीनका लागि भाडा लगाएर असुली गरिरहेको कानुन व्यवसायीहरुले बताएका छन् ।

आक्रोशीत कानून व्यवसायीहरुले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।