सरकारले हिजो गरेको दमन र नरसंहार नेपालको इतिहासकै सबैभन्दा अमानवीय अध्याय बनेको छ। शान्तिपूर्ण रूपमा भ्रष्टाचारविरोधी नारासहित सडकमा उत्रिएका जेन–जी पुस्तालाई नेपाल प्रहरी र सरकारले लाठी र अश्रु ग्याँस मात्र बर्षाएन, निधार र छातीमा ताकि-ताकि गोलि प्रहार गर्यो। जसको कारण यो देशका २० जना कलिला नागरिकले ज्यान गुमाउनु पर्यो भने ४०० भन्दा बढी घाइते भए र सयौँ जना अझै प्रहरी हिरासतमा थुनिएका छन् ।
यी युवा पुस्ताले दशकौँदेखि भ्रष्टाचारले थकित मुलुकलाई अब यो दलदलबाट निकाल र एउटा जिम्मेवार अभिभावकीय भूमिका निर्वाह गर भनेर आवाज मात्र उठाएका हुन् । उनीहरूले हातमा हतियार होइन, प्लेकार्ड बोकेका थिए। तर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेन जी पुस्तामाथि ताकेर गोलि प्रहार गर्नु केवल दुर्घटना होइन, राज्यद्वारा गराइएको योजनाबद्ध नरसंहार हो। के शान्तिपूर्ण आन्दोलनलाई हिंस्रक शक्तिले दबाउने नीति नै अबको शासन शैली हो? यो हत्या कुनै दुर्घटना थिएन। यो राज्यद्वारा निर्देशित हिंसा थियो। बन्दुक देखाएर नागरिकलाई त्रासमा पार्ने प्रयास थियो।
सरकारले गरेको कृत्य केवल अस्वीकार्य मात्र होइन, आपराधिक छ। आफ्नो आवाज उठाउने अधिकार प्रयोग गर्ने नागरिकलाई गोलाबारी गर्ने कामले यो सरकारलाई लोकतान्त्रिक नभई निरंकुश साबित गरिदिएको छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म, प्रहरी नेतृत्वदेखि प्रशासनसम्म, सबै यो रगतको दागबाट उम्कन सक्दैनन्।
अस्पतालभित्रै घाइतेलाई पिट्ने, अस्पतालको आकस्मिक कक्षमै अश्रु ग्याँस फ्याँक्ने कामले यो सरकार र प्रहरीको असली अनुहार प्रष्ट देखाएको छ। यो कामले मानव अधिकारको आधारभूत मूल्यलाई मात्रै होइन, मानवताको अस्तित्वमै आघात पुर्याएको छ।
सरकारले देश र जनताको लागि भनेर शाशन गर्ने वैधता गुमाइसकेको छ। प्रहरी प्रशासन नागरिकको सुरक्षाको होइन, दमनको उपकरणमा परिणत भइसकेको दृश्य हो यो । आफ्ना नागरिकलाई शत्रु ठानेर अन्धाधुन्ध गोली हान्ने सरकारले आज लोकतन्त्रलाई शवगृहमा पुर्याइदिएको छ।
सरकारले रातको अन्धकारमा विज्ञप्ति निकाल्दै घाइतेलाई निःशुल्क उपचार गर्ने र मृतकका परिवारलाई राहत दिने घोषणा गर्यो। तर के सरकारले दिने त्यो राहतले आफ्ना छोराछोरी गुमाएका आमाबाबुलाई सान्त्वना दिन सक्छ? के पैसाले ती अवोध नागरिकको जीवन फर्काउन सक्छ? के राहतले रित्तिएको काख र चिथोरिएको छातीलाई भरपाई दिन सक्छ ?
गृहमन्त्रीले राजीनामा दिए। तर के एउटा राजीनामाले यो नरसंहारलाई क्षमा गर्न सक्छ? के एक जनाले पद त्यागेपछि नागरिकमाथि प्रहार गरेको गोलीको अपराध र सडकमा बगेको नागरिकको रगतको चित्कार पखालिन्छ? यो नरसंहारमा राजीनामा मात्र पर्याप्त छैन। जसले आदेश दिए, जसले ट्रिगर थिचे, जसले आफ्नै जनतामाथि बन्दुक तेर्स्याए,ती सबैलाई कानूनी कठघरामा उभ्याउनु पर्छ। हरेक अपराधीलाई कानून अनुसार कठोर सजाय दिनैपर्छ।
यी युवाहरूको अपराध के थियो? उनीहरूले भ्रष्टाचारविरुद्ध बोले, स्वतन्त्र अभिव्यक्तिको पक्षमा उभिए, र सुरक्षित भविष्यको माग राखे ? यसको जवाफ सरकारले लाठी, अश्रु ग्याँस र गोलीले दियो। यो लोकतन्त्र होइन, यो अधिनायकवादको पराकाष्ठा हो।
के यो सरकारले अझै जनताको सरकार भनेर दावी गर्न पाउँछ? यदि,अपराधीलाई कानूनी कारबाही गरेर कडा सजाय दिइएन भने इतिहासले आजको सत्ता र नेतृत्वलाई निरंकुश र हत्याराको नामले मात्रै सम्झिनेछ। नागरिकमाथि गोली हानेर आफूलाई बचाउन खोज्ने यो सत्ता र यो नरसंहारलाई कहिल्यै क्षमा गर्न सकिँदैन।