चोभारमा निर्मित सुख्खा बन्दरगाह सञ्चालनमा

काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्मित बन्दरगाहको उद्घाटन गर्नुभएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताउनुभएको छ। आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

चोभार बन्दरगाह सीमावर्ति क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।

चोभारको सुख्खा बन्दरगाह नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको हो ।

चोभार सुख्खा बन्दरगाहमा ढुवानी हुने सामान आयात गर्न बैंकहरुलाई एलसी खाता खोल्न अनुमति

नेपाल राष्ट्र बैंकले काठमाडौंको नवनिर्मित चोभार सुख्खा बन्दरगाहमा ढुवानी हुने आयातित सामानको लेटर अफ क्रेडिट (एलसी) खाता खोल्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशन जारी गर्दै छिट्टै सञ्चालनमा आउन लागेको सुक्खा बन्दरगाहमा पैठारीका सामान ढुवानी गर्न चाहने आयातकर्तालाई सम्बन्धित कागजात लिन अनुमति दिएको छ । साथै केन्द्रीय बैंकले मेची, विराटनगर, वीरगन्ज, सिर्सिया सुख्खा बन्दरगाह र भैरहवा भन्सार नाकाका नेपाल–भारत सीमाका लागि एलसी खाता खोलिसके पनि व्यापारीलाई नयाँ सुख्खा बन्दरगाहमा आयात गन्तव्यमा जान अनुमति दिएको छ । नवनिर्मित पूर्वाधारले व्यापारीहरूलाई भन्सारसम्बन्धी झन्झट कम गर्ने अपेक्षा गरिएको छ।

रु २ अर्ब १८ करोडको लागतमा निर्माण भएको उक्त पूर्वाधारमा एकै पटक करिब ५ सय कन्टेनर अट्न सक्नेछन् । नेपाल इन्टरमोडल यातायात विकास बोर्डले हालका लागि चोभारमा नवनिर्मित सुख्खा बन्दरगाह सञ्चालन गर्ने भएको छ ।