अस्पतालभित्रै पसेर घाइतेलाई प्रहरीको कुटपिट: अस्पतालमै अश्रुग्याँस प्रहार

प्रहरीद्वारा जेन–जी आन्दोलनका क्रममा घाइतेलाई अस्पतालमा प्रवेश गरी कुटपिट

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई मिनभवनस्थित सिभिल अस्पतालमै प्रहरीको जत्थाले प्रवेश गरी कुटपिट गरेका छन्।

अस्पतालमा हाल एक सयभन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ भने ३ जनाको मृत्यु भइसकेको छ। आफन्तहरूको भीड अस्पतालमा जम्मा भइरहेका बेला प्रहरीले भित्रै प्रवेश गरी पिट्न सुरु गरेको बताइएको छ। प्रहरीले अस्पतालमा अश्रु ग्यास प्रहार गर्दा उपचारमा कठिनाइ समेत भएको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन्।

यो सरकारको औचित्य सकियो ,कांग्रेसले अब सरकार छाड्नैपर्छ : शेखर कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारले औचित्व गुमाएको भन्दै कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने बताएका छन्। अब केवल गृहमन्त्रीको राजीनामाले केही अर्थ राख्दैन। कांग्रेस सरकारमै बस्ने स्थिति छैन। तुरुन्तै अलग हुनुपर्छ।”

उनले थपे, “जेन–जीहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमाथि अन्धाधुन्ध गोली चलाइयो। यसले राजाको शासनमा पनि नभएको निरंकुशता देखाएको छ। यो अधिनायकवादको चरम रूप हो। सरकारको दायित्व अहिले नै माग सम्बोधन गर्नु हो।”

भ्रष्टाचार अहिले आम नागरिकको मुख्य मुद्दा भएको उल्लेख गर्दै उनले चेतावनी दिए, “यदि यसलाई अन्त्य गर्ने स्पष्ट बाटो नअपनाइने हो भने मुलुक फेरि द्वन्द्वतिर धकेलिन सक्ने अवस्था बन्छ।”